+
+

एसियाडको दोस्रो दिन : टेनिसमा प्रदीपको विजयी सुरुवात, अरु सबै पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १९:१२

७ असोज, हानझाउ । १९ औं एसियाली खेलकुद (एसियाड)को दोस्रो दिन लन टेनिसमा नेपालका प्रदीप खड्काले विजयी सुरुवात गरेका छन् । तर अन्य खेलमा नेपाली खेलाडीले खराब प्रदर्शन गरेका छन् ।

तेक्वान्दोमा नेपालका प्रेम बहादुर लिम्बु पदक नजिक पुगे पनि क्वाटरफाइनलमै पराजित हुँदै बाहिरिए ।

प्रदीपले हराए टिमोर लिस्टेका खेलाडीलाई

टेनिस अन्तर्गत पुरुष सिंगल्समा नेपालका प्रदीप खड्काले विजयी सुरुवात गरेका छन् । हानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले टिमोर लिस्टेका मेन्डेस एन्टेनियोलाई ६–०, ६–० को सेटमा पराजित गरे ।

जितपछि प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन् । अर्को चरणमा प्रदीपले सोमबार जापानका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् ।

आइबारै नेपाली खेलाडीले २ महिला सिंगल्स तथा १ पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका  थिए तर तीनै खेलमा नेपाली खेलाडीले हारको सामना गरे ।

महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा वाइ पाएका थिए ।

दोश्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसँग सोझो सेटमा ६–०, ६–० को ले पछि परिन् । माहिका दक्षिण कोरियाली खेलाडीसँग ६–०, ६–१ ले पराजित भइन् । पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग ६–२, ६–३ ले पराजित भए ।

सोमबार प्रदीपसँगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्ने छन् ।

त्यसै दिन अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन् ।

बक्सिङमा तीनै खेलाडी पराजित

बक्सिङमा नेपाली मुक्केबाज संगीता सुनार, दीपक श्रेष्ठ र मिनु गुरुङ आइतबार पराजित भएका छन् ।

आइतबार दिउँसो हानझाउ जिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत राउन्ड अफ ३२ को भिडन्तमा सुनारलाई भियतनामकी हा थि लिन्हले ५–० अंक ले पराजित गरेकी हुन् ।

त्यसैगरी पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दीपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंककै आधारमा पराजित भए ।

राउन्ड अफ ३२ को भिडन्तमा दीपकलाई टुराबेकले युनानिमोस डिसिजनको आधारमा पराजित गरेका हुन् ।

यस्तै महिला ५४ केजी मुनी जापानकी रिन्का किनोसितासँग अंकको आधारमा ५-० ले पराजित भइन् ।

इस्पोर्ट्समा सिधै क्वार्टरफाइनल पुगे पनि हार

इस्पोर्ट्स एरेना अफ भेलोरमा नेपाल थाइल्याण्डसँग क्वाटरफाइनलमा पराजित भएको छ ।

सिधै क्वाटरफाइनल खेलेको नेपाल थाइल्याण्डसँग २-० ले पराजित भएको हो ।

इस्पोर्ट्स अन्तर्गत फिफा क्वालिफिकेसन म्याचमा नेपालका समिर गुरुङ मकाउका हाङ साम तोङसँग २-१ ले पराजित भए ।

विजय सातौं स्थानमा

एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको पुरुष थाउलोमा नेपालका विजय सिन्जाली १४ खेलाडीमा सातौं स्थानमा रहे ।

उनले ९९.७०३ अंक स्कोर गरे । चीनका पियुएन चन सुन ९.८४० स्कोरसहित पहिलो स्थानमा रहे ।

महिला ताइजिक्वानमा नेपालका सबिता राई ८.६२८ अंकसहित अन्तिम स्थानमा रहिन् ।

सान्डातर्फ नेपालका चार खेलाडीले बाई पाउँदै सिधै क्वाटरफाइनल खेलेका थिए । तर सबै क्वाटरफाइनलमै पराजित भए ।

