+
+

अर्थतन्त्र सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको मात्रै भएको भाष्य निर्माणले चुनौती बढ्यो : गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १८:१३

९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको मात्रै भएको भाष्य निर्माण गरिँदा चुनौती बढेको बताएका छन् ।

मंगलबार गभर्नर अधिकारीलाई भेट्न गएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) का प्रतिनिधिसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकप्रति सबै क्षेत्रको आशा र भरोसा बढ्दै गएको बताए ।

तंग्रिदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरु उत्तिकै गम्भीर र जिम्मेवार हुन आवश्यक रहेको उनले औल्याए ।

गभर्नर अधिकारीले बाह्य क्षेत्रका सूचकहरुमा सन्तोषजनक सुधार देखिंदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किंदै गरेको बताए ।

उनले आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्यांकनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरु अपनाउँदै जाने बताए ।

छलफलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रियरुपमा देखा परेका संकटका बेला राष्ट्रिय अर्थतन्त्र, आम उद्यम व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति उनले चासो व्यक्त गरे ।

छलफलमा सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले चालु आर्थिक वर्षको पहिलो महिनाको अर्थतन्त्रका तथ्यांकमा बाह्य स्थितिमा उल्लेखनीय सुधार देखिएको बताए ।

तर, आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पूँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फिति जस्ता क्षेत्रहरुमा अपेक्षित सुधार नदेखिंदा अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेको भन्दै गभर्नरको ध्यानाकर्षण गरिएको उनले बताए ।

विषमपूर्ण अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने र समग्र आर्थिक क्रियाकलापहरुले गतिशीलता प्राप्त गर्नेमा अध्यक्ष गाल्यानको जोड थियो ।

उनले बाफियाको व्यवस्था बमोजिम संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था, चालु पूँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था गर्नुपर्ने बताए ।

यस्तै बैंक तथा वित्तीय संस्थाको बढ्दो सञ्चालन खर्च र साँघुरिंदो लाभांश लगायतका विषयमा गभर्नरसमक्ष लिखित सुझाव पत्र पेश गरिएको उनले बताए ।

सीबीफीनको पहलमा सातै प्रदेशमा बिजनेस समिट आयोजना हुन लागेको र उक्त समिटमा नेपाल राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गर्दै आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु नामक बहुपयोगी अध्ययनमूलक पुस्तक गभर्नरलाई हस्तान्तरण गरिएको उनले बताए ।

विगतमा छिमेकी राष्ट्रहरुको अर्थतन्त्र चरम संकटमा पर्दै गर्दा पनि नेपाल राष्ट्र बैंकको सुझबुझपूर्ण कदमले नेपालको अर्थतन्त्र जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?