+
+

चिनीमा होलसेलरको सिन्डिकेट, एक महिनामा केजीमै २५ रुपैयाँ मूल्य बढाइयो

एक महिनाको बीचमा चिनीको प्रतिकेजी मूल्य १०५ रुपैयाँबाट बढेर १३० रुपैयाँ पुगेको छ । यसअघि १ भदौमा चिनीको प्रतिकेजी खुद्रा बिक्री मूल्य १०५ रुपैयाँ थियो । एक महिनामै प्रतिकेजी चिनीको मूल्य २५ रुपैयाँ बढाइएको हो ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० भदौ २९ गते २०:०९

२९ भदौ, काठमाडौं । चिनीका होलसेल बिक्रेताहरूले सिन्डिकेट कायम गरी प्रतिकिलो मूल्य नै १० रुपैयाँ बढाएपछि उपभोक्ता मूल्य पनि सोहीअनुसार वृद्धि भएको छ । केही दिनअघिसम्म प्रतिकिलो १ सय २० रुपैयाँ रहेको चिनीको बजार मूल्य अहिले १ सय ३० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघले जानकारी दिएको छ ।

‘२७ भदौमा चिनीको होलसेल मूल्य प्रतिकिलो १ सय १७ रुपैयाँ थियो, त्यसलाई होलसेलरहरूले १२७ रुपैयाँ पुर्‍याएका छन्,’ संघका सहकोषाध्यक्ष ध्रुब अधिकारीले भने । नयाँ होलसेल मूल्य आएपछि चिनीको खुद्रा मूल्य १३० रुपैयाँ हराहारी पुगेको उनले बताए ।

होलसेल व्यापारीहरूले बजारमा सिन्डिकेट कायम गरेपछि अहिले मूल्य बढ्ने मात्रै होइन, अभाव समेत सृजना भएको छ । होलसेल व्यापारीको मनपरीका कारण चिनी बिक्री गर्नै नसक्ने अवस्थामा पुगेको संघले जनाएको छ । ‘हामीले चिनीको कारोबार नै नगर्ने निर्णय गरेका छौं,’ उनले भने ।

एक महिनाको बीचमा चिनीको प्रतिकेजी मूल्य १०५ रुपैयाँबाट बढेर १३० रुपैयाँ पुगेको छ । यसअघि १ भदौमा चिनीको प्रतिकेजी खुद्रा बिक्री मूल्य १०५ रुपैयाँ थियो । एक महिनामै प्रतिकेजी चिनीको मूल्य २५ रुपैयाँ बढाइएको हो ।

खासगरी भारतको महाराष्ट्र राज्यमा यसवर्ष खडेरीका कारण चिनी उत्पादनमा उल्लेख्य कमी आउने र त्यसले भारतमा चिनीको मूल्य ६ वर्षयताकै उच्च भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

त्यो समाचार आएपछि नेपालमा चिनीको मूल्य पनि एकाएक बढाइएको छ । महाराष्ट्रमा भारतको कुल चिनी उत्पादनको एक तिहाइ उत्पादन हुन्छ । भारतमा चिनी उत्पादन घट्ने भएपछि उसले निर्यात बन्द गर्ने हो कि भन्ने आकलनसमेत गर्न थालिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

यही मौका छोपेर होलसेलरहरूले बजारमा चिनीको कार्टेलिङ र गैरकानुनी मौज्दात कायम गरेको साना खुद्रा व्यवसायीहरूको आशंका छ । ‘मूल्य बढेसँगै बजारमा चिनी पनि पाउन छोडेको अवस्था छ,’ एक पदाधिकारीले भने, ‘यही बेला अनुगमनकारी निकाय र सरकार पनि मौन छ ।’

नेपाली उद्योगहरूले उत्पादन गरेको चिनीको मौज्दात सकिएकाले अन्तर्राष्ट्रिय माग र आपूर्तिका आधारमा मूल्य बढेको हुनसक्ने नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल बताउँछन् । सरकारले जतिसक्दो चाँडो भन्सार छुट दिएको चिनी ल्याएर मूल्य नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपालमा भएको उत्पादन सकिएको छ, भारतमा यो वर्ष चिनी उत्पादनमा कमी आउने सम्भावना रहेको समाचार आइरहेको छ, यस्तो अवस्थामा चिनीको मूल्य बढाउने प्रयास हुनु अस्वाभाविक होइन,’ उनले भने, ‘सरकारले २० हजार मेट्रिक टन चिनी ल्याउने भनेको छ, त्यो र थप परिमाणको चिनी ल्याएर बजार हस्तक्षेप गर्नु जरुरी छ ।’

मुलुकमा खपत हुने चिनीमध्ये ७५ प्रतिशत उद्योगहरूले खपत गर्ने र उपभोक्ताले २५ प्रतिशत मात्रै खपत गर्ने उनले बताए । तीन जनाको परिवारले महिनामा एक किलो भन्दा धेरै चिनी खपत नगर्ने उनको भनाइ छ ।

‘त्यसो हुँदा मूल्य बढ्यो भनेर उपभोक्ता धेरै आत्तिनु आवश्यक छैन, तर सरकारले मूल्य नियन्त्रणका लागि तत्कालै कदम चाल्नु भने जरुरी छ,’ अग्रवालले भने ।

मुख्य चाडवाडमा अभाव सिर्जना हुन नदिन सरकारले ५० प्रतिशत भन्सार छुटमा २० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई उक्त परिमाणमा चिनी आयात गर्न अनुमति दिएको अर्थ मन्त्रालयले जनाएको छ । हाल चिनीमा ३० प्रतिशत भन्सार लाग्दै आएको छ । सरकारको अनुमतिपछि दुई कम्पनीले १५ प्रतिशत मात्रै भन्सार तिरेर चिनी आयात गर्न पाउनेछन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?