
१२ असोज, काठमाडौं । हाइटेक विधि प्रयोग गरेर बागमती प्रदेश अधिवेशन सुरु गरेको नेकपा एमालेले नेतृत्व चयनमा भने ढिलाइ गरिरहेको छ । सहमतिका नाममा मतदानमा ढिलाइ हुँदा कार्यकर्ताहरु अन्योलमा परेका छन् ।
यही असोज ८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपमा ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर अधिवेशन उदघाटन गरेका थिए । त्यसपछि सुरु भएको बन्दसत्रमा नेतृत्व चयनमा सहमति नजुट्दा अधिवेशन सम्पन्न हुन ढिलाइ भइरहेको छ ।
प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल उम्मेदवार छन् । उनीहरुबीच सहमतिको प्रयास विफल भएपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज मतदान गर्ने तयारी छ । मतदानमा विद्युतीय मेसिन प्रयोग गरिने नेताहरुले बताएका छन् ।
मतदानको भाका पटक–पटक सारिएको छ । अहिले फेरि दिउँसो एक बजे मतदान सुरु गर्ने भनिएको छ ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्न भन्दै नेताहरुले मतदानको प्रक्रिया अघि नबढाइदिँदा प्रतिनिधिहरु केन्द्रीय कार्यालय च्यासलमा कुरेर बसिरहन बाध्य छन् ।
पार्टी केन्द्रीय कार्यालय परिसरमा उम्मेदवारका फोटा अंकित प्रचार सामग्रीहरु छरपस्ट छन् । प्रचार सामग्रीहरु चौरमा छरिएका र केही गेटमा झुण्डाइएको देखिन्छ । कतिपय मतदान कतिबेला सुरु हुन्छ भन्दै नेताहरुलाई फोन सम्पर्क गरिरहेको देखिन्छ ।
प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालको दुई जनाको मात्र उम्मेदवारी कायम भए पनि उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जना प्रतिस्पर्धामा छन् ।
उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला तथा सचिव पदमा नवराज सिलवाल र हस्तबहादुर पण्डितको उम्मेदवारी कायम छ ।
आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि बढाउनुपर्ने थियो । तर बन्दसत्र समयमा शुरु हुन सकेन । ढिलोगरी शुरु भएको बन्दसत्रले राजनीतिक, सांगठनिक र लेखा प्रतिवेदन पारित गरेर नेतृत्व चयन प्रक्रिया केन्द्रीय कार्यालय च्यासलमा गर्ने निर्णय गर्यो । तर च्यासल पुगेपछि पनि नेतृत्व चयन प्रक्रिया लगातार प्रभावित हुँदै आएको छ ।
बिहीबार बिहान ८ बजेदेखि मतदान शुरु हुने भनिए पनि सुरु हुन सकेन । शुक्रबार बिहान १० बजे मतदान सुरु गर्ने भनियो । १० बजे पनि सुरु हुन नसकेपछि अहिले फेरि दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया 4