+
+

गृहका कर्मचारीलाई कुर्सीमै १५ मिनेट योग अनिवार्य

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० असोज ११ गते ५:१०
ध्यान विज्ञान शिविरमा गृहमन्त्री र प्रहरी अधिकारीहरू

११ असोज, काठमाडौं । गृह मन्त्रालयले बुधबार आफ्ना कर्मचारीहरुलाई विहान कार्यालय समय सुरु भएपछि सुरुको १५ मिनेट योग अभ्यास गर्न परिपत्र गरेको छ ।

मन्त्रालयका महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने परिपत्रमा उल्लेख छ । यसले कार्य क्षमता बढाउने मन्त्रालयको तर्क छ ।

मन्त्रालयले दैनिक योग गर्न कुनै विशिष्ट विधि तोकेको छैन । कर्मचारीहरु नै दैनिक कहाँ र कसरी योग गर्ने हो भन्ने अलमलमा छन् ।

धेरैले भने यो निर्णयको औचित्य र प्रभावकारिता माथि प्रश्न उठाएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जोडबलमा शनिबार मात्र सशस्त्र प्रहरी बलको हलमा राष्ट्रपति, प्रधानन्यायाधीश समेतलाई उपस्थित गराएर एकदिवसीय ध्यान विज्ञान शिविर गरिएको थियो । त्यसकोे चार दिनपछि मन्त्रालयले महाशाखाहरुमा कार्यरत अधिकृत स्तरका कर्मचारीले विहान १०ः०० देखि १०ः१५ बजेसम्म १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने परिपत्र गरेको छ ।

मन्त्रालयका अनुसार मन्त्रालय, विभाग र उपत्यकाभित्रका कार्यालयहरुका कर्मचारीहरु शनिबार एकदिवशीय ध्यान विज्ञान कार्यक्रममा सहभागी भइसकेका छन् । अब अरु कार्यालयका कर्मचारीलाई पनि ध्यान विज्ञान कार्यक्रम राख्ने र त्यसपछि मन्त्रालयमा जस्तै १५ मिनेट योग अभ्यास गराउने तयारी छ ।

मन्त्रालयका सचिव दिनेश भट्टराई ध्यान र योगले स्वस्थ मन र स्वस्थ शरीर बनाउने भएकाले कर्मचारीमा कार्य क्षमता बढाउन यस्तो निर्णय गरिएको बताउँछन् । ‘यसले राम्रो नतिजा दिन्छ भन्ने अपेक्षा छ,’ उनले भने, ‘स्वच्छ मन र स्वस्थ र जाँगरिलो शरीरले सेवाग्राहीलाई सन्तुष्टि दिने उद्देश्य हो ।’

कतिपय पूर्व प्रशासक भने निजामती कर्मचारीहरुलाई योग गर्न उत्प्रेरित गर्नु सही भए पनि कार्यालय समयभित्र नै गर्न निर्देशन दिनुलाई उचित मान्दैनन् ।

पूर्वसचिव बिमल वाग्ले योग गर्न भन्नु आफैंमा नराम्रो मान्दैनन् । तर, उनको प्रश्न छ, ‘के अहिलेको अवस्थामा गृह प्रशासनको प्राथमिकता यस्तो विषय हुनुपर्ने हो र ?’ चाडबाडको मुखमा फाटफुट रुपमा अनुगमन हुँदा हरेकजसो पसल, होटलमा अखाद्य वस्तु र विषादियुक्त तरकारी भेटिएको भन्दै पूर्वसचिव वाग्लेले कर्मचारीलाई योग गराउनुको साटो मानवस्वास्थ्य प्रतिकुल हुने गरी बजारमा भइरहेका गतिविधि नियन्त्रणमा ध्यान दिनुपर्ने बताए ।

विहान खाना खाएर मन्त्रालयमा पुगेको कर्मचारीलाई १५ मिनेट योग गर्न भन्नु व्यवहारिक समेत नहुने उनी बताउँछन् । ‘सेवाग्राहीलाई पर्खाएर कर्मचारीहरुले योग गरेर बस्ने ?’ उनी भन्छन्, ‘यसकै आडमा बरु करारमा योग गुरु राख्नेदेखि तरुन्तै हुने सेवाग्राहीको काम रोक्ने विकृति मौलाउन सक्छ ।’

