+
+

त्यो सन्दिग्ध सुनौलो खाम

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८० असोज ७ गते १२:४१

काठमाडौंको जडीबुटीमा यात्रुको चापलाई कुइनाले ठेल्दै रत्नपार्क गन्तव्य लेखिएको बसमा चढें । शरीरलाई खुम्च्याएर भित्रतिर कोचिंदै गर्दा एकजना ज्येष्ठजन आफ्नो सिटबाट बुर्लुक्क उफ्रिएर बाहिरतिर हुत्तिंदै थिए ।

बसभित्रको मानव सागरमा पनि मेरै सम्मुखको सिट खाली हुनु मेरो सौभाग्य नै बन्यो । मैले दायाँबायाँ नहेरी भीडमा थिलथिलो बनेको शरीरलाई ज्येष्ठजनले छोडेको सिटमा लगेर थेचारिदिएँ । यो ८० को दशक छोड्दै गरेको भदौ महिनाको पहिलो हप्ताको कुनै दिन हो ।

मेरो सिटसँगै एउटा सुनौलो खाम चेपेर बसेका भद्र पुरुष मलाई नै हेरेर मस्कुराउँदै थिए । ढुंगा भएका मान्छे ! तरंगित चेतनाले यस्तै सोचिरहँदा म उनलाई ट्वाल्ल परेर हेरिरहें । उनी, अर्थात् ‘संदिग्ध शताब्दी’का लेखक श्रीबाबु कार्की ।

मैले उनको हातमा चेपिएको सन्दिग्ध लाग्ने सुनौलो खाम हेरेर प्रश्न गर्न खोज्दैथिएँ, मेरो मौन प्रश्नलाई बुझेरै उनले जवाफ फर्काए– मेरो पुस्तक ‘सन्दिग्ध शताब्दी’ चितवनका एक जना साहित्यकार दाजुलाई प्रेषित गर्न हिंडेको ।

झण्डै २० मिनेटको यात्रा क्रममा हामी धेरै गफियौं ‘सन्दिग्ध शताब्दी’कै सेरोफेरोमा । सुनधारा– शहीदगेट उनको गन्तव्य थियो, उनी उत्रिए । म अझ अगाडि बढें किनभने मेरो गन्तव्य रत्नपार्क थियो । अनि उनीसँगको गन्थनमन्थनपछि सम्झिएँ, मेरो गन्तव्य अर्को पनि छ, ‘सन्दिग्ध शताब्दी’ ।

मान्छे ढुंगा हुन्छन् ? के यस्तो कल्पना गर्नु मानवतामाथिको अन्याय हुँदैन ? अमर आत्माको कवज, मानव शरीर गलित वा खाग नभएसम्म चलायमान नै हुन्छ । ऊसँग चेतना हुन्छ, भावना हुन्छ, स्नेह हुन्छ, क्रोध र मोह हुन्छ । नौनी बन्न सक्ने मन लोहा बनेको पनि देखिन्छ । अनि अग्निको भर्भराउँदो ज्वालामा त्यही लोहा पग्लिएर कुनै आकारको लागि आँतुर बनेको पनि देखिन्छ । मान्छेको मन कहिल्यै स्थिर भएको देखिंदैन । अनि मनले बाँधिएको, मनलेनै कुँदिएको मानव शरीर कसरी ढुंगा हुन सक्छ ?

श्रीबाबुले किन आफूलाई ढुंगा बनाउन चाहे ? उनको शब्द, विचार, भावना, स्नेह, प्रेम, मोह कति लालयित छन् जीवनप्रति । फेरि कसरी हुन सक्छन् उनी ढुंगा । मृत्युको भयले तर्सायो होला उनलाई कुनै जंघारमा तर उनी ढुंगा होइन, सार्थक जीवनको सजीव मानव हुन् । उनी लेखक, निबन्धकार, विचारक, कवि, चिन्तक, चमत्कारी मानव हुन् । उनी आफैंले स्वीकारे त, म मानव हुँ, म मानव संस्करण नै बाँच्न चाहन्छु भनेर ।

कुनै एउटा बिहानी म मोबाइलमा विभिन्न अनलाइनका समाचार हेरिरहेको थिएँ । ६० किलो सुन, भुटानी शरणार्थी, भेप, ओम्नी, नक्कली नागरिकता…..बग्रेल्ती समाचार थिए विकृतिका । युग खापिंदै गएको शताब्दीहरुमा यस्ता सयौं–हजारौं सन्दिग्ध गतिविधि भइरहेका छन् । कति समाचारका विषय बने होलान्, कति सूचना नै सन्दिग्ध लागे होलान् ।