महिला ५२ केजी तौल समूहमा नेपालकी एलिना चौधरी इरानकी एलाहेअ मानसोर्यानसँग डब्लुपिडीको आधारमा पराजित भइन् ।

यस्तै पुरुष ५६ केजीमा नेपालका रोहित चुनारो कीर्गिस्तानका अभाजवेक अमानबेकोभसँग २-० ले पराजित भए ।

पुरुष ६० केजीमा नेपालका मंगलप्रसाद थारु  कीर्गिस्तानकै अस्कात ओमुर्जाकोभसँग

यसैगरी पुरुष ७० केजीमा नेपालका पदम राई लाओसका फोनह साइबोउनफेङसँग पराजित भए ।

पदक नजिक पुगेर पनि चुके प्रेमबहादुर लिम्बु

पुरुषतर्फ नेपालका प्रेम बहादुर लिम्बु पदक नजिकबाट चुके ।

अन्तिम १६ मा पाकिस्तानका अक्दुस उल्लाह क्वादिरलाई पराजित गरेका प्रेम क्वाटरफाइनलमा भने फिलिपिन्सका प्याट्रिक किङ पेरेजसँग पराजित हुँदै बाहिरिए ।

उक्त खेल जितेका भए प्रेमले सेमिफाइनल पुग्दै कम्तीमा कास्य पदक पक्का गर्ने थिए ।

यस्तै महिला पुम्सेमा नेपालकी स्पस्तिका तामाङ अन्तिम १६ मै पराजित भए ।

जुडोका विकास पराजित

जुडोमा पहिलो दिन पुरुष ६० केजीमुनी नेपालका विकास विकले अन्तिम ३२ मा कम्बोडियाका भोलोडाइमर गुचकोभलाई इप्पोनका आधारमा पराजित गरेका थिए ।

तर अन्तिम १६ मा हङकङका मार्टिन लाउसँग इप्पोनकै आधारमा पराजित भए ।

यस्तै महिला ५२ केजीमुनी देवकी माया श्रेष्ठ अन्तिम १६ को खेलमा मंगोलियाकी सोसोरबाराम खागभासुरेनसँग इप्पोनको आधारमा पराजित भइन् ।

एलेक्स आफ्नो हिटमा अन्तिम स्थानमा

पौडीमा आइतबार नेपालका एलेक्स शाह आफ्नो हिटमा अन्तिम भएका छन् ।

पुरुष १०० मिटर फ्रिस्टायलमा हिट ३ मा एलेक्स आठौं (अन्तिम) स्थानमा रहे । उनले ५४.१४ सेकेण्डको समय निकाले ।

रग्बीमा फराकिलो हार

पुरुष रग्बी सेभेन्समा नेपालले पहिलो दिन तीनवटा खेलमा फराकिलो हार बेहोर्‍यो ।

समूह डी मा रहेको नेपाल पहिलो खेलमा युएईसँग ५५-७ ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा आयोजक चीनसँग ६५-० ले पराजित भयो ।

समूहको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ४१-० ले पराजित भयो ।

सुटिङामा दुवै खेलाडीको खराब प्रदर्शन

१० मिटर महिला एअर राइफलमा नेपाली दुवै खेलाडीको प्रदर्शन खराब रह्यो ।

नेपालकी श्लिसा भण्डारी ६१६.९ स्कोरसहित ४७औं स्थानमा रहँदा सुस्मिता नेपाल ६०७.९ अंकसहित ५८औं स्थानमा रहिन् ।

ह्याण्डबलमा चीनसँग पराजित

महिला ह्यान्डबल अन्तर्गत समूह बी को प्रारम्भिक चरणमा नेपाल आयोजक चीनसँग फराकिलो अन्तरले पराजित भएको छ ।

जेजियाङ युनिभर्सिटी जिओसान जिम्न्यासियममा भएको खेलमा चीनले नेपाललाई ५७-१० ले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?