+
+

१९औं एसियाड क्रिकेटमा नेपालको असली परीक्षा भारतसँग

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १७:१७

१५ असोज, हान्झाउ  चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगलबार भारतसँग क्वाटरफाइनल खेल्दैछ ।

यसअघि समूह चरणमा मंगोलिया र माल्दिभ्स जस्ता तुलनात्मक रुपमा कमजोर टिमलाई हराएर क्वाटरफाइनल पुगेको नेपालको असली परीक्षण भारतविरुद्धको खेलमा हुनेछ ।

सोमबार भएको क्वाटरफाइनल ड्र अनुसार नेपालले भारत प्रतिद्वन्दी पाएको हो । भारतसहित किस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सिधै क्वाटरफाइनल पुगेका थिए भने नेपाल, हङकङ र मलेसिया समूह चरण पार गर्दै क्वाटरफाइनल पुगेका हुन् ।

अब नेपाल र भारत, बंगलादेश र मलेसिया, श्रीलंका र अफगानिस्तान तथा पाकिस्तान र हङकङबीच खेल हुनेछ । नेपाल र भारत तथा बंगलादेश र मलेसियाबीच हुने खेलको विजेताले सेमिफाइनल खेल्नेछ ।

कीर्तिमानी जितपछि असली परीक्षा

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई सहजै हराएको थियो । दुई खेलमा नेपालले खासै ठूलो संघर्ष गर्नुपरेन ।

पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गर्दा कीर्तिमानको वर्षा गरेको थियो । जसमा कुशल मल्लले सबैभन्दा छिटो शतक र दीपेन्द्र सिंह ऐरीले सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका थिए ।

यस्तै नेपालले टी-२०आईमा एकै खेलमा सर्वाधिक ३१४ रनको स्कोर बनाएको थियो भने अहिलेसम्मकै फराकिलो जित/हार अन्तरको कीर्तिमान पनि बनाएको थियो ।

मंगोलियाले भने नेपाल विरुद्धको खेलबाटै टी-२०आईमा डेब्यु गरेको थियो ।

दोस्रो खेलमा अभिनाश बोहराले टी-२०आईमा एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली बलरको कीर्तिमान बनाउँदा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको थियो । नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स ७४ रनमा अलआउट गरेको थियो ।

अब नकआउट चरणमा भने नेपालले बलियो टिमसँग खेल्नुपर्नेछ ।

नेपालका कप्तान रोहित पौडेलले आइतबार माल्दिभ्सलाई हराएपछि क्वाटरफाइनलका लागि उत्साह र चुनौती रहेको बताएका थिए ।

‘हामी एकदमै उत्साहित छौं । चुनौती पनि छ । टी-२०मा जे पनि हुन्छ सक्छ । यो विकेट चुनौतीपूर्ण छ,’ उनले माल्दिभ्सलाई हराएपछि भनेका थिए, ‘हाम्रो बलिङ राम्रो छ । हामीले राम्रो ब्याटिङ गरे जुन सुकै टिमलाई चुनौती दिन सक्छौं । एकदमै उत्साहित छौं र खेलको लागि तयार छौं ।’

क्वाटरफाइनलका लागि तयार गर्न नेपालले माल्दिभ्स विरुद्ध ब्याटिङ अर्डरमा परिवर्तन गर्दै सबैलाई अवसर समेत दिएको थियो ।

एक वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका विनोद भण्डारीले वान डाउनमा खेलेका थिए भने त्यसपछि सन्दिप जोरा र गुल्शन झालाई अवसर दिइएको थियो । त्यसैले नेपालले माल्दिभ्स विरुद्ध टस जितेर ब्याटिङ गरेको थियो ।

‘कठिन अवस्थामा सबैले ब्याटिङ पाउँदैनन्, क्वाटरफाइनलअघि सबैले ब्याटिङ गर्ने अवसर पाए,’ रोहितले भनेका थिए ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले पहिलो खेल खेल्दा नेपालसँग दुई खेल खेलिसकेको अनुभव हुनेछ । नेपाल मैदानको अवस्था र विकेटबारे जानकार छ । त्यसको फाइदा नेपाललाई पुग्ने कप्तान रोहितको विश्वास छ । ‘हामीले दुई खेल खेलिसकेका छौं र विकेटमा कसरी खेल्ने भनेर अनुभव छ । त्यो फाइदा हुनेछ ।’

तर ओभर एक्साइटेड नहुने र आफ्नो प्रोसेस अनुसार खेल्ने रोहितले बताएका थिए ।

भारत विरुद्ध पहिलो टी-२०आई

एक महिनाको अन्तरमा भारतसँगके यो दोस्रो खेल हुने भए पनि टी-२०आई क्रिकेट भने पहिलो हो ।

सेप्टेम्बर ४ मा नेपालले एसिया कपमा भारतसँग श्रीलंकाको क्यान्डीमा खेलेको थियो । जुन खेलमा उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सबैतिर प्रशंसा बटुलेको थियो ।

त्यसको एक महिनापछि नेपालले फेरि भारतसँग अर्को फर्म्याटमा खेल्न लागेको हो ।

नेपालले ९ वर्षपछि टेष्ट राष्ट्रसँग टी-२०आई खेल्न लागेको पनि हो ।

यसअघि नेपालले सन् २०१४ मा आईसीसी टी-२० विश्वकपमा डेब्यु गर्दा बंगलादेशसँग खेलेको थियो ।

यद्यपी यस पटक भारतको पहिलो रोजाईँको टोली वान डे क्रिकेट खेल्ने तयारीमा रहेकोले भारतले दोस्रो रोजाईँको टिमलाई एसियाडमा पठाएको छ ।

रुतुराज गाएकवाडको कप्तानीमा रहेको भारतीय टोलीमा इन्डियन प्रिमियर लिग आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका र सिनियर टोलीबाट खेलिसकेका खेलाडीहरु समेत छन् ।

ब्याटिङमा कप्तान रुतुराजसँगै यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, जितेश शर्मा, प्रबसिमरन सिंह छन् भने लोहर अडरमा हार्ड हिटर रिंक सिंह छन् । यस्तै शिवम दुवे, वासिङगटन सुन्दर र शहबाज अहमद छन् ।

फास्टर बलिङमा अर्शदिप सिंह सँगै आभेष खान र मुकेश कुमार छन् भने स्पीनमा रवि बिश्नोई छन् । बिश्नोईलाई वासिङ्टन सुन्दर र शहबाज अहमदको साथ हुनेछ ।

विकेटकिपरद्वय प्रवशिमरन र जितेशसहित आकाश दिपले मात्र भारतका लागि डेब्यु गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?