+
