+
+

च्याट जिपिटीको उत्तरमा अब रियलटाइम जानकारी पनि, तर यस्ता छन् जोखिम

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १३:२७

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको रुपमा निकै लोकप्रिय बनिरहेको च्याट जिपिटीमा अब प्रयोगकर्ताहरुले समसामयिक विषयहरु सहितका अद्यावधिक जानकारी प्राप्त गर्न सक्ने भएका छन् ।

माइक्रोसफ्टको समेत लगानी रहेको च्याट जिपिटीको मातृ संस्था ओपन एआईले अब प्रयोगकर्ताले च्याट जिपिटीमा समसामयिक जानकारीहरु समेत प्राप्त गर्ने जनाएको हो ।

यसअघि च्याट जिपिटीमा सन् २०२१ को सेप्टेम्बरसम्मका डेटाहरुको आधारमा मात्र जानकारी उपलब्ध थिए ।

अब भने प्रिमियम प्रयोगकर्ताहरुले च्याट जिपिटीमा समसामयिक घटनाहरुका बारेमा सोध्न तथा समाचारहरु समेत प्राप्त गर्न सक्नेछन् । साथै यो फिचर निकट भविष्यमै सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइने ओपन एआईले जनाएको छ ।

केही दिनअघि मात्रै कम्पनीले च्याट जिपिटीमा प्रयोगकर्ताहरुले अडियो संवाद गर्नसक्ने फिचर थप गर्न लागिएको खुलासा गरेको थियो ।

स्मरण रहोस् च्याट जिपिटी लगायतका च्याटबटहरुले प्रयोगकर्ताका प्रश्नहरुको मानवीय शैलीको स्वभाविक उत्तर सिर्जना गर्नका लागि ठूलो परिमाणका डेटाहरुको उपयोग गर्दछन् ।

च्याटबटका कारण इन्टरनेट प्रयोगकर्ताले कुनै पनि जानकारीका लागि अनलाइन सर्च गर्ने तरिकामै नाटकीय परिवर्तन ल्याइदिएका छन् ।

च्याट जिपिटीले गलत जानकारी पनि दिन सक्ने जोखिम रहेको भन्दै ओपन एआईमाथि अमेरिकी नियामक निकायहरुले निगरानी गरिरहेका छन् ।

तर भाइरल च्याटबटको रुपमा रहेको च्याट जिपिटीको ज्ञान भने निश्चित समयसम्म मात्र सीमित थियो । यसका डेटाहरु सन् २०२१ को सेप्टेम्बरसम्म इन्टरनेटमा उपलब्ध जानकारीहरुबाट मात्र लिइएको हुन्छ । जसका कारण यसले रियल टाइमका डेटाहरुको आधारमा अद्यावधिक जानकारी उपलब्ध गराउन सक्दैनथ्यो ।

त्यसैले यदि तपाइँले च्याट जिपिटीको निःशुल्क भर्सनमा टर्कीको पछिल्लो भूकम्प वा डोनाल्ड ट्रम्प अहिले जीवितै छन् कि छैनन् भनेर सोध्नुभयो भने यसले जवाफ दिन्छ– माफ गर्नुहोला, मैले रियल टाइमको जानकारी दिन सक्दिनँ ।

यद्यपि कतिपय प्रयोगकर्ताका लागि भने च्याट जिपिटीमा समसामयिक घटना समेतको अद्यावधिक जानकारी उपलब्ध गराउन थालिएको छ ।

युनिभर्सिटी कलेज अफ लण्डनका प्राध्यापक थोमस चामोरो प्रिम्युजिक भन्छन्– यदि च्याट जिपिटीमा उक्त फिचर वा क्षमता भएन भने प्रयोगकर्ताहरु अद्यावधिक जानकारी तथा समाचारका लागि गुगल, ट्वीटर वा कुनै सञ्चार माध्यममा भर पर्नु पर्दछ । अब भने च्याट जिपिटीलाई नै पछिल्ला समाचार, गसिप तथा समसामयिक घटनाहरुको जानकारीको स्रोतको रुपमा प्रयोग गर्न सकिनेछ ।

यद्यपि इन्टरनेटमा उपलब्ध अनेक विवरणहरुको आधारमा तत्कालै अद्यावधिक जानकारीयुक्त सूूचना प्रवाह गर्नु वा प्रश्नहरुको जवाफ उपलब्ध गराउनु च्याट जिपिटीका लागि चुनौतिपूर्ण रहेको र यसले च्याट जिपिटीबाट गलत वा भ्रमपूर्ण तथा अपूर्ण जानकारीहरु आउनसक्ने खतरा पनि रहेको उनले बताए ।

उसो त च्याट जिपिटीले गलत जानकारी पनि दिन सक्ने जोखिम रहेको भन्दै ओपन एआईमाथि अमेरिकी नियामक निकायहरुले निगरानी गरिरहेका छन् ।

यो वर्षको सुरुतिर अमेरिकाको संघीय वाणिज्य आयोगले ओपन एआईलाई एक पत्र लेख्दै च्याट जिपिटीले मानिसको प्रतिष्ठामाथिको खतरालाई कसरी सम्बोधन गरेको छ ? भन्ने विवरण उपलब्ध गराउन आग्रह गरेको थियो ।

त्यसको जवाफमा कम्पनीका प्रमुख कार्यकारीले यस विषयमा आयोगसँग सहकार्य गर्न आफू तयार रहेको बताएका थिए ।

हुनत च्याट जिपिटीले तत्कालको समयसम्मकै डेटा सर्च नगर्नुको आर्थिक कारण पनि छ । किनकि च्याट जिपिटीलाई प्रत्येक प्रश्नको जवाफ उपलब्ध गराउँदा केही सेन्ट रकम खर्च लाग्दछ ।

तथापि विगतको निश्चित समयसम्मको मात्र सीमित डेटा उपलब्ध गराउनुको मुख्य फाइदा चाहिँ निकै महत्वपूर्ण सुरक्षा जालो नै हो । इन्टरनेटमा अपलोड भएका नयाँ–नयाँ अवैध तथा हानिकारक सामग्रीहरु समेत च्याट जिपिटीले दिने जवाफमा प्रयोग हुनसक्ने कुरामा ओपन एआई सचेत छ । जसका कारण विगतको निश्चित अवधिसम्मका प्रमाणित डेटाहरुको आधारमा मात्र उसले सम्बन्धित विषयको जानकारी उपलब्ध गराउँछ ।

प्रयोगकर्तालाई अद्यावधिक जानकारीहरु उपलब्ध गराउन च्याट जिपिटीले किन ढिलाइ गरेको हो भन्ने प्रश्नमा स्वयं च्याट जिपिटीले भने ३ वटा कारण दिएको छ ।

उसले भनेको छ कि भाषा मोडेलको विकास गर्न लामो समय लाग्नुका साथै यो धेरै खर्चिलो पनि हुन्छ । त्यस्तै रियल टाइम डेटा प्रयोग गर्दा अशुद्धता आउनसक्ने जोखिम रहेको र कपिराइट रहेका सामग्रीहरुलाई अनुमति विना प्रयोग गर्दा गोपनीयता तथा नैतिकतासँग सम्बन्धित कारणहरु रहेकाले प्रयोगकर्ताहरुलाई अद्यावधिक डेटा सहितका जानकारी उपलब्ध गराउनमा ढिलाइ भएको च्याट जिपिटीले जवाफ दिएको छ ।

–बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?