+
+

बीआरआई र एमसीसी फरक हो : सीपी गजुरेल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १८:२२

२ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नेता सीपी गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फरक अवधारणा भएको बताएका छन् ।

मंगलबार पत्रकारसँगको अन्तरक्रियामा नेता गजुरेलले एमसीसीलाई अमेरिकाको इन्डोप्यासिफिक स्ट्राटेजी (आईपीएस) को अंग भएको भन्दै त्यसले मुलुकको हित नगर्ने बताए ।

‘बीआरआई व्यापारसँग सम्बन्धित विषय हो । यो नेपालका लागि आवश्यक विषय हो । एमसीसी अमेरिकाको दक्षिण एसियामा सैन्य प्रभुत्व जमाउनका लागि ल्याइएको रणनीतिक योजना अन्तर्गतको परियोजना हो’, उनले भने, ‘त्यसैले हाम्रो पार्टी एमसीसीको बिरोध र बीआरआईको सपोर्ट गर्छौं ।’

बजार सानो वा ठूलो हुनसक्ने, तर देश सानो वा ठूलो नहुने भन्दै नेपालले पनि उद्योग व्यवसाय गर्न सक्ने बताए । त्यसका लागि मुलुकको राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै मजबुत अर्थतन्त्रको निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

भूराजनीतिक चलखेलका कारण मुलुकमा धार्मिक द्वन्द्वको बिजारोपण हुने खतरा बढेको भन्दै सबैले सचेत हुनुपर्ने उनको भनाइ छ ।

‘धरानमा घटना घट्नुभन्दा पहिले नै बीजेपीले आफ्नो चुनावी प्रयोजनका लागि त्यो परिस्थिति सिर्जना गर्नसक्छ भनिएको थियो । नभन्दै त्यसको केही दिनमा भयो पनि त्यस्तै’, उनले भने, ‘भारतको दंगा भारतमा मात्रै सीमित नरहन सक्छ । त्यसैले हामी पनि सचेत रहन जरुरी छ ।’

उनले दुरुपयोग गर्दा जुनसुकै धर्मले पनि समाजलाई राम्रो नगर्ने भन्दै त्यसलाई समाजमा एक अर्का विरुद्ध प्रयोग गरिनु नहुने बताए ।

‘धर्म व्यक्तिको निजि कुरा हो। यसलाई बिकृत रूप दिन जरुरी छैन’, उनले भने, ‘भारतमा पनि नेपालको जस्तै हिन्दु धर्म छ । तर नरेन्द्र मोदीले आफ्नो चुनाव जित्ने अस्त्र बनाएका कारण अहिले हिन्दु मुस्लिम तनाव भैरहेको छ ।’

उनले आफ्नो पार्टीले धर्म निरपेक्षतालाई पनि कसैले दुरुपयोग गरोस् भन्ने भन्दा पनि व्यक्तिको निजी विषय भएका कारण स्वीकार गरेको बताए ।

उनले राजनीतिक स्वार्थका लागि धर्मको प्रचार गरेर धर्म निरपेक्षताको दुरुपयोग गरिएको बताए । ‘हामीले धर्म निरपेक्षता स्वीकार गरेको हो । तर हिन्दू धर्मका केही विषयमा प्रश्न गर्नु भनेको कृश्चियन धर्मको समर्थन गर्ने भनेको होइन’, उनले भने, ‘अर्को धर्म मान्नै दिँदैनौं भन्नुभन्दा धर्म निरपेक्षता धेरै असल कुरा हो । राजतन्त्रभन्दा गणतन्त्र तुलनात्मक हिसाबले सहि छ ।’

उनले आफ्नो पार्टी अहिलेको गणतन्त्रभन्दा पनि राम्रो र अग्रगामी जनगणतन्त्र ल्याउन चाहेको बताए । अहिले उत्पन्न सम्पूर्ण समस्याको जड संविधान भएको भन्दै हल दिन नसकिरहेको बताए ।

यसका लागि उनले सर्वपक्षीय सम्मेलनमार्फत चुनावमा नगएर पनि सरकारमा जान सकिने व्यवस्था गर्नुपर्ने बताए ।

अहिलेको संविधानले प्रधानमन्त्री प्रचण्डजस्तै जनताबाट अलग गराउने उनको भनाइ थियो ।

‘प्रचण्डले आफूलाई सत्ताबाट निकाले लाखौं मान्छे सडकमा उतार्ने भन्दै थिए । आफै प्रधानमन्त्री हुने, आफैं सडकमा उत्रिन्छु भन्नू स्वाभाविक होइन’, उनले भने, ‘यो संसदीय व्यवस्थाले पुर्‍याउने नै यहीँ हो । त्यसैले हामी यो मान्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?