+
+
समयान्तर :

एकबाजि रैथाने तरिकाले सोचौं त !

दुर्भाग्य यस्तो भइदियो कि हामीले त्यो स्थानीयताको डाइनामिक्स नै बुझेनौं । ती सबै रैथाने ज्ञान, सीप र दक्षतालाई मुलुकले चिन्न सकेन । हाम्रो शिक्षा प्रणालीले पनि भुईं तहका अनुभवलाई अनुभव नै मानेन । भुईं तहबाट आउने विचारलाई विचार नै ठानेन ।

मनिकर कार्की मनिकर कार्की
२०८० भदौ २७ गते ९:१७

आजकल विश्वविद्यालयका कक्षाकोठादेखि शहर-बजारका चोक-चौराहसम्म सुनिने प्रश्न हुन्, आखिर यो देशमा के छ ? कुन आशाले नयाँ पुस्तालाई देशमा अड्याउने ? कुन भरोसाले बाबुआमाले छोराछोरीलाई विदेश नपठाउने ? सञ्चारमाध्यमहरूमा पनि बग्रेल्ती छापिने समाचार हुन्- ‘क्याम्पसहरूमा भन्दा कन्सल्टेन्सीहरूमा विद्यार्थीको भीड’ । १२ कक्षा पास गरी अध्ययनका लागि विदेश जाने तयारी गर्दै, अंग्रेजी भाषा अध्ययन गरिरहेका एक युवाको निराशाजनक प्रश्न थियो- ‘म केका लागि नेपालमै बसूँ ?’

यसैबीच रोजगारीका लागि दैनिक दुई हजारको हाराहारीमा विदेशिने युवाहरूको तथ्यांकको अत्यासलाग्दो दृश्य त छँदैछ । अनेक हण्डर र ठक्कर खाँदै व्यवसाय गर्ने क्रममा घरखेत हुँदै लाखौं डुबाएका ‘आशावादी’ युवाहरू पनि सुस्केरा हाल्दै सुनाउँछन्, ‘आखिर ऋण-धन गरेर व्यवसायमा खै कति दिन टिकिएला र ? अब त खाडी नै भए पनि हान्निनुपर्ने अवस्था आइसक्यो ।’

शहर-बजारमा बन्द सटरहरूको संख्या थपिंदै गएका छन् । मान्छेले खचाखच हुने चोकबजार र मलहरू खाली खाली लाग्छन् । विश्वविद्यालय र क्याम्पसहरू रित्तिंदै गएका छन् भने नयाँ पुस्ताको लाइन कन्सल्टेन्सी र म्यानपावरहरूमा बढ्दैछ ।

सार्वजनिक विमर्शमा भने विगतदेखिको उही पुरानै समस्याको कथनी दोहोरिइरहेको छ । यहाँ रोजगारी छैन । युवाहरू बेरोजगार छन् । कामधन्दा छैन । इलमउद्यम फस्टाउन सकेको छैन । व्यापार-व्यवसाय गर्ने वातावरण छैन । अर्थतन्त्र चलायमान छैन । व्यवसायीहरू उत्साही छैनन् । युवा पलायन बढ्दो छ ।

मुलुकमा लगानी गर्ने वातावरण नै छैन । यसो हेर्दा र सुन्दा मुलुकको तस्बिर निकै निराशाजनक देखिन्छ । त्यही निराशाको तस्बिर बेचेर युवाहरूलाई विदेश भासिन नै उत्प्रेरित गर्न आतुर कन्सल्टेन्सीहरूको बिजनेस भने चकाचक देखिन्छ ।

आवरणमा हेर्दा यी सबै दृश्यहरू तथ्यपूर्ण छन् । तथापि समाजको अर्को विरोधाभासयुक्त तस्बिरले भने सीप र काम गर्ने हुटहुटी भएका युवा पनि भेटिन छाडेको संकेत गर्दछ । शहर-बजारमा उपलब्ध हुने सानोतिनो रोजगारीमा युवाहरू आकषिर्त हुनसकेका छैनन् । इलम-उद्यममा लागेका निजी क्षेत्रमा संचालित उत्पादन र सेवामुखी उद्योगहरूमा दक्ष कामदार पाउन पनि उत्तिकै कठिनाइ छ ।

कामदार पाइहाले पनि दीर्घकालसम्म काम गर्ने इच्छा र चाहना भएका श्रमिक पाउन कठिन भइसकेको छ । उनीहरू केही महिना र एकाध वर्षभन्दा बढी समय काममा टिक्न सक्ने अवस्था देखिंदैन । आखिर किन यस्तो भइरहेको छ ?

