+
+

क्यानडामा रहेका आफ्ना विद्यार्थीलाई भारतले गरायो सतर्क

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १५:१६

३ असोज, काठमाडौं । खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर तनावग्रस्त बनेको भारत र क्यानाडाबीचको सम्बन्ध थप पेचिलो बन्दै गएको छ ।

मंगलबारसम्म कूटनीतिज्ञलाई देश निकाला गर्ने प्रतिस्पर्धामा उत्रिएका क्यानडा र भारतले बुधबार एक अर्काविरुद्ध थप दबाब बनाएका छन् ।

मंगलबार राति क्यानडाले भारतमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन भन्दै ट्राभल एडभाइजरी अप्डेट गरेको थियो । त्यसको २४ घण्टा नबित्दै भारतले पनि क्यानडामा रहेका आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गरेको छ ।

भारतले क्यानडामा रहेका आफ्ना नागरिकलाई अत्यधिक सावधानी अपनाउन, क्यानाडामा भारत विरोधी गतिविधिहरू सहित क्षेत्रहरू र सम्भावित स्थानहरूमा यात्रा नगर्न र सतर्क रहन भन्दै कुनै अप्ठेरो परेको खण्डमा भारतीय नियोगहरूलाई जानकारी गराउन भनेको छ ।

‘क्यानडामा बढ्दो भारत विरोधी गतिविधिहरू र राजनीतिक रूपमा माफ गरिएको घृणित अपराध र आपराधिक हिंसालाई ध्यानमा राख्दै, त्यहाँका सबै भारतीय नागरिकहरू र यात्राको तयारीमा रहेकाहरूलाई अत्यन्त सावधानी अपनाउन आग्रह छ । भारतीय नागरिकहरूलाई क्यानाडामा भारत विरोधी एजेन्डाको विरोध भइरहेका क्षेत्र र सम्भावित स्थानहरूमा यात्रा नगर्नु होला’, भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘क्यानडामा बिग्रिएको सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै, विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यधिक सावधानी अपनाउन र सतर्क रहन अनुरोध छ । क्यानडामा रहेका भारतीय नागरिकहरू र विद्यार्थीहरूले पनि ओटावामा रहेको भारतीय उच्चायोग वा टोरन्टो र भ्यानकुभरमा रहेको भारतीय महावाणिज्य दूतावासमा उनीहरूको सम्बन्धित वेबसाइटहरू वा मद्दत पोर्टल madad.gov.in मा आफ्नो अवस्था दर्ता गर्नुहोला । यसले उच्चायोग र महावाणिज्य दूतावासलाई कुनै पनि आपतकालीन वा अप्रिय घटनाको अवस्थामा क्यानाडामा रहेका भारतीय नागरिकहरूसँग राम्रोसँग सम्पर्क गर्न सहयोग पुर्‍याउने छ’, विज्ञप्तिमा उल्लेख छ ।

क्यानडाले मंगलबार राति ट्राभल एजभाइजरी अपडेट गर्दै आफ्ना नागरिकलाई भारत भ्रमण गर्दा अत्यधिक सावधानी अपनाउन आग्रह गरेको थियो । क्यानडाले ट्राभल एडभाइजरी जारी गर्दै अप्रत्याशित सुरक्षा स्थितिका कारण भ्रमणमा सावधानी अपनाउन भनेको थियो ।

मंगलबार जारी क्यानडाको ट्राभल एडभाइजरीमा लेखिएको छ, ‘जम्मु कश्मिरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा छ ।’

भारतका गुजरात, पञ्जाब, राजस्थान र पाकिस्तानसँग सिमाना जोडिएका क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकहरुलाई भनेको छ ।

गत सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय एजेन्टले गत जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको अभिव्यक्ति दिएपछि दुई देशबीच तनाव बढेको छ ।

क्यानडाले यही आरोपमा भारतका एक जना कूटनीतिज्ञलाई देश निकाला गरेको छ भने भारतले पनि क्यानडाका एक कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ ।

क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घण्टा नबित्दै भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई मंगलबार देश छोड्न निर्देशन दिएको थियो ।

मंगलबार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जना क्यानडाली कुटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न भनेको जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?