+
+

‘जवान’ बन्यो भारतमा ६०० करोड कमाउने पहिलो बलिउड फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १२:४७

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले प्रदर्शनको २५ औं दिनमा भारतीय बक्स अफिसमा नयाँ कीर्तिमान रचेको छ । एट्ली निर्देशित फिल्मले चौथो सातामा कमाइमा बेञ्चमार्क खडा गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार ‘जवान’ ६०० करोड भारु कमाउने पहिलो बलिउड फिल्म बनेको छ । ‘एक जनाको लागि एक टिकट फ्री’ अफरले फिल्मलाई फाइदा पुगेको विश्लेषण गरिएको छ ।

चौथो सप्ताहन्तमा शनिबार र आइतबार ‘जवान’ले भारतमा १७.३ करोड भारु नेट कलेक्सन गरेको छ । २५ दिनमा हिन्दी, तमिल र तेलुगूसहित फिल्मको कुल कलेक्सन अहिले ६०४.२५ करोड भारु पुगेको छ ।

‘फुक्रे ३’ र ‘द भ्याक्सिन वार’ बिहीबार रिलिज हुनेबित्तिकै ‘जवान’का निर्माताले शनिबारसम्म ‘एक फ्री टिकट’ अफर गरेका छन् । जसले हलमा दर्शकको संख्या बढे पनि बिहीबारदेखि फिल्मको आम्दानीमा पनि हरेक दिन २३ प्रतिशतले बृद्धि भएको छ ।

शाहरुख खान, नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण, सान्या मल्होत्रा र प्रियमणि जस्ता स्टारको अभिनय रहेको ‘जवान’को बजेट ३०० करोड भारु छ । यो फिल्म यसअघि नै ब्लकबस्टर साबित भइसकेको छ ।

फिल्मले हिन्दी संस्करणबाट सबैभन्दा बढी कमाइ गरेको छ । अहिलेसम्म ‘जवान’ले हिन्दी संस्करणबाट ५४७.१७ करोडको नेट कलेक्सन गरेको छ । २५ दिन बितिसक्दा पनि ‘जवान’को बढ्दो कमाइले दर्शकमा फिल्मको क्रेज कायमै रहेको प्रमाण हो ।

विश्वव्यापी कलेक्सनको हिसाबले पनि ‘जवान’ले अचम्मको कमाइ गरिरहेको छ । फिल्मले २५ दिनमा विश्वभर करिब एक हजार ८० करोड भारु कमाएको छ । स्वदेशमा मात्रै होइन, विदेशी बजारमा पनि कीर्तिमानी कमाइ गरेको छ । खासगरी अमेरिका, न्युजिल्याण्ड र क्यानडामा शाहरुख खानका लागि दर्शकको क्रेज सबैभन्दा बढी छ । ‘जवान’ले विदेशमा अहिलेसम्म करिब ३७१ करोड रुपैयाँ कमाएको छ ।

‘जवान’ को गति अझै रोकिने छैन भन्ने स्पष्ट छ । यसको एउटा कारण यो हो कि हलमा यसको अगाडि कुनै ठूलो फिल्म छैन । शुक्रबार रिलिज भएको ‘फुक्रे ३’ ले औसत कमाइ गरिरहेको बेला ‘द भ्याक्सिन वार’ फ्लप सावित भएको छ । यसअघि रिलिज भएको ‘द ग्रेट इन्डियन फ्यामिली’ र ‘गदर २’ को यात्रा पनि बक्स अफिसमा सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?