+
+

‘नांगो गाउँ’लाई बक्स अफिसमा ‘दयाहाङ-मिरुना फ्याक्टर’को फाइदा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १३:२६

काठमाडौं । चलचित्र विकास बोर्डले आधिकारिक कमाइ त सार्वजनिक गरिसकेको छैन, तर दीपेन्द्र लामा निर्देशित ‘नांगो गाउँ’ घरेलु बक्स अफिसमा ‘हिट’ हुने बाटोतर्फ उन्मुख छ । मंगलबार पनि फिल्मको देशव्यापी अकुपेन्सी ३० देखि ४० प्रतिशत हाराहारीमा छ जुन ‘विकडेज’का लागि आक्रामक नै हो ।

सप्ताहन्तमा समेत कतिपय फिल्मलाई १० प्रतिशत अकुपेन्सीको आँकडा पार गर्न हम्मेहम्मे परिरहेको बेला ‘नांगो गाउँ’ले ३५ प्रतिशत हाराहारीको अकुपेन्सी कायम राखेको छ, त्यो पनि विकडेजमा । हल सञ्चालकका अनुसार यो फिल्मले दर्शकलाई हलसम्म फर्काउन केही हदसम्म सफल भएको छ ।

मुख्यतः ‘नांगो गाउँ’को सुखद ओपनिङ हुनुमा केही फ्याक्टर कारण छन् । एकपछि अर्को ब्लकबस्टर फिल्म दिइरहेका दयाहाङ राई र मिरुना मगरको फ्याक्टर फिल्मको ओपनिङ सुखद हुनुमा प्रमुख कारण देखिएको छ । ‘जारी’ र ‘कबड्डी ४’ ले निर्माण गरेको दयाहाङ–मिरुनाको ‘सेलिब्रिटी कल्ट’को फाइदा यसमा देखिएको छ ।

अधिकांश दर्शकलाई प्रारम्भिक चरणमा हलसम्म तान्नमा यी दुई कलाकारको भूमिका प्रमुख देखिएको अनुमान गरिएको छ । दोस्रोमा– तीज, शनिबार र संविधान दिवससहितका एकपछि अर्को सार्वजनिक बिदा । लगातारको सार्वजनिक बिदाको अर्को फाइदा पनि फिल्ममा देखिएको छ । तेस्रो– नांगो गाउँको समीक्षा त्यति नकारात्मक देखिएन ।

निर्देशक लामा आफ्ना फिल्ममा ग्रामीण आयामलाई राजनीति र समाजसँग जोड्न चाहन्छन् । जब पात्र नै कथाभित्र छिर्दिन्छ, तब फिल्मसँग दर्शक ‘कनेक्ट’ हुन्छन् । सर्वसाधारणलाई सिंहदरबारको राजनीतिभन्दा गाउँले राजनीति र त्यसको दाउपेचले अर्थ राख्छ, स्थानीय चुनावको यो माहोललाई दीपेन्द्रले फिल्ममा बुनेका छन् । जसको दर्शकीय मनोविज्ञान बक्स अफिसमा देखिएको हुन सक्छ ।

स्टारकास्ट र व्यापक प्रचार हुँदाहुँदै पनि ‘एक भगवत् र एक गीता’ले घरेलु बक्स अफिसमा कमजोर व्यापार गरेको छ । प्रमुख मल्टिप्लेक्सले यो फिल्मको शोमा कटौती गर्दै ‘नांगो गाउँ’को शो बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?