+
+

बास्केटबल संघका अध्यक्षले दुखाएको कप्तान सदिनाको मन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते २०:४४

२७ भदौ, काठमाडौं । राष्ट्रिय बास्केट बल टिमकी कप्तान सदिना श्रेष्ठको मोबाइलमा भदौ १३ गते लगातार फोन आइरहेका थिए ।

तारन्तार फोन गर्नेहरुले उनलाई एउटा भिडियो क्लिप हेर्न सुझाव दिइरहेका थिए ।

टेलिभिजन कार्यक्रमको एउटा भिडियो क्लिप हेरेपछि सदिना आश्चर्यचकित भइन् । भिडियोमा नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले सदिनाकै बारेमा टिप्पणी गरेका थिए ।

गुरुङले सदिनाले खेल जीवनबारे मात्र नभएर उनको जीवनशैलीका बारेमा बोलेका थिए, यहाँसम्मकी उनले लगाउने लुगाका बारेमा पनि गुरुङले टिप्पणी गरेका थिए ।

‘सदिना श्रेष्ठ आज किन सदिना श्रेष्ठ छ ?’ गुरुङले भनेका छन्, ‘बास्केटबलका कारण होइन ? उसले जिरोदेखि जेड (माथिदेखि तल) सम्म ब्राण्डेड लुगा लगाउँछ, बास्केटबलका कारण होइन ?’

सन् २०२१ मा बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाको निधनपछि कार्यवाहक अध्यक्ष बनेका गुरुङ त्यत्तिमै रोकिँदैनन्, उनी अघि भन्छन्, ‘सदिना श्रेष्ठ जेभियर स्कूलमा खेलकुद शिक्षिकाको जागिर खाइरहेकी छिन्, यो सबै नेपाल बास्केटबल संघका कारण होइन ।’

सदिनाले बास्केटबल संघको आलोचना गर्ने गरेकोमा असन्तुष्टि जनाउँदै गुरुङले भने, ‘उसले पाएको चिज भन्दै नभन्ने अनि जे पनि संघलाई मात्र दोष दिएर हुन्छ ?’

बास्केटबल संघले राम्रो काम गरिरहेको र खेलाडीलाई सहयोग गरिरहेको दाबी उनले त्यो टेलिभिजन कार्यक्रममा गरेका थिए ।

यो सबै सुनेपछि सदिना स्तब्ध भइन् । किनकि सन् २०११ देखि खेलिरहेकी उनलाई बास्केटबलको यथार्थता थाहा छ ।

गुरुङको भनाइमा केही प्रतिक्रिया दिनु पर्छ भन्ने लागे पनि के प्रतिक्रिया दिने उनलाई थाहा थिएन । उनी क्रोधित र निराश भइन् अनि सामाजिक सञ्जाल फेसबुकमा ७०८ शब्दको लामो पोस्ट लेखिन् ।

उनले आफूले खेलाडी र बास्केटबलको विकासका लागि बोल्ने गरेको भन्दै प्रश्न गरिन्, ‘मैंले के गल्ती गरेँ ?

गुरुङको भनाइको भिडियो हेरिरहँदा आफूलाई धेरै कुरा भन्न मन लागेको भन्दै उनले लेखिन्, ‘सदिनाले के गलत बोली, त्यो मलाई भन्नुहोला, सदिनासँग केको रिस हो ? सदिनाले पाएको जागिरसँग केको रिस हो ?’

गुरुङको टिप्पणीप्रति आफ्नो आक्रोश फेसबुकमा पोखे पनि सदिनलाई गहिरो चोट लागेको छ । बास्केटबलमा र यसको विकासमा आफ्नो जीवन समर्पित गरेकी उनी गुरुङको टिप्पणीबाट अहिले पनि स्तब्ध रहेको बताउँछिन् ।

‘यो अप्रत्याशित र असोचनीय थियो,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्, ‘मैले सेन्ट जेभियरमा काम पाएको मेरो कडा परिश्रम र खेलप्रतिको लगावले हो, संघले मजस्ता खेलाडीका लागि केही पनि मद्दत गरेको छैन ।’

