
२२ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेसँग भएको सात बुँदेको कार्यान्वयनमा चुकेको टिप्पणी गरेका छन् ।
सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘सात बुँदे सम्झौतामा यो सरकार बनेको हो । सात बुँदेका कुराहरू जुन छन्, संविधान पुनरावलोकन गर्ने कुरा, आर्थिक सुधार, भ्रष्टाचार अन्त्य गर्ने कुरा, दण्डहिनताको अन्त्य र सुशासनको कुरामा सरकार चुकेको छ,’ उनले भने ।
संविधान पुनरावलोकन गर्न संसद्भित्र भएका सबै दलको प्रतिनिधित्व गरेर सरोकारवालालाई समावेश गरेर अघि बढ्न सक्नुपर्ने उनले बताए ।
उनले आफ्नो पार्टीमा सरकारबारे कुनै समस्या नभएको पनि जिकिर गरे ।
‘नेपाली कांग्रेसभित्र कुनै समस्या छैन । त्यो उहाँ (एमाले) हरूलाई लागेको छ । कति मिडियाले गलत प्रचार पनि गर्छन् । यो सरकारलाई असफल हुने छुट छैन,’ कोइरालाले भने ।
उनले सरकारमा सँगै रहेका दलहरूबीच पालिकास्तरसम्म संयन्त्र बनाउने निर्णय गलत भएको पनि बताए ।
‘बाहिर बसेका संयन्त्र बनाउन हुँदैन । डेमोक्रेटिक सिस्टममा जाने हो भने सरकारभित्र संयन्त्र बनाउनुस्, बाहिरको संयन्त्र बनाउने होइन,’ कोइरालाले भने, ‘पालिकासम्म संयन्त्र बनाएर जाने भनेर नेपाली कांग्रेस र एमालेले निर्णय गरेको छ, त्यो गलत छ भनेको हो ।’
प्रतिक्रिया 4