+
+

चीनमा १९ औं एसियाडको भव्य उद्घाटन

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज ६ गते १९:५५
एसियन गेम्समा नेपाली खेलाडीहरु । तस्वीर सौजन्य : राजेन्द्र चित्रकार

६ असोज, हाङजाउ । एसियाली खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम १९ औ एसियाडको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरे । राष्ट्रपति सीले पनि १९ औं एसियाडमा निकै रुचि दिइरहेका थिए ।

१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा टेबल टेनिस लगायत अन्य केही खेलको प्रतिस्पर्धा पनि सुरु भइसकेको छ । शनिबार भने टेबल टेनिस र सेलिङका केही खेलहरु भएका थिए ।

चिनियाँ राष्ट्रपति सी र ओलम्पकि काउन्सिल अफ एसिया (ओसिएका) कार्यवाहक अध्यक्षको आगमनपछि सुरु भएको उद्घाटन समारोहको सुरुमा ‘वाटर इन अटुमन ग्लो’ नामक ओपनिङ प्रदर्शन भएको थियो ।

त्यसपछि सहभागी ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए । सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए ।

एसियाडको टर्च बालेपछि अन्तिममा १९ औं एसियाडको अफिसियल गीत ‘द लभ वि सेयर’ को प्रस्तुति सँगै उद्घाटन समारोह सकिएको थियो । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए ।

कमलको फूलजस्तै आकारमा रहेको उद्घाटन स्थल बिग लोटसको नामले समेत चिनिन्छ । एसियाडको समापन पनि यही हुनेछ ।

कोभिड-१९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्ष ढिला सुरु भएको १९औं एसियाडमार्फत चीनले आफू सुरक्षित रहेको सन्देश दिन चाहेको छ ।

एसियाका लागि चीनको पूर्वी दक्षिण शहर हान्झाउमा आयोजना भएको १९औं एसियाडको नारा हार्ट टु हार्ट अर्थात मुटुदेखि मुटुसम्म भन्ने रहेको छ । एसियाडका लागि हान्झाउ शहर मज्जाले सिंगारिएको छ । हजारौँको संख्यामा स्वयंसेवकहरु खटाइएका छन् ।

उद्घाटन भएको शहर अलिबाबाका संस्थापक ज्याक माको जन्मथलो समेत हो । प्रविधिको शहरको रुपमा चिनिने हान्झाउलाई पहाड र तालको शहर समेत भनिन्छ । वेस्ट लेक यहाँको चर्चित ताल हो ।

अहिलेसम्मकै ठूलो एसियाड

चीनमा तेस्रो पटक आयोजना भइरहेको एसियाड एसियाली खेलकुदको इतिहासमै सहभागिताको हिसाबले सबैभन्दा ठूलो बनेको छ । यस पटक एसियाडमा एसियाका पूरै ४५ देश सहभागी छन् भने १२ हजार भन्दा धेरै खेलाडीको सहभागिता रहेको छ ।

एसियाको ४५ देशले प्रतिस्पर्धा गर्ने १९औं एसियाडमा ४० खेलमा १२ हजार ४१७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एसियाडको इतिहासमै कुनै पनि संस्करणमा सहभागी यो अहिलेसम्मकै सबैभन्दा धेरै खेलाडी संख्या हो ।

सन् १९५१ मा छिमेकी भारतको नयाँ दिल्लीबाट सुरु भएको एसियाड चीनले यसअघि सन् १९९० र २०१० मा आयोजना गरेको थियो । एसियाडमा ४० खेलको ४८१ इभेन्टहरु समावेश गरिएको छ । जसका लागि ५४ खेल स्थल प्रयोग हुनेछ भने १४ नयाँ निर्माण गरिएको छ ।

वीरबहादुर र निमाले बोके नेपालको झण्डा

उद्घाटन समारोहको मार्चपासमा वीरबहादुर महरा र निमा घर्ती मगरले नेपालको झण्डा बोकेका थिए । एक-एक महिला र पुरुष खेलाडीले मार्सपासमा झण्डा बोक्ने नियम अनुसार तेक्वान्दोका वीरबहादुर र उसुकी निमाले नेपालको झण्डा बोकेका हुन् । दुवैले २०१९ मा नेपालमा भएको १३ औं सागमा स्वर्ण जितेका थिए ।

यस पटकको एसियाडमा नेपालको सहभागिता विगतको भन्दा ठूलो छ । १९औं एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका छन् । जसमा १२७ महिला र १२६ पुरुष छन् ।

यसअघि २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाडमा नेपालबाट २०३ जना खेलाडी सहभागी थिए । २०१८ मा इन्डोनेसियामा भएको १८ औं एसियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडी सहभागी भएका थिए ।

नेपालले उद्घाटनअघि पुरुष भलिबल र महिला फुटबलमा प्रतिस्पर्धा गरिसकेको छ । पुरुष भलिबल टोली समूहको दुवै खेल हार्दै बाहिरिसकेको छ । महिला फुटबल टिम भियतनामसँग पहिलो खेलमा पराजित भएको छ ।

नेपालबाट महिला फुटबलसँगै महिला भलिबल, महिला ह्यान्डबल, महिला कबड्डी, पुरुष रग्बी, इस्पोर्ट र डान्स स्पोर्ट्समा पहिदो पटक एसियाडमा सहभागी भएका हुन् ।

१९५१ को नयाँ दिल्लीमा भएको पहिलो संस्करणमै सहभागिता जनाएको नेपालले १९५४ र १९६२ बाहेक हरेक एसियाडमा सहभागिता जनाउँदै आएको छ । सात दशक भन्दा लामो एसियाड इतिहासमा नेपालले सन् १९८६ देखिमात्र पदक जित्न सुरु गरेको थियो । नेपालले यो साढे तीन दशकमा अहिलेसम्म स्वर्ण जित्न सकेको छैन भने २ रजत र २२ कास्य गरी जम्मा २४ पदक मात्र जितेको छ ।

त्यसमा पनि तेक्वान्दो, बक्सिङ र कराते अनी प्याराग्लाइडिङले मात्र नेपाललाई पदक दिलाएको छ । पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा प्याराग्लाइडिङमा मात्र नेपालले एक रजत पदक जितेको थियो ।

यसपटकको प्रतियोगितामा प्याराग्लाइडिङ खेल समावेश छैन । १९औं एसियाडमा अहिलेसम्मकै धेरै खेलाडी उतारेको नेपालले केही खेलबाट पदक जित्ने आशा राखेको छ । जसमा मार्सल आर्टका तेक्वान्दो, बक्सिङ र करातेसहित नयाँ खेलहरु ब्रेकिङ डान्स, इ स्पोर्ट्स लगायतबाट पनि नेपालले पदक आशा गरेको छ ।

तस्वीरहरु : सिन्ह्वा/रासस

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?