अर्का पूर्व सचिव शारदाप्रसाद त्रिताल भने कर्मचारीले योग गरेर मात्रै काम सुरु गर्ने विषयलाई सकारात्मक मान्छन् ।

तर योगका लागि छुट्याएको सयम योग गर्न नै खर्च हुने सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ । ‘कार्यालय आएपछि कर्मचारीले आफूलाई अलर्ट बनाउने हो, जेरो आवरमा सचिव वा महाशाखा प्रुमखकहाँ बसेर छलफल गरेर काम थाल्ने परम्परालाई योगतर्फ ढाल्न खोजिएको होला, यो राम्रो कुरा हो’ उनी भन्छन्, ‘त्यसले १० नै बजे आउने सेवाग्राहीलाई केहीबेर असर भने पर्नसक्छ ।’

योग अनिवार्य गर्दा कर्मचारीहरु १० बजे कार्यालयमा पुग्ने वातावरण पनि बन्ने उनको तर्क छ । ‘राम्रो निर्णय गरेर मात्रै हुँदैन, त्यसलाई दरिलो कार्यान्वयन दिएर स्थायित्व दिनु पनि महत्वपूर्ण हुन्छ,’ उनी भन्छन्, ‘योगका लागि दिएको समय कर्मचारीको व्यक्तिगत काममा खर्च भयो भने त नतिजा आउँदैन ।’

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पनि १५ मिनेट योग गरेर मात्र काम थाल्ने निर्णय वैज्ञानिक र नतिजामुखी हुने विश्वास लिएको बताए । उनको दाबी छ, योगले समग्र गृह मन्त्रालयको कार्यसम्पादन स्तर बढाउन सघाउँछ ।’

कुर्सीमै गर्ने योग सिकाएका छौं, राम्रो नतिजा आउँछ : गृहमन्त्री

मन्त्रालय मातहतका कर्मचारीलाई काम सुरु गर्नुअघि योग गर्न निर्देशन दिइएको छ, यस्तो आवश्यकता किन महसुस भयो ?

योग आफैंमा स्वरुपान्तरणको प्रमाणित वैज्ञानिक कुरा हो । यसलाई प्रयोगमा ल्याउँदा मान्छेमा स्वजागरण, आत्मनुशासन, काम गर्ने ऊर्जा, जाँगर, ताजगी, सकारातमक सोच र आत्मविश्वास बढ्छ । हामीले कार्यालय समयभन्दा बाहेकमा पनि कर्मचारी–प्रहरीलाई योग गर्न प्ररित गरेका छौं ।

कार्यालय आएपछि कम्तीमा १५ मिनेट योग गरेर काम थाल्नु वैज्ञानिक र नतिजामुखी हुन्छ भन्ने हाम्रो विश्वास हो । योगले समग्र गृह मन्त्रालयको कार्यसम्पादन स्तर नै बढाउन यसले सघाउँछ ।

गृह प्रशासनले त कर्मचारीलाई योग गराउनभन्दा मानव स्वास्थ्य प्रतिकुल बजारमा देखिएका विकृतिहरु हटाउन महत्व दिएर काम गर्ने कुरा पो प्राथमिकतामा दिनुपर्ने थियो । हैन र ?

यो निर्णयले हाम्रा काम र सेवालाई नै नतिजामुखी बनाउन सघाउने हो । योगले कर्मचारीहरुमा स्वजागरण र देश र जनताप्रतिको उत्तरदायित्व बढाउन सहयोग गर्छ र यसले नतिजामा नै सकारात्मक प्रभाव पार्छ ।

