+
+

पूरा भयो द्रुत बस सेवा सञ्चालनको तयारी 

रत्नपार्कदेखि सूर्यविनायकसम्म डेढ घण्टाको दूरी ४५ मिनेटमा छोटिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते २०:२२

२ असोज, काठमाडौं । बुधबारदेखि नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । संविधान दिवसको अवसर पारी सरकारले बुधबार बिहान ९ बजे सूर्यविनायक–रत्नपार्क सडक खण्डमा यस्तो बस सेवाको उद्घाटन गर्दैछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी, सूर्यविनायकका मेयरहरु सवार द्रुत बस रत्नपार्कबाट छुट्नेछ । यो बस निर्धारित ४५ मिनेटमा सूर्यविनायक पुग्नेछ । सार्वजनिक यातायातलाई ट्राफिक जामबाट मुक्त गर्न संसारभर यस्ता सवारी साधान चलाउने गरिन्छ । नेपालमा भने यो पहिलोपटक सुरु हुन थालेको हो ।

द्रुत बस चल्ने लेनमा सडक विभागले मंगलबार रातिसम्म मार्किङ गरेको छ । मन्त्रालयले यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ ।

       सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् । द्रुत बसहरु चल्ने लेनमा २/२ सय मिटरमा रेड मार्क गरिएको जानकारी उनले दिए ।

कसरी चल्छन् द्रुत बस सेवा ?

यसरी रेड मार्किङ गरेको सडकमा द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न नपाउने पोखरेलले बताए । ‘त्यस्तै चोकचोकमा हुने ट्राफिक लाइनमा पनि यी बस रोकिनुपर्ने छैन, ट्राफिक प्रहरीले एम्बुलेन्सलाई जसरी नै लाइट पास गराउनेछन्’, उनले भने ।

हाललाई यस्ता बसमा द्रुत सेवा लेखेर सञ्चालन गरिने र पछि एकै रङका बस चलाइने तयारी भएको पोखरेलले भने । ‘संविधान दिवसका दिनबाट ट्रायलका रुपमा चलाउनेछौं । एक सातापछिबाट भने पूर्णरुपमा सञ्चालन हुनेछ,’ उनले भने ।

४० सिट क्षमताभन्दा माथिका बसहरु द्रुत बससेवाका लागि सञ्चालनको तयारी रहेको मन्त्रालयले जनाएको छ ।

१९ स्थानमा ‘पिक एण्ड ड्रप’ मात्रै

यातायात व्यवस्था विभागका अनुसार यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्नेछन् । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरु भन्छन्, ‘बसमा द्रुत बस सेवा भनेर लेखिएको हुन्छ, भोलि यात्रु चढ्न पाउँदैनन् । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायतमा यात्रु उकाल्ने, ओराल्न मात्रै हुने र रोक्दै नरोकिने पनेरुले बताए । बस सञ्चालनपछि डेढ घण्टाको बाटो ४५ मिनेट बनाउनका लागि लेनको प्रयोग गरिने बताए ।

‘बुधवार नमूना मात्रै देखाउने हो, ४ असोजदेखि पूर्णरुपमा सञ्चालन हुन्छ,’ उनले भने ।

 

‘कार्यालय समय र विद्यालय समयलाई लक्षित गरेर हामीले अहिले यो सेवा सुरु गरेका हौं । दुवैतर्फबाट ५/५ मिनेटको फरकमा बस छोड्छौं । यसलाई परीक्षण काल भनेका छौं । यो लेनमा अन्य अतिआवश्यक सवारीहरु कसरी प्रयोग गर्न सकिन्छ त्यो पनि अध्ययन गर्दै छौं,’ उनले भने ।

पनेरुको अनुसार कोटेश्वर र माइतीघरमा जक्सन भएकोले अलि समस्या हुने देखिए पनि ट्राफिक प्रहरीले सहयोग गर्ने बताए । यो रुटमा अहिले कायम भाडा तिरेर द्रुत बससेवा चढ्न पाइने उनले बताए ।

तस्वीर र भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?