+
+

चितवनका गैंडा पुष्पा र अञ्जलीलाई कोशी टप्पुमा लगियो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १४:४२
कोशी टप्पु लगिएका दुई गैंडा पुष्पमा र अञ्जली ।

१० असोज, काठमाडौं । चितवनका दुई पोथी गैंडा पुष्पा र अञ्जली बुधबार कोशी टप्पु वन्यजन्तु आरक्षमा सारिएको छ ।

पुष्पा र अञ्जलीलाई चितवन राष्ट्रिय निकुञ्जबाट दुई अलग खोरमा राखेर कोशी टप्पु पुर्याइएको थियो । जसलाई वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसहित विभागका कर्मचारीको उपस्थितिमा आरक्ष कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

कोशी टप्पु पुर्‍याइएका पुष्पा र अञ्जलीलाई बस्नको लागि आरक्ष हातामा १६ फिट अग्लो र ८५ फिट लामो इन्क्लोजर निर्माण गरिएको छ । पानी सहितको घाँसे मैदान क्षेत्रमा रहने गैँडा आरक्ष सुरक्षामा खटिएको नेपाली सेनाको प्रत्यक्ष निगरानीमा रहनेछन् ।

कोशी टप्पु पुर्‍याइएका पुष्पा र अञ्जली दुवै टुहुरा बच्चा हुन् । उनीहरु दुवैको बच्चा अवस्थामा उद्धार गरिएको थियो । सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा मानिसको माया र ममतासँगै हुर्किएर बढेकी पुष्पाको उमेर ३ वर्ष ८ महिना र अञ्जलीको उमेर २ वर्ष ५ महिनाको रहेको छ ।

वंश विस्तारको योजना अनुसार कोशी टप्पु पुर्‍याइएका दुई पोथी गैंडा प्रजनन योग्य भएपछि भाले गैँडा ल्याइने आरक्षको कार्यालयले जनाएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत रमेश यादवका अनुसार पोथी गैँडा ४ वर्ष र भाले गैडा ६ वर्ष पुगेपछि प्रजनन योग्य हुन्छन् ।

पुष्पा र अञ्जलीलाई छोड्न कोशी टप्पु पुगेका वनमन्त्री महतोले मानिससँगको घुलमिल रुचाउने पुष्पा र अञ्जलीका लागि कोशी टप्पु उपयुक्त बासस्थान भएको बताए ।

मन्त्री महतोका अनुसार आरक्षमा लगिएका दुई पोथी गैंडा वंश विस्तारका लागि ल्याइएको हो । केही समयमै काठमाडौंबाट भाले गैंडा कोशी टप्पु ल्याइने समेत उनले जानकारी दिए ।

मन्त्री महतोले कोशी टप्पुलाई अर्नासँगै हात्ती र गैंडा अवलोकन समेतको आकर्षक गन्तव्य बनाउने सरकारको योजना रहेको बताए । उनले आरक्षमा छिट्टै बाघ समेत स्थानान्तरण गरी ल्याउन अध्ययन थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?