+
+

मुद्दती निक्षेपको ब्याजदर ११.३५८ प्रतिशतसम्म, ८ बैंकले बढाउँदा ८ वटैले घटाए

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १६:११

३१ भदौ, काठमाडौं । असोजका लागि आठ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् । २० वटा मध्ये ८ वटा बैंकले ब्याजदर बढाउँदा ८ वटै बैंकले घटाएका छन् भने ४ वटा बैंकले यथावत राखेका छन् । अब ६ वटा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुगेको छ ।

बैंकहरूले भदौमा प्रकाशित व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदरको औसत १०.३२६ प्रतिशतको आधारमा असोजका लागि निक्षेपको ब्याजदर प्रकाशित गरेका हुन् । भदौको बचतको न्यूनतम ब्याजदरको औसत ५.५०४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत १०.३२६ को १० प्रतिशत तलमाथि गर्दा बचतको न्यूनतम ब्याजदर र मुद्दतीको अधिकतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दु कायम नभएमा समयोजन गर्न सक्ने व्यवस्था गरेको छ ।

असोजमा मुद्दती निक्षेपामा प्राइम कमर्सियल बैंकले सबैभन्दा धेरै ११.३५८ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले भदौमा १०.५ प्रतिशत ब्याजदर रहेकोमा असोजमा करिब १० प्रतिशत बढाएर सो विन्दूमा पुर्‍याएको हो । बैंकले बचतमा असोजमा ६.५३८ देखि ८.५३८ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । व्यक्तिगत मुद्दती निक्षेपमा नबिल, एभरेष्ट, एनआईसी एशिया र हिमालयन बैंकले ११.०५४ प्रतिशत ब्याजदर दिने भएका छ ।

नबिल, एनआईसी एशिया र हिमालयन बैंकले निक्षेप अवधि अनुसार १०.०५४ प्रतिशतदेखि ११.०५४ प्रतिशत ब्याजदर तोकेका हुन् । यस्तै, एभरेष्ट बैंकले भने सबै अवधिको मुद्दती निक्षेपमा ११.०५४ प्रतिशत ब्याजदर दिने भएको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ११.०३ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले ९.९९ प्रतिशतसम्म दिँदै आएको ब्याजदर बढाएर १० देखि ११.०३ प्रतिशतसम्म पुर्‍याएको हो ।

यसबाहेक स्ट्यान्डर्ड चाटर्ड बैंकले पनि भदौमा ७.९२ देखि ८.९२ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर बढाएर असोजमा ७.७९ देखि ९.२९ प्रतिशत पुर्‍याएको छ । बैंकले मुद्दती निक्षेपको न्यूनतम् ब्याजदर घटाएर अधिकतम् बढाएको हो । नेपाल एसबीआई बैंकले ९.९९ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याएको हो । यसअघि ९.१ देखि ९.९९ रहेकोमा अब ९.१ देखि १० प्रतिशत बनाएको छ ।

यता सरकारी लगानीका तीनवटै बैंकले ब्याजदर घटाएका छन् । नेपाल बैंकले १०.८९६ प्रतिशतसम्म रहेको व्यक्तिगत मुद्दती निक्षेपको बयाजदर घटाएर ९.२९३ मा झारेको छ । कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १०.८९६ प्रतिशतबाट घटाएर १०.०११९ मा झारेको छ । राष्ट्रिय वाणिज्य बैंकले पनि ९.९९ प्रतिशतबाट ९.५ प्रतिशत कायम गरेको हो ।

एनएमबि बैंकले मुद्दती निक्षेपमा ८.१ देखि ९.९९ प्रतिशतकै सीमाभित्र यथावत राख्दा माछापुच्छ्रे बैंकले पनि ९ देखि ९.९९ प्रतिशत नै कायम राखेको छ । प्रभु बैंकले पनि ८ देखि १० प्रतिशत भित्रै व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कायम राखेको छ । यस्तै, सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदर ९.९९ प्रतिशत नै यथावत रहेको छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निक्षेपको ब्याजदर प्रकाशित गर्दा अघिल्लो महिनामा सोही वर्गका बैंकहरुले मुद्दती निक्षेपमा दिएको अधिकतम् ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।

सोही अनुसार भदौमा वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले तलमाथि गर्न पाउने भएर बैंकहरुले सीमाभित्र रहेर ब्याजदर प्रकाशित गरेका हुन् । राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरभन्दा २ प्रतिशत विन्दुले कम गर्नुपर्ने व्यवस्था गरेको छ ।

व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदर र बचतको न्यूनतम् ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बचतमा पनि अधिकतम् र न्यूनतम् ब्याजदर अन्तर २ प्रतिशत विन्दु भन्दा बढी गर्न नपाइने व्यवस्था छ । तर, रेमिट्यान्स बचत तथा मुद्दतीमा भने व्यक्तिगत बचत र मुद्दतीको भन्दा न्यूनतम् १ प्रतिशत थप ब्याजदर दिनुपर्ने हुन्छ । कल निक्षेपमा बचतको न्यूनतम् ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने व्यवस्था छ ।

सोही आधारमा बैंकहरुले निक्षेपको ब्याजदर प्रकाशित गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?