भएको श्रमशक्ति टिक्न नसक्ने र नयाँ श्रमशक्ति कामप्रति आकषिर्त नहुने अवस्था किन र कसरी निर्माण भयो ? नेपालको आर्थिक परिवर्तनको सवालमा यो निकै महत्वपूर्ण सवाल हो । संभवतः श्रमिक समस्या यहाँको आर्थिक रूपान्तरणको निकै ठूलो संरचनागत समस्या हो । जसको मुख्य कारण सुरक्षाभावमा कमी आउनु नै हो । अर्थात् श्रमिकहरूले स्वदेशमै सुरक्षित महसुस गर्न सकेका छैनन् । भएका उद्योग, कलकारखाना र व्यापार-व्यवसायको टिकाउपनमाथि नै प्रश्न उब्जियो । जसका कारण व्यावसायिक प्रतिष्ठानहरूमा आबद्ध श्रमिक कर्मचारीहरूले पनि आफूहरूलाई सुरक्षित महसुस गर्न सकेनन् ।

उनीहरूको वित्तीय सुरक्षा र सामाजिक सुुरक्षा सुनिश्चित हुन नसक्दा कामका लागि विश्वासयोग्य वातावरण बन्न सकेको छैन । जसका कारण युवाशक्तिको एक मात्रै गन्तव्य विदेश बन्न पुग्यो । यसलाई बढावा दिने हाम्रो विदेशमुखी शिक्षा प्रणाली र नीति पनि एउटा कारण हो । हामीले उत्पादन गरेको जनशक्ति उद्यमशील बन्न सकेन । हाम्रो शिक्षाले श्रमप्रति सम्मान गर्न सिकाएन । एकथरी शिक्षाले देशमा कुनै विकल्प नभएकोले विदेशिनुको विकल्प नभएको पाठ पढाइरहेको छ भने अर्कोथरी शिक्षाले सरकारी नोकरी बाहेक सबै भ्रम हो भन्ने सन्देश दिइरहेको छ ।

संसारका विकसित मुलुकहरू इलम, उद्यम र नवप्रवर्तनले समृद्ध भएका हुन् । उनीहरूको शिक्षा नीति र प्रणालीले पनि त्यही कुरा सिकाउँछ । व्यक्तिको जीवनमा उन्नति पनि त्यही सिर्जनशील सोच र नवप्रवर्तनयुक्त इलम-उद्यमले हुन्छ न कि कुनै निश्चित कमाइवाला सरकारी नोकरीले । तर, हामीले नोकरी भन्दा उद्यमशीलता प्रधान कुरा हो भन्ने शिक्षा दिनसकेका छैनौं । समाजले पनि सरकारी नोकरीलाई नै प्रतिष्ठा र कमाइको माध्यम ठानिदियो । हुँदाहुँदा समाजमा त उच्च शिक्षा आर्जन गर्नु भनेकै नोकरीका लागि भन्ने मान्यता स्थापित भइसकेको छ ।

स्थानीय ज्ञान, सीप र क्षमता बेगर मुलुकको प्रगति हुन सक्दैन । त्यही रैथाने ज्ञान र सीपको प्रयोग मार्फत गाउँघरको आर्थिक-सामाजिक सम्बन्ध टिकिरहेको हुन्छ । त्यही सीपले संकटबाट बचाउँछ । त्यही सीप जीवन जिउने माध्यम बन्छ । त्यही रैथाने ज्ञान नै खाद्यसुरक्षा, पर्यावरणीय सन्तुलन, विश्वव्यापी तापमान वृद्धि तथा अन्य प्राकृतिक विपत्ति र संकटहरूको सामना गर्ने औजार बन्ने गरेको छ

समाजमा मान, प्रतिष्ठा र विना झञ्झटको तलबी कमाइलाई नै ठूलो ठान्ने प्रवृत्ति हावी भयो । जसका कारण सीमित सरकारी नोकरीमा आवेदन खुल्दा हजारौंको आवेदन पर्ने तर, आफ्नो सीप, क्षमता र दक्षता प्रयोग गरेर स-सानो इलम-उद्यममा मन लगाउने जाँगर गर्ने जनशक्ति नै तयार भएन । परिणामस्वरूप बेरोजगारीको ग्राफ बढ्दै जाँदा समेत शहरबजारमा देखिने स-साना कामका अवसरप्रति कसैको ध्यान पुग्न सकेन ।