ढुंगा कल्पेका श्रीबाबुलाई सम्झिएँ फेरि । शताब्दीका यस्तै चोटिला सन्दिग्ध प्रहारहरुले कतै उनलाई ढुंगा बनाएको त होइन ? भावना, चिन्तन, विचार, दृष्टिकोण, सिद्धान्त, स्नेह, महकता भएका यी निबन्धकार थोरै प्रहारले पनि पिलन्धरे बन्छन् क्यार ! ‘सन्दिग्ध शताब्दी’मा श्रीबाबुले समयका यस्ता थुप्रै पेचिला विकृतिका खात चढ्दै–चढ्दै आफ्नो लेखनी ग्राफलाई फिबरले पारो उकाले झैं उकालिरहेका छन् । फेरि किन ढुङ्गा हुनुपर्‍यो त उनी ?

‘सन्दिग्ध शताब्दी’का कुनै पानाहरुमा मैले पढें कवि हरिभक्त कटुवाललाई–

बा,

पाठशाला जान्नँ म

इतिहास पढाइन्छ त्यहाँ

मरेका दिनहरुको

हो त, विकृतिका थाकहरुमा निर्वर्जित मनले एकथान मरेका दिनहरु खोज्न समय खर्चिन सक्छ । पानीका फोहरामा रंगिएका सप्तरंगी क्यान्भासले जीवनको पार्श्वमा मृत्युभय कोरिदिन सक्छ । अनि के समयअघि नै अतालिएर आफूलाई ढुंगा बनाउने ? त्यो पनि प्रेमिल र रसिक निबन्धकार श्रीबाबुले ।

उनले व्याख्या गरेका छन् प्रेमको शाब्दिक धुनलाई । र, भनिरहेका छन्– सार्थक र सर्वव्यापी प्रेम । लहरिएको, झाङ्गिएको र अनन्त–अनन्तसम्म फैलिएको प्रेम । घृणामा भेटिएको प्रेम र प्रेममा भेटिएको घृणा । अजर, अमर, अनुपम, अपार, अमूल्य प्रेम । आखिर के रैनछ प्रेममा, के रछ प्रेममा । फेरि आफ्नै व्याख्या विपरीत किन बन्दैछौ ढुङ्गा ? ए, श्रीबाबु । जवाफ छ तिमीसँग ? अहँ छैन जवाफ । त्यसैले त उनले स्वीकार गरे– म मानव हुँ, म मानव संस्करण नै बाँच्न चाहन्छु ।

यात्रा जीवनको सौन्दर्य हो । यात्राले प्रकृतिको उपहार, प्रविधिको विकास र विकार, समयको चाप, संयोगको चाँद सबैकुरा देखिन्छ, भोगिन्छ । अझ यात्रामा गाँउको विचित्रताले जीवनलाई विविधतामा रंगीन र रसिक बनाई दिन्छ । गाँउको सुन्दरता, कोमलता, हार्दिकता, आत्मीयता सबै अर्गानिक उपहार लाग्छ । मनको कोमलताले पस्किएको गुन्द्रुक र ढिंडो चौरासी व्यञ्जनभन्दा स्वादिष्ट, अपनत्वसहितको हार्दिकताले बिछ्याएको गुन्द्री र राडीको बिछ्यौना पाँचतारे होटलको भव्यताभन्दा सुकोमल । त्यसैले त उनी भन्छन्– ‘प्रिय गाँउ, फेरि उनको मनैभित्र आशंका छ । कतै आफ्नो प्रिय गाँउ ‘सन्दिग्ध शताब्दी’को भुँमरीमा भग्नावशेष बन्ने त हैन ।’

श्रीबाबुको चेतना आम मानिसको भन्दा तीव्र छ, तीष्ण छ, तिख्खर छ । त्यसैले म भन्छु उनी ढुंगा होइनन्, हुँदैनन् । म सुझाव दिन्छु ‘सन्दिग्ध शाताब्दी’का कुनै पनि पल, घडी, प्रहरहरुमा ढुङ्गाको कल्पना नगरौं । ढुङ्गाको चेपबाट चिहाउँदै गरेको सुन्दर वृक्ष-बिरुवाको कल्पना गरौं ।