सदिनाले पर्याप्त  रुपमा प्रतियोगिता आयोजना नगरेको, खेलाडीलाई आवश्यक सुविधा नदिएको र नस्क्रियजस्तै रहेको बताउँदै बास्केटबल संघको आलोचना गर्दै आएकी छिन् । त्यही कारणले गुरुङले आफूप्रति टिप्पणी गरेको होला भन्ने उनलाई लागेको छ ।

‘हामीले संघलाई पटक पटक भन्दै आएका थियौं प्रतियोगिता आयोजना भएका छैनन्, खेलाडीको चिन्ता र चासोलाई सम्बोधन गरिएको छैन, संघको कार्यशैलीलाई परिवर्तन गर्नु आवश्यक छ,’ उनले भनिन्, ‘कप्तानको हैसियतमा नेतृत्वलाई यति प्रश्न गर्नु मेरो कर्तव्य हो ।’

राष्ट्रिय महिला बास्केटबल टिमले सन् २०१९ को दक्षिण एसियाली खेलकुदपछि एउटा मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छ । घरेलु प्रतियोगिता पनि नभइरहेकाले उनी र उनीजस्ता खेलाडीलाई चिन्तित बनाएको छ ।

‘नियमित रुपमा प्रतियोगता गर भन्नु अति हो र ?’ उनी प्रश्न गर्छिन् ।

भीमसिंह गुरुङ ।

कार्यवाहक अध्यक्ष गुरुङको टिप्पणी अपमानजनक भएको र त्यो भनाइले आफूले नेपालको बास्केटबलमा गरेको योगदानको अवमुल्यन गरेको सदिनालाई लागेको छ ।

‘यतिका वर्ष बास्केटबल खेलेपछि राष्ट्रिय टोलीमा मेरो योगदान देख्दैनन्,’ १२ वर्षदेखि बास्केटबल खेलिरहेकी उनी भन्छिन्, ‘मैंले लगाएको ब्राण्डेड कपडा देख्छन् ।’

कोर्टमा सँगै पसिना बगाएका धेरै साथी विदेश पलायन भए पनि सदिना नेपालमै रहिन् । चाहेको भए विदेश जान सक्थे भन्ने उनी बास्केटबलप्रतिको मायाले नेपालमै बस्न प्रेरित गरेको बताउँछिन् । बास्केटबलप्रतिको लगावकै कारण अन्तर्राष्ट्रिय कोचिङ लाइसेन्स लिन सफल देशकै एकमात्र बास्केटबल खेलाडी उनी भन्छिन्, ‘अ?कै जस्तै मलाई पनि बास्केटबल र यसको भविष्यको चिन्ता छ ।’

मौनताले अचम्मित

घटनाबारे बास्केटबल खेलाडी र प्रशिक्षकको मौनताले सदिना अचम्ममा परेकी छन् । उनीहरुले खुलेर समर्थन गर्छन भन्ने उनलाई लागेको थियो, तर स्थिति फरक रह्यो ।

राष्ट्रिय पुरुष टिमका कप्तान सदिश प्रधानले सामाजिक सञ्जालमार्फ यसबारेमा टिप्पणी गरे पनि उनी कूटनीतिक भूमिकामा देखिए । अरु खेलाडी र प्रशिक्षकले यसबारेमा केही बोलेका छैनन् ।

संघका कार्यवाहक अध्यक्ष गुरुङले कप्तान सदिनाको फेसबुक हेर्न नपाएको नपाएको भन्दै थप बोल्न अस्वीकार गरे ।

‘संघले बास्केटबलको विकासमा ठूलो सपना लिएर अघि बढेको छ । त्यसमा कसले के भन्यो भन्ने कुरामा जान चाहन्न,’ गुरुङले अनलाइनखबरसँग भने ।

नेपाल बास्केटबल संघले असोज १२ देखि २७ गतेसम्म पुरुष बास्केटबल लिग आयोजना गर्दैछ । आफू अहिले त्यसकैतयारीमा रहेको गुरुङले बताए ।

सदिनाले यस्तो प्रतियोगिता हुनु सकरात्मक रहेको भन्दै सफलताको कामना गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?