त्यही स-सानो अवसरका लागि छिमेकी देश भारतबाट श्रमिक आएर श्रम गर्नुपर्ने अवस्था यथावत् छ । नेपालको उद्योग, कलकारखाना र निर्माणसम्बद्ध क्षेत्रहरूमा भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यता दिन प्रतिदिन बढ्दै गएको देख्न सकिन्छ ।

यहाँ हरेक क्षेत्रमा समस्या मात्रै छ । सरकारी अड्डाहरूमा सेवा प्रवाहभन्दा मोलमोलाइ बढी हुन्छ । कर्मचारी संयन्त्र आफ्नै सेवासुविधा र सरुवाबढुवामै निमग्न छ । मन्त्रालयहरू केवल कागजी योजनाका चाङले पुरिएका छन् । त्यहाँ जनताका आवश्यकता भन्दा दलालहरूका स्वार्थका विषयमा नै बढी छलफल हुन्छ । उद्योग-व्यवसाय धरासायी भएका छन् । बन्द व्यापार घट्दो क्रममा छ ।

एक हिसाबले भन्ने हो भने नेपालमा गरिने लगानीको प्रतिफल घट्दोक्रममा छ । स्तम्भकारकै एक अध्ययन अनुसार विगत तीन दशकको अर्थतन्त्रको समष्टिगत उत्पादन अर्थात् कुल गार्हस्थ्य उत्पादनका आपूर्ति पक्षीय चर (सप्लाई साइड भेरिएवल) हरूको विश्लेषण गर्दा नेपालमा लगानीले समष्टिगत उत्पादनमा गर्ने योगदान ऋणात्मक देखिन आएको छ ।

अध्ययन अनुसार नेपालमा गरिने थप एक रुपैयाँ लगानीले औसतमा कुल गार्हस्थ्य उत्पादनको वृद्धि करिब ४१ पैसाले ऋणात्मक हुने देखिन्छ । यस्तो वृद्धिको अन्तर ९८ पैसा (ऋणात्मक) देखि १४ पैसा (धनात्मक) सम्म हुने देखिन्छ ।

यसबाट के देखिन्छ भने नेपालमा लगानीका सम्भावना जति धेरै देखिन्छन्, लगानीको प्रतिफल भने खुम्चिंदै गएको छ । अर्थात् लगानी अनुत्पादक क्षेत्रमा गयो । हामीले आफ्नै छरछिमेकमा देखे-भोगेको तथ्यले पनि यही कुरालाई पुष्टि गर्दछ कि त्यहाँ गरिएका लगानी बालुवामा पानी भएका प्रशस्त दृष्टान्त भेटिन्छन् । आखिर केही उद्यमशील सोच भएका व्यक्तिहरूले दुःखजिलो गरेर स्थापना गरेका व्यावसायिक प्रतिष्ठान, उद्योगधन्दा सफल हुनसक्दैनन् भने कोही कसैले थप लगानी किन गरोस् ! के लगानी संरक्षण गर्ने दायित्व राज्यको होइन ?

अर्कोतिर निजी क्षेत्रबाट उद्योगधन्दा, व्यापार-व्यवसायमा गरिने लगानीको प्रवृत्ति पनि सन्तोषजनक छैन । बजारले के खोजेको छ ? वस्तु वा सेवाको उत्पादनपूर्व त्यसको सम्भावित बजार विश्लेषण अपरिहार्य हुन्छ । तर, त्यस्तो विश्लेषण नै नगरी लहडकै भरमा लगानी खन्याउने परिपाटी बढ्दै गएको छ । पछिल्लो समय त्यस्तै लहलहैमा बढेको ड्रागन प|mुट र किवी खेतीलाई दृष्टान्तको रूपमा लिन सकिन्छ । यी दुई फलहरू भलै स्वास्थ्यका लागि लाभदायक होउन् तर, यिनको बजार स्थिर हुन नसक्दा उत्पादनले बजार पाउन नसकेको खबरहरू सार्वजनिक भइरहेका छन् ।

सुरुवाती चरणमा रहरै रहरमा केही महँगो मूल्यमा ती फलहरूको कारोबार भएको थियो । त्यही मूल्यलाई आधार मानेर अत्यधिक खेती हुन जाँदा मूल्यमा ह्रास आउनुका साथै उत्पादनले बजार पाउन छाडेको देखिन्छ । यहाँ पनि उत्पादकले बजार व्यवस्थापनबारे विस्तृत अध्ययन नगरेको ठहर्छ । त्यस्तै तरकारीजन्य कृषि उपजको उत्पादनको बजारीकरणमा पनि यही समस्या छ । किसानले कहिल्यै पनि आफ्ना उत्पादनको मूल्य पाएका छैनन् ।

यस्तै प्रवृत्ति सेवा क्षेत्रमा पनि देखिएको छ । देखासिकी र लहलहैमा व्यापार-व्यवसायमा लगानी फसाउँदा त्यसले प्रतिफल दिन नसकेको स्पष्ट देखिन्छ । साथै, राज्यको तर्फबाट पनि स-साना पैमानामा हुने लगानीलाई संरक्षण गर्ने नीति आउन नसक्दा लगानी डुब्ने खतरा अत्यधिक देखिन्छ ।

हामीले रैथाने ज्ञान, सीप र क्षमतामा सामान्य प्रविधि जोडिदियौं भने हाम्रो रैथाने अर्थतन्त्रको सहजै बजारीकरण हुनसक्छ । यस्तो बजारीकरण नै हाम्रो समृद्धिको बलियो आधार पो बन्थ्यो कि ! यो मुलुकको निराशाजनक तस्बिर पनि बदल्न सकिन्थ्यो कि ? लौ अब एकबाजि रैथाने तरिकाले सोचौं त !

स-साना लगानीकर्ताहरूले बृहत् अध्ययन र सर्वेक्षण मार्फत बजार विश्लेषण गर्न सम्भव नहुने र राज्य वा त्यस्तो कुनै विश्वसनीय निकायले बजारको सम्भावना र रुचिबारे स्वतन्त्र अध्ययन विश्लेषण नगर्ने हुँदा बजारले के खोजेको छ ? र बजार कता जाँदैछ ? भन्ने भेउ पाउन नसक्दा बजारमा गरिएको थुप्रो लगानी जोखिममा परेको यथार्थता बुझ्नु जरूरी हुन्छ ।

यदि नेपालमा गरिएको लगानीमा आकर्षक प्रतिफलको सुनिश्चितता हुँदैन भने निजी क्षेत्र (वैदेशिक समेत) लगानीका लागि अगाडि सर्दैनन् । यसर्थ, हाम्रो लगानीलाई उत्पादनशील बनाउन र उच्च प्रतिफल हासिल गर्न लगानीमा पनि नवप्रवर्तनको खोजी अपरिहार्य हुन जान्छ । जसका लागि अर्थशास्त्री अमत्र्य सेनले अगाडि सारेको ‘मानवीय क्षमता विकास’ का मान्यताहरूलाई पछ्याउँदै विकास र समृद्धिका आधारहरूको जरो ‘स्थानीयता’मा खोजिनु वाञ्छनीय हुने देखिन्छ ।

हरेक पेशा, व्यवसाय, नोकरी गर्ने मानिसदेखि खेतीकिसान गरी आफ्नो घरपरिवार पाल्ने जो-कोहीले बृहत् सामाजिक अन्तरक्रियामा योगदान गरेको हुन्छ । यसले समाजमा आफ्नो भूमिका निर्वाह गर्दा त्यही आफूमा भएको, आफूले आर्जन गरेको वा पुस्तान्तरण भएको ज्ञान, सीप र क्षमता प्रदर्शन गरेको हुन्छ । त्यसैले भन्न सकिन्छ- कुनै पनि मुलुकको आर्थिक विकास, समृद्धि र प्रगतिमा त्यस देशको ‘स्थानीयता’ अन्तरघुलित भएको हुन्छ ।

त्यही स्थानीय ज्ञान, सीप र क्षमता बेगर मुलुकको प्रगति हुन सक्दैन । त्यही रैथाने ज्ञान र सीपको प्रयोग मार्फत गाउँघरको आर्थिक-सामाजिक सम्बन्ध टिकिरहेको हुन्छ । त्यही सीपले संकटबाट बचाउँछ । त्यही सीप जीवन जिउने माध्यम बन्छ । त्यही रैथाने ज्ञान नै खाद्यसुरक्षा, पर्यावरणीय सन्तुलन, विश्वव्यापी तापमान वृद्धि तथा अन्य प्राकृतिक विपत्ति र संकटहरूको सामना गर्ने औजार बन्ने गरेको छ ।

