+
+
Shares

गीतकारहरुको प्रतिलिपी अधिकार उल्लंघन भएको भन्दै दुई मुद्दा दायर

दुई मुद्दामा करिव एक करोड रुपैंया विगो मागदावी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारी वकिलको कार्यालय, काठमाडौंले सगरमाथा डिजिटल प्रालिविरुद्ध प्रतिलिपि अधिकारसम्बन्धी दुई मुद्दा दायर गरेको छ ।
  • गीतकार सरोज केसी र शशि शर्मा मजगैयाँले आफ्ना गीत अनधिकृत प्रयोग र व्यावसायिक दोहन भएको भन्दै ९५ लाख रुपैयाँ बिगो माग गरेका छन् ।
  • सरकारी वकिलले निवेदकको मागदाबीअनुसार प्रतिवादीलाई कानुनअनुसार सजाय हुनुपर्ने राय पेस गरेको छ ।

काठमाडौं । सरकारले दुई गीतकारको प्रतिलिपि अधिकार हनन भएको दावीसहित संगीत कम्पनी सगरमाथा डिजिटल प्रालिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले ९५ लाख रुपैयाँ बिगो तथा अन्य क्षतिपूर्ति माग गर्दै संगीत कम्पनी सगरमाथा डिजिटल प्रालिविरुद्ध काठमाडौं जिल्ला अदालतमा प्रतिलिपि अधिकारसम्बन्धी कसुरमा छुट्टाछुट्टै दुई मुद्दा दायर गरेको हो ।

सरकारी वकिलको कार्यालयले दायर गरेको आरोपपत्रमा गीतकार सरोज केसी र शशि शर्मा मजगैयाँको गीतमाथि उनीहरुले प्रतिलिपिअधिकार उल्लंघन गरेको आरोप छ । केसीको ३५ लाख रुपैयाँ र मजगैयाँको ६० लाख रुपैयाँ नोक्सान भएकाले क्षतिपूर्ति दिलाउनुपर्ने उनीहरुको माग छ ।

कम्पनीका सञ्चालक हीराबहादुर केसीले आफ्ना गीतमाथि अनधिकृत नियन्त्रण गरेको, अनुमति नलिई प्रयोग तथा व्यावसायिक दोहन गरेको र सर्जकको बौद्धिक सम्पत्तिबाट आर्जित आम्दानी लुकाएर ठगीसमेत गरेको आरोप गीतकारद्वयले लगाएका छन् । उनीहरुको जाहेरीको अनुसन्धानपछि मुद्दा दायर गरेको हो ।

गीतकार केसीले आफूले लेखेको ‘तिम्रो दिलमा चोट लाग्दा’ लगायतका अन्य गीतबाट भएको आम्दानीको कुनै विवरण नदेखाई आम्दानी नै नभएको भन्दै बारम्बार आफूलाई झुक्याएर ठगी गरेको भनी जाहेरीमा उल्लेख गरेका छन् ।

गीतकार मजगैयाँले आफूले लेखेका ‘तिम्रै यादमा’ र ‘तिम्रो माया मेरो माया’ बोल लगायतका गीत आफ्नो अनुमतिबेगर प्रयोग तथा नियन्त्रण भएको भनी जाहेरीमा उल्लेख गरेका छन् । ती गीतबाट आरोपित कम्पनीले अनधिकृत रूपमा आर्थिक आम्दानी गरेको दाबी गर्दै उनले बिगो र क्षतिपूर्ति भराउन माग गरेका छन् ।

यस मुद्दामा सरकारी वकिलले निवेदकहरूको मागदाबी बमोजिम प्रतिवादीलाई कानुनअनुसार सजाय हुनुपर्ने राय पेस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?