काठमाडौंमा एक दिउँसो लेखक, साहित्यकार, अनुवादक सगुना दिदी (सगुना शाह)सँग भेट गर्ने तय भयो । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा साहित्यकार एलबी क्षेत्रीको कविता संग्रह ‘को हो त्यो मान्छे’ विमोचन कार्यक्रम स्थल हाम्रो भेट गन्तव्य थियो ।

सगुना दिदीसँग भेट भयो । कार्यक्रममा सहभागी भएर एलबी क्षेत्रीको कृतिकार मन्तव्यबाट मोहित पनि भएँ । कृतिबारे एलबी क्षेत्रीको सटिक शब्द प्रहार थियो– कसैको लेखनीमा समीक्षा गर्ने अधिकार कसले दियो ? त्यसैले उनको पुस्तक ‘को हो त्यो मान्छे’ कविता संग्रहमा साहित्यकार महेश पौड्यालले प्राक्कथन पस्किएका थिए । समीक्षा होइन ।

एलबी क्षेत्रीको कृतिकार मन्तव्य सुनिरहँदा सुरुसुरुमा मेरो कन्सिरी ताते झैं भएको थियो । समीक्षा गर्नै नहुने कस्तो कृति हो ? किन समीक्षा गर्न हुन्न ? सँगै सगुना दिदी हुनुहुन्थ्यो । मनका खुलदुली सुनाऊँ झैं लागेको थियो । पछि आफ्नै मनले भन्यो– हो त । एक जना लेखकको भावनात्मक शाब्दिक अभिव्यक्तिसहितको अक्षर हारलाई अर्को कसैले पढेकै भरमा अर्थ्याउने सामर्थ्य कसरी राख्न सक्छ । यो हुँदै नहुने, मिल्दै नमिल्ने कुरा हो । म सहमत भए कवि एलबी क्षेत्रीको विचारसँग ।

निबन्धकार श्रीबाबु कार्कीप्रति आभारी छु ‘सन्दिग्ध शताब्दी’को लागि । उनको पुस्तक घर्किएको समय र उघ्रिएको मौसम, दुवैतर्फ बेतोड बज्र लाग्छ । किनभने उनले विगत र आगत दुवैतर्फ शंकाको सही तेर्साएका छन् सन्दिग्ध मनले शताब्दी समय नापेरै ।

तर यो ‘सन्दिग्ध शताब्दी’को समीक्षा होइन, हुँदैन । किनभने म कवि, साहित्यकार एलबी क्षेत्रीको विचारसँग सहमत भइसकेको छु । श्रीबाबुको विचार, भावना, दृष्टिकोणको चिरफार गर्ने हैसियत म राख्दै राख्दिनँ । उनको शब्द हारमा मिलेका भावना र चेत विस्फोटको भेदन सहनेसम्म क्षमता मसँग छैन । ती शब्द र चेत विस्फोटको कुहिरीमण्डलभित्र कुहिरोको काग बन्नुबाहेक मसँग अरु क्षमता कसरी हुन सक्छ ।

‘सन्दिग्ध शताब्दी’ छ र शताब्दी सन्दिग्ध छ । समयसँग तैरिंदै–तैरिंदै प्रविधि र प्रकृतिमा खेल्ने मानव चेतनामा देखिने विकृत भावनाले हरेक शताब्दीलाई सन्दिग्ध बनाइरहेको छ, बनाइरहेको हुनेछ । त्यतिबेलासम्म जतिबेलासम्म मानवीय चेत साहित्यको शब्दहार र तह वृद्धिसम्म पुग्दैन ।

त्यसैले होला पछिल्ला साहित्यिक शब्दलहरमा प्रश्न र आशंकाका थाकहरु मात्र सजिएका छन् । ‘सन्दिग्ध शताब्दी’, ‘को हो त्यो मान्छे’ …. यस्तै यस्तै । सहमति, सहकार्य, सहअस्तित्व, सर्वस्वीकार्य जस्ता सम्भावनाका शब्दलहर समाधान सहित खोज्ने युग किन चाहँदैनन् साहित्यकारहरु ? के शब्दलाई गुजुल्टाएर सभ्यतालाई सद्गत गर्ने परिपाटी मात्र साहित्य हो ? जवाफ मसँग छैन । किनभने म साहित्यकार होइन ।

प्रश्नमा रुमल्लिने र आशंकामा अल्झिनेहरुले जवाफ दिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?