+
+

हल सञ्चालक बनेपछि दीपकराज गिरीको घोषणा : प्रदर्शक र निर्माताले ५०-५० प्रतिशत सेयर बाँड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १३:१३

काठमाडौं । हल सञ्चालक बनेपछि दीपकराज गिरीले प्रदर्शक र निर्मातालाई राहत दिने एक महत्वपूर्ण घोषणा गरेका छन् । शुक्रबारदेखि नयाँ बानेश्वरमा सञ्चालनमा आएको आफ्नो लगानीको हल ‘एनबी सेन्टर’को उद्घाटनको क्रममा बोल्दै उनले यो हलबाट निर्माता र प्रदर्शकले ५०-५० प्रतिशत हिस्सा (सेयर) पाउने बताए ।

दीपकले भने, ‘आजकै मितिबाट यो हलबाट निर्माता र हलको ५०–५० प्रतिशत सेयर बाँडफाँट गर्ने घोषणा गर्छौं । पछिका दिनमा अरु हलले पनि लागू गरुन् ।’

उनले शो बाँडफाँटमा हलको व्यवस्थापक कम्पनी आईएनआईलाई हस्तक्षेप नगर्ने बताए । ‘शो बाँडफाँटमा हामी हस्तक्षेप गर्ने पक्षमा छैनौं । सबै आईएनआईले हेर्छ । सिनेमाले व्यापार नै गरेका छैन भने माया प्रेमले मात्र फिल्म चल्दैन । फिल्मले राम्रो व्यापार गर्नुपर्‍यो । राम्रो व्यापार गर्दागर्दै नेपाली फिल्मले स्थान नपाउनुपर्ने अवस्था नआओस् । यसतर्फ हाम्रो कोसिस रहन्छ,’ दीपकले भने ।

उनले यसो भनिरहँदा समारोहमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन लगायतका पदाधिकारी थिए । दीपकले उक्त घोषणा गर्दा ताली बजेको थियो । लामो समयदेखि चलचित्र संघ र निर्माता संघबीच सेयर बाँडफाँटको मुद्दालाई लिएर मतभिन्नता रहँदै आएको छ ।

दीपकले उक्त घोषणा गरेपछि उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि दीपक-दीपाको समूहलाई बधाई दिए । ‘निर्माता र हलबीचको रिभेन्यु सेयरिङमा नयाँ कुराको सुरुवातको लागि बधाई । यो क्षेत्रमा लाग्ने सबैको लागि राम्रो सुरुवात भएको छ,’ ढकालले भने ।

अभिनेता हरिवंश आचार्यले सेयर बाँडफाँटको घोषणाले आफू हर्षित भएको भन्दै यो नियमलाई देशभरका सबै हलमा लागू गर्न जरुरी रहेको बताए । दीपकको उक्त घोषणापछि अनलाइनखबरसँग कुरा गर्दै चलचित्र संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनले सेयर बाँडफाँटको कुरालाई देशव्यापी लागू गराउनेतर्फ पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?