+
+

चितवनको पूर्व-पश्चिम राजमार्गमा निहुरो बेचेर घर खर्च

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १७:०१

५ असोज, चितवन । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व-पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निहुरो लगायत जङ्गली तरकारी बिक्री गर्दै आएकी उनी तीन वर्षदेखि यही पेशा गर्दै आएकी छिन् ।

विकसँगै अन्य आठ–दश जना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निहुरो, सालका पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेको देख्न सकिन्छ । विसं २०६१ मा गोरखाबाट चितवन झरेकी विक सुरुवाती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आएकी थिइन् ।

सो काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उनी निहुरो बिक्री गर्न थालेकी हुन् । ‘दैनिकी चलाउनकै लागि भए पनि निहुरो बेच्नु परेको छ’, उनले भनिन् ।

दैनिक १५ देखि ३० मुट्ठासम्म निहुरो बिक्री हुने बताउँदै विकले यही कमाइले घर र छोरालाई पढाउने खर्च पुगेको बताइन् । ‘घामपानी नभनी जङ्गलमा गएर निहुरो टिपेर ल्याउनुपर्छ, दुःख छ’, उनले भनिन्, ‘दुःखै गरेर भए पनि आफ्नो दैनिकी सहज रुपमा चलेको छ ।’

५० वर्ष पुगेकी विकले जङ्गलमा निहुरो टिप्न जाँदा कहिलेकाहीं जङ्गली जनावरसँगको जम्काभेटमा अब घर फर्किइन्न कि जस्तो अनुभूति हुने गरेको बताइन् । ‘अगाडि नै गैंडा भेटिंदा त मुटुले ठाम छोड्छ, आजसम्म त बाँचिरहेकै छु’, उनले भनिन् ।

मासिक रू ३०० को टिकट काटेर सामुदायिक वनमा निहुरो टिप्न जानुपर्ने विकले सुनाइन् । उनले भनिन्, ‘ज्यानको बाजी थापेर निहुरो टिपेर बेच्न बस्यो तर किन्नेहरुले मूल्य घटाउँछन् ।’ रू १०० को निहुरो किन्दा रू १० सम्म भए पनि घटाएर लैजाने गरेको उनको गुनासो छ ।

रत्ननगरकी लक्ष्मी पुलामी मगर अहिले ६० वर्ष पुगिसकेकी छिन । उनको दैनिकी पनि अहिले जङ्गली तरकारी बिक्रीमै जाने गरेको छ । पहिला–पहिला हाटबजारमा तरकारी तथा फलफूल बेच्दै आएकी मगर कोरोनासँगै हाटबजारमा तरकारी बिक्री गर्न नपाएपछि सडक छेउमा बसेर व्यापार गर्न थालेकी छिन् ।

‘अहिले उमेर ढल्किदै गयो । अरु काम गर्न सकिंदैन । दिनभरि सडक छेउमा निहुरो, सालको पात र टुसा बेच्छु’ उनले भनिन्, ‘सके आफैं जङ्गलमा टिप्न जान्छु, अरूले टिपेर ल्याएको पनि बिक्री गर्ने गरेको छु ।’ आफैंले टिपेर ल्याउन सके फाइदा हुने भन्दै अरूसँग किनेर बेच्दा खासै बचत नहुने उनको भनाइ थियो ।

उनले गुनासो पोखिन्, ‘चिल्ला गाडीमा गुडेर आउने ग्राहकले महँगा होटलमा खाँदा पैसा थपेर दिन्छन् भन्ने सुन्छु । हामी ताजा तरकारी बेच्नेसँग रू १० मा चित्त नबुझे फालेर हिंड्छन् ।’ सरदरमा दैनिक रू १००० देखि १२०० सम्म कमाउँदै आएकी मगरले साँझ ७:३० बजेसम्म सडक पेटीमा नै बसेर निशुरो बेच्ने गरेको सुनाइन् ।

भरतपुर महानगरपालिका–८ का ताराबहादुर तामाङ पनि टिकौली सडक छेउमा निहुरो बिक्री गर्दै आएका छन् । विगत ६ महिनाअघि देखि यो पेशामा लागेका तामाङ आफैं निहुरो, टुसा र सालको पात टिपेर बिक्रीका लागि ल्याउँछन् । घरपरिवार चलाउनकै लागि यो व्यवसायमा लाग्नु परेको उनले बताए । उनले भने, ‘काम भनेको सानो ठूलो केही हुँदैन । पेट पाल्न काम त गर्नै पर्‍यो ।’

पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने सडकमा बसेर निहुरो बिक्री गर्न नपाइने बताए ।

उनले जङ्गल कटेपछिको सडकमा बिक्री वितरण गर्दा निकुञ्जले कुनै अवरोध नगरेको बताए । अहिले निकुञ्जमा नभई सामुदायिक वनमा मात्रै निहुरो टिप्नका लागि अनुमति दिइने गरेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?