+
+

१९औं एसियाड : तेक्वान्दोमा ३ खेलाडी पराजित, गोविन्दको मिश्रित प्रदर्शन

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज ९ गते ९:५४

९ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत चौथो दिन मंगलबार नेपाली तेक्वान्दो खेलाडीको खराब प्रदर्शनले निरन्तरता पाउँदा तीन खेलाडी पराजित भएका छन् ।

पदक जित्ने आशा गरिएको तेक्वान्दोबाट आधाभन्दा बढी खेलाडीको प्रतिस्पर्धा सकिंसक्दा नेपालको प्रदर्शन अपेक्षा गरे अनुसार हुन सकेको छैन ।

मंगलबार लिलान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको खेलमा नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनि तौल समूहमा अन्तिम ३२ को खेल जिते पनि अन्तिम १६ मा पराजित भए ।

उनले अन्तिम ३२ मा टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका थिए ।

अन्तिम १६ को खेलमा पनि उनले थाइल्याण्डका बानलुङ टुबतिम्दाङविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै कडा टक्कर दिएका थिए । तर थोरैले मात्र पछि परे । पहिलो राउण्डमा १४-१२ ले पछि परेका गोविन्द दोस्रो राउण्डमा ८-७ ले पछि पर्दा २-० ले पराजित हुँदै बाहिरिएका हुन् ।

यसैगरी मंगलबारै भएको महिला ५३ केजीमुनिको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २-० ले  पराजित भइन् । आयषा पहिलो राउण्डमा १७-५ र र दोस्रो राउण्डमा १३-० ले पछि परिन् ।

महिला ५७ केजीमुनि अन्तिम १६ कै खेलमा सन्ध्याकुमारी सिंह लाइतितिए आउनसँग २-० ले पराजित भइन् । सन्ध्या पहिलो राउण्डमा १४-० र दोस्रो राउण्डमा १७-३ ले पछि परिन् ।

यसअघि नै तेक्वान्दोका चार खेलाडी बाहिरिसकेका छन् ।

पुरुष पुम्सेमा प्रेमबहादुर लिम्बु र महिला ग्योरोगीतर्फ अन्जली तामाङले एक-एक खेल जिते पनि त्यहाँबाट अगाडि बढ्न सकेनन् । अन्य खेलाडी भने पहिलो राउण्डमै पराजित भएका थिए ।

तेक्वान्दोबाट यसपटक नेपालका कुल ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा ७ खेलाडीको प्रतिस्पर्धा सकिसकेको छ ।

अब तेक्वान्दोमा तीन पुरुष र एक महिला गरी चार खेलाडीको प्रतिस्पर्धा बाँकी छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?