हामीले प्राशसनिक कर्मचारी र प्रहरी जनशक्ति दुबैमा यसलाई लागु गर्न चाहेका छौं । अहिले त मन्त्रालय र विभागसहित काठमाडौंका कार्यालयहरुलाई मात्रै योग ध्यान अभ्यासको प्रशिक्षण दिएका छौं । क्रमशः यसलाई भविष्यमा प्रदेश र जिल्लामा पनि लैजान्छौं । गृह प्रशासन अन्तरगतका सबैलाई यसमा सबैलाई अभ्यस्त पार्ने योजनामा छौं ।

योगले मान्छेलाई आराम र स्फूर्ति दिन्छ । तनाव कम गर्छ । यो विश्वव्यापी रुपमै प्रमाणित कुरा हो । त्यसैले विदेशका ‘बिग कर्पोरट हाउस’ले पनि कार्यालयमा काम सुरु गर्नुअघि योग ध्यान अनिवार्य थालेका छन् ।

तर, यसो गर्दा कार्यालयमा १० बजे पुगेका सेवाग्राहीलाई कर्मचारीले ‘१५ मिनेट पर्खिनुस्, म योग गर्छु’ भन्ने अवस्था आउने भयो नि त ?

त्यसलाई हामी मिलाउँछौं । योग गर्दा सेवाग्राहीलाई केही समय कुर्नु पनि पर्ला । तर, त्योभन्दा कयौं गुणा बढी राम्रो नतिजा त्यही १५ मिनेटको योगले दिलाउँछ । यसले कर्मचारीलाई दिनभर नै सक्रिय राख्न प्रेरित गर्छ ।

सेवाग्राहीले नै त्यही योगको सकारात्मक प्रभावले सेवामा सुधारको महसुस गर्ने अवस्था बन्छ । १५ मिनेटको योगले सेवामा १५ गुणा बढी सकारात्मक सुधार गर्छ ।

तर, कर्मचारीले कार्यालय पोशाकमै कार्यालयमा योग गर्ने कुरा कति व्यवहारिक होला ?

सबैले योगको महत्व र विशष्टता नै बुझ्नुपर्‍यो । योग गर्न ठाउँले समस्या गर्दैन, कुर्सीमै बसेर पनि गर्न सकिन्छ । हामीले कर्मचारीलाई कुर्सीमै बसेर गर्न मिल्ने योग आसन पनि सिकाएका छौं ।

हामीले योग मात्रै भनेका छैनौं, ध्यान पनि हो । निद्रा बेहोसीसहितको हो, तर ध्यान होस सहितको आराम हो । यसले त कर्मचारीलाई दिनभर सेवामा तन्दरुस्त र ध्यानपूर्वक काम गर्न सहयोग गर्छ । यसले त कर्मचारी प्रशासनमा रहेका ढिलासुस्ती र घुसखोरी निरुत्साहित गर्न पनि सहयोग गर्छ । सरकारको सेवाप्रवाहमा सधुार ल्याउन भूमिका खेल्छ ।

तर, भ्रष्टाचार कम गर्न भन्दै ‘भ्रष्टाचार गर्दिनँ’ भनेर सपथ खाएपछि काम सुरु गर्ने विगतको अभियान भन्दा यो कसरी फरक हुनसक्ला ?

त्यो हैन, योगले त व्यक्तिको व्यभिचार र तनाव नियन्त्रणमा सघाउ पुग्छ । मान्छेलाई ‘स्ट्रेस फ्रि’ राख्न सहयोग गर्छ । यो एकदमै प्राक्टिकल कुरा हो । वैज्ञानिक रुपमा विकसित विधि हो ।

ध्यान–योगको महत्वलाई बुझेर नै अहिले पश्चिमाहरुले व्यापक रुपमा अगांलिरहेका छन् । यसलाई यहाँ ‘रिभाइभ’ गर्न पनि हाम्रो कदमले सहयोग पुग्छ । सबैले बुझ्नुपर्छ, हामीले भनेको ध्यान र योगमा कुनै धर्म, ग्रन्थ, पन्थ, सम्प्रादाय वा इश्वरको नाम लिइन्न । त्यसैकारण यसले कर्मचारीको उत्साह र सेवाप्रवाहको हालको शैलीमा नै ठूलो परिवर्तन ल्याउँछ ।

(उप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश)

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?