+
+

बालेन शाह टाइम म्यागजिनको १०० उदीयमान व्यक्तिको सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते २२:४८

काठमाडौं । प्रतिष्ठित टाइम म्यागजिनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई यसवर्षका सय उदीयमान व्यक्तिको सूचीमा छनोट गरेको छ । म्यागजिनले तयार पारेको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश छ ।

सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गर्दै म्यागजिनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षण जस्ता प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

प्रतिबद्धता पुरा गर्नेक्रममा सहरका गरिबमाथि असर परेको र उनीहरुको घर भत्काउने कदम गैरकानूनी देखिएको भन्दै बालेनले आलोचना खेप्नुपरेको समेत म्यागजिनले उल्लेख गरेको छ । ‘शक्तिमा पुगेदेखि शाहले ल्यान्डफिल साइट प्रयोग गर्न अधिकारीसँग सम्झौतामा हस्ताक्षर गरेका छन् । साथै, कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने घोषणा पनि गरेका छन्’ टाइम म्यागजिनका लागि आस्था राजवंशीले लेखेकी छन् ।

‘स्ट्रक्चरल’ इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय बालेनले स्वतन्त्र रूपमा चुनाव लडेको उल्लेख गर्दै म्यागजिनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोग गरेर मतदातामाझ बालेन इफेक्टको प्रयोग गरेको जनाइएको छ । ‘गत वसन्तको स्थानीय चुनावमा यी स्वतन्त्र उम्मेदवारले दिग्गज राजनीतिज्ञमाथि विजय हासिल गरे’ म्यागजिनले लेखेको छ ।

टाइम म्यागजिनले कलाकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता, वकालतजस्ता विधामा समेत प्रभावशाली व्यक्ति छनोट गरेको छ । आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागजिनले टाइम १०० व्यक्तिको सूची तयार पारेको जनाइएको छ ।

‘एक महान पत्रिका र एक महान मिडिया कम्पनीले वर्तमानलाई मात्र प्रतिबिम्बित गर्नु हुँदैन, हामी भविष्यका लागि पनि अघि बढ्नुपर्छ जसले समाजको भविष्य र भविष्यका नेताहरू कस्तो हुनेछन् भनेर देखाउँदछ’ म्यागजिनले लेखेको छ, ‘टाइम १०० को सूची बनाउन हामीले टाइमका संवाददाता र सम्पादकको विश्वब्यापी संजाललाई प्रयोग गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?