+
+

विकसित र विकासोन्मुख मुलुकबीच प्राविधिक र डिजिटल विभाजन हुनु चिन्ताको विषय हो : कृषिमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १४:०५

१ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले विकसित र विकासोन्मुख राष्ट्रहरूबीचको प्राविधिक र डिजिटल विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

‘वर्तमान विकासका चुनौतीहरू : विज्ञान, प्रविधि र नवप्रवर्धनको भूमिका’ भन्ने नाराका साथ क्युबाको हवानामा भएको जी–७७ र चीनको शिखर सम्मेलनमा अतिकम विकसित देशहरूको समूहको तर्फबाट बोल्दै मन्त्री भुसालले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

सम्बोधनका क्रममा मन्त्री भुसालले भने, ‘हामीले विकसित राष्ट्रहरूबाट प्रविधि हस्तान्तरण गर्ने, शिक्षा प्रणालीमा समाहित गर्ने र प्राविधिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने ठोस प्रतिबद्धताका बावजुद दशकौं बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको प्रविधि हस्तान्तरणका लागि जोड दिनुपर्छ ।’

मन्त्री भुसालले अति कम विकसित राष्ट्र (एलडीसी) का लागि दोहा कार्ययोजना कार्यान्वयन गर्न ग्लोबल साउथको सहयोगका लागि आह्वान गरेका छन् ।

उक्त कार्ययोजनाले एलडीसीहरूमा एसटीआईहरूको विकासलाई प्रमुख प्राथमिकताको रूपमा प्रस्तुत गरेको छ ।

साथै मन्त्री भुसालले नेपालको विकास नीति र प्राथमिकताका बारेमा प्रकाश पार्दै अल्पविकसित मुलुकको स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको बताए ।

मन्त्री भुसालले क्युवाका कृषि मन्त्री यडेल ब्रिटोसँग पनि भेट गरेका छन् । समकक्षीसँगको भेट कृषिको यान्त्रिकीकरण र प्रविधिको सहयोगमा कृषि उत्पादनलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री भुसालले शिखर सम्मेलन आयोजना गरेकोमा आफ्ना समकक्षी ब्रिटोलाई बधाइ दिँदै आतिथ्यताका लागि धन्यवाद दिएका थिए ।

१५ र १६ सेप्टेम्बर २०२३ सम्म भएको शिखर सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री भुसाल १४ सेप्टेम्बरमा हवाना पुगेका थिए । १७ सेटेम्बर मन्त्री भुसाल स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?