+
+

कबड्डी खेलाडी सुनिताले खेल जितेपछि पाइन् हजुरआमाको मृत्युको खबर

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज १५ गते १५:३६

१५ असोज, हान्झाउ । १९ औं एसियाली खेलकुद अन्तर्गत  सोमबार नेपाली महिला कबड्डी टिमले पहिलो खेलमा बंगलादेशविरुद्ध ऐतिहासिक जित हात पार्दै पदक जित्ने लगभग पक्का भएको छ ।

जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा समूह बीको खेलमा नेपालले बंगलादेशलाई ३७-२४ ले हराएर कास्य पदकको नजिक पुगेको छ । खेल जितेर नेपाली टोली उल्लास मनाउँदै थियो । त्यही बेला नेपाली टिमकी सदस्य सुनिता थापाले भने दु:खको खबर सुन्नुपर्‍यो ।

खेल सकिएपछि उनले आफ्नी हजुरआमा बितेको खबर पाइन् । ‘आज हामीले जित्यौँ । यसमा म खुशी र दु:खी दुवै भएँ । जितले पदक नजिक पुगेको खुशी छ भने घरमा मैले हजुरआमा गुमाउनुपर्‍यो’ उनले भनिन् ।

खेलअघि उनलाई हजुरआमाको मृत्युबारे जानकारी थिएन । ‘खेलअघि मैले बुबासँग फोनमा कुरा गरेको थिएँ । तर केही थाहा थिएन । बुबाले मोबाइल स्वीच अफ गरेर खेल भन्नुभयो । खेलपछि फेसबुकमा फोटोहरु सहित देखेपछि थाहा भयो । मैले अन्तिम समयमा हजुरआमालाई देख्न पाइन’ सुनिताले भनिन् ।

सुनिताकी हजुरआमाको कञ्चनपुरको महेन्द्रनगरमा सोमबार बिहान निधन भएको हो।

नेपाली महिला कबड्डी टिमले पहिलो पटक एसियाड खेलेको हो र डेब्यु खेलमै बंगलादेशलाई हराएर विजयी सुरुवात गरेको हो । यो जित १९औं एसियाडमा नेपालको पदकको खडेरी तोड्न सक्ने जित समेत बनेको छ ।

नेपाल रहेको समूहमा तीन टिम मात्र रहेकाले पहिलो खेलमा बंगलादेशलाई हराएपछि पदक नजिक पुगेको हो । यस समूहमा नेपालले मंगलबार इरानसँग खेल्नेछ । त्यसपछि इरान र बंगलादेशबीच खेल हुनेछ । नेपाल  र इरानबीच जस्तो नतिजा आएपनि अन्तिम खेलमा इरानले बंगलादेशलाई हराएमा नेपालले सेमिफाइनल पुग्दै पदक पक्का गर्नेछ ।

इरान बलियो टोली रहेकोले बंगलादेशलाई हराउनेमा नेपाली टोली विश्वस्त छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?