नेपालले न त समाजको बृहत् अर्थ-राजनीतिक अन्तरक्रियामा ती पारम्परिक ज्ञान, सीप, क्षमता र दक्षतालाई ठाउँ दियो न त, आधुनिक पूँजीवादी अर्थव्यवस्था अन्तर्गतको उत्पादनलाई नै । वास्तवमा हामीले अहिलेसम्म आधुनिक पूँजीवादी व्यवस्थाकेन्द्रित पूँजी निर्माण र धनको सिर्जनामा ध्यान दिनै सकेनौं । पटक-पटकको राजनीतिक परिवर्तनले पनि बृहत् आर्थिक-सामाजिक रूपान्तरणको जग हाल्न सकेन । परिवर्तनको लाभांश जनतासम्म पुर्‍याउन सकेन ।

परिणामतः हामीसँग विश्वबजारमा प्रतिस्पर्धा गर्ने वस्तु र सेवाको संख्या निकै कम हुनगयो । निर्यातको रूपमा हामीले जे-जति वस्तु व्यापार गरिरहेका छौं तिनमा पनि धेरै अतिरिक्त मूल्य सिर्जना (भ्यालु एड) भएको छैन । त्यसैले हाम्रो अर्थतन्त्र आयातमुखी व्यापारमै निर्भर छ । जसका कारण आयातकेन्द्रित राजस्व नै सरकारी आयको मुख्य हिस्सा बन्न पुगेको छ । र, आयात- राजस्वको अन्त्यहीन विरोधाभासपूर्ण सम्बन्धको चक्करमा अर्थतन्त्र रुमल्लिन पुगेको छ ।

नेपाली अर्थतन्त्रको यो डाइनामिक्सले अर्थतन्त्र उँभो लगाउन सकिंदैन । त्यसैले यसको डाइनामिक्सलाई नै परिवर्तन गरी अर्थतन्त्रमा संरचनागत परिवर्तन अहिलेको टड्कारो आवश्यकता हो । तर, यसको पुनर्संरचना कसले, कहाँ, कहिले र कसरी गर्ने ? इतिहासदेखि नै यो प्रश्न भने सधैंका लागि अनुत्तरित बन्न पुग्यो ।

यहींनेर हामीले अब रैथाने अर्थतन्त्रको विकास र विस्तारको पनि चर्चा गर्नुपर्ने भएको छ । नेपाल भौगोलिक रूपमा मात्र होइन जाति, भाषा, संस्कृति, रहनसहन र परम्पराहरूमा पनि विविधतायुक्त मुलुक हो । त्यही सामाजिक परम्पराहरूभित्र पृथक् खालको रैथाने सीप, ज्ञान र दक्षता अन्तरनिहित छ र त्यसले रैथाने प्रकृतिको अर्थतन्त्रको जन्म दिएको हुन्छ ।

तर, दुर्भाग्य यस्तो भइदियो कि हामीले त्यो स्थानीयताको डाइनामिक्स नै बुझेनौं । ती सबै रैथाने ज्ञान, सीप र दक्षतालाई मुलुकले चिन्न सकेन । नीति निर्माण तहमा रहनेहरूले भुईं तहबाट आउने त्यस्ता ज्ञान, सीप र अनुभवलाई कहिल्यै शिरोधार्य गरेनन् । हाम्रो शिक्षा प्रणालीले पनि भुईं तहका अनुभवलाई अनुभव नै मानेन । भुईं तहबाट आउने विचारलाई विचार नै ठानेन ।

हामीले रैथाने ज्ञान, सीप र क्षमतामा सामान्य प्रविधि जोडिदियौं भने हाम्रो रैथाने अर्थतन्त्रको सहजै बजारीकरण हुनसक्छ । यस्तो बजारीकरण नै हाम्रो समृद्धिको बलियो आधार पो बन्थ्यो कि ! यो मुलुकको निराशाजनक तस्बिर पनि बदल्न सकिन्थ्यो कि ? लौ अब एकबाजि रैथाने तरिकाले सोचौं त !

लेखकको बारेमा
मनिकर कार्की

वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?