+
+

११ वर्षपछि बागलुङमा चार पाङग्रेको ट्रायल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते २१:२४

२७ भदौ, पोखरा । ११ वर्षपछि बागलुङमा फेरि चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु भएको छ ।

२०६९ सालमा सरकारले ट्रायलको नयाँ मापदण्ड ल्याएपछि जग्गाको अभावले रोकिएको चारपांग्रेको प्रयोगात्मक परीक्षा बुधबार फेरि सुरु भएको हो ।

साविकको धौलागिरि अञ्चललाई केन्द्रमा राखेर बागलुङमा चारपांग्रेको ट्रायल रोकिएपछि त्यस क्षेत्रका बासिन्दा यही कामका लागि पोखरा आउनुपर्ने थियो । सेवाग्राहीको चापले पोखरामा प्रयोगात्मक परीक्षा सकसपूर्ण, झन्झटिलो र ढिलासमेत भएको धेरैको गुनासो थियो ।

गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बागलुङमा फेरि चार पांग्रेको ट्रायल सुरु गर्न पहल सुरु गरेका थिए । अहिले त्यहीँको निजी ड्राइभिङ सेन्टरसँग सम्झौता गरी चारपांग्रेको परीक्षा सुरु गरिएको हो ।

बागलुङ नगरपालिका–१ रामरेखामा ट्रायल सेन्टर लिइएको छ । दुईपाग्रेको ‘ट्रायल’ परीक्षा पनि सोही ठाउँमा सञ्चालन हँुुदै आएको यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिङ थापाले जानकारी दिए ।

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्स्टिच्युटले बनाएको संरचना भाडामा लिएको हो । चार पांग्रेको ट्रायल सुरुआत गर्दै यातायात व्यवस्थामन्त्री जुग्जालीले बागलुङबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिंगै धवलागिरि क्षेत्र लाभान्वित हुने बताए ।

यातायात व्यवस्था कार्यालय पोखरामा विचौलिया निर्मुल गर्ने अभियानै सुरु गरिएको र बागलुङको ट्रायलमा पनि त्यो कल्पना नगर्न मन्त्री जुग्जालीले निर्देशन दिए ।

‘दुख नगरी लाइसेन्स पाइन्छ कि भनेर सेवाग्राहीले पनि नसोच्नु होला । कास्कीमा धेरै सुधार गरेका छौं, तनहुँको डुम्रेमा पनि राम्रो भइरहेको छ, नवलपुरमा पनि निर्देशन गरेका छौं’, मन्त्री जुग्जालीले भने, ‘बागलुङमा पनि दुई वटा काम गर्दै नगर्नुहोला । एउटा बिचौलियालाई प्रवेश गराउने काम गर्दै नगर्नु, अर्को २÷४ पैसाको लोभमा लाइसेन्स दिन सकिन्छ कि नसोच्नुहोला ।’

अहिलेको प्रविधिको जमानामा सबै परीक्षा सरकारको निगरानीमा हुने र प्रत्येक काम अहिले जनताको निगरानी रहने मन्त्री जुग्जालीको भनाइ थियो । मन्त्री जुग्जालीले जनता प्रत्यक्ष जोडिने यातायात क्षेत्र सुधार नहुँदा व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको र त्यसको चित्र बदल्नुपर्ने बताए ।

बागलुुङमा यसअघि (ए) र (के) वर्ग (दुुई पाङ्ग्रे) को मात्र परीक्षा सञ्चालन हुुने गरेको थियो । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपांग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने सेवाग्राहीको विश्वास छ । बुधबारमात्रै पहिलो पटक १०७ जना प्रयोगात्मक परीक्षामा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?