+
+

भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ देखि, उदय सोताङ र मिलन नेवार नयाँ कोच

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १८:०४

काठमाडौं । सांगीतिक टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ गतेदेखि सुरु हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ श्रृंखलाको घोषणा गरियो ।

समारोहमा प्रायोजकसँग सम्झौता भएको छ । पाँचौं सिजनको टाइटल स्पोन्सरको रुपमा डावर रेड पेस्ट अनुबन्धित भएको छ । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले शीर्ष प्रायोजकसहित पावर्ड बाई स्पोन्सर, को-स्पोन्सर, एसोसिएट स्पोन्सर तथा भोटिङ र मार्केटिङ पार्टनरसँग सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त अवसरमा नयाँ सिजनका कोच पनि सार्वजनिक गरियो । यस सिजनमा गायक उदय सोताङ कोचको रुपमा भित्रिएका छन् । यस्तै ‘भ्वाइस किड्स’मा कोच रहेकी मिलन नेवार पनि भ्वाइस अफ नेपाल सिजन ५ को नयाँ कोचमा अनुबन्धित भएकी छन् । अघिल्ला चार सिजनमा कोच रहेका प्रमोद खरेलले पाँचौं सिजनमा पनि निरन्तरता पाएका छन् भने चौथो सिजनमा कोच रहेका राजेशपायल राई नयाँ संस्करणमा दोहोरिएका छन् ।

डिजिटल अडिसनमा सहभागी ६० हजार आवेदकमध्येबाट छानिएका १२० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी रहेको निर्देशक लक्ष्मण पौडेलले बताए । ब्लाइन्ड अडिसनबाट छनोट ६४ प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

निर्देशक पौडेलका अनुसार पाँचौं संस्करणमा ‘ब्लक्ड’ नियम थपिएको छ । एउटा कोचले अर्को कोचलाई कमजोर बनाउन र आफूलाई बलियो देखाउन यो नियम थपिएको र यसले प्रतिस्पर्धालाई रोचक बनाउने पौडेलले बताए । साथै, यसपटक नकआउट चरणमा नौ जना प्रतिस्पर्धीले सामूहिक रुपमा गायकी पस्किनेछन् ।

‘गत वर्षभन्दा झण्डै दोब्बरको संख्यामा डिजिटल अडिसनमा आवेदन परेको थियो । त्यसैले अडिसन स्क्रिनिङमै झण्डै तीन महिना लाग्यो,’ निर्देशक पौडेलले भने, ‘यसपटक धेरै जना ग्रामीण भेगबाट मौलिक आवाज आएका छन् । ब्लाइण्ड अडिसनमा पुगेका झण्डै १२० प्रतिभा साँच्चिकै अद्भूत छन् ।’

कोच उदय सोताङले आफ्ना लागि नयाँ अनुभव भएकाले पनि रमाइलो लागिरहेको बताए । अर्का कोच राजेशपायलले अघिल्लो सिजनको अनुभवलाई आफूले नयाँ सिजनमा पेश गर्ने बताए ।

हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाले पाँचौं सिजन आयोजनाको लागि आफूहरुसामु चुनौती रहेको बताए । दर्शकले नयाँ सिजनमा धेरै नयाँ अनुभव गर्न पाउने उनले बताए । मञ्चको सजावट र प्रप्सजस्ता प्राविधिकदेखि नियमका कुरामा नयाँ विशेषता थपिएको उनले बताए ।

भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज, हिमालय लोकस्टार लगायतका रियालिटी शो प्रसारण गरिरहेको हिमालय टेलिभिजनले निकट भविष्यमै बिजनेस रियालिटी शो ‘सार्क ट्याङ्क’ र फेसन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ प्रसारण गर्ने भएको छ । अहिले एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज ५’ प्रसारण भइरहेको छ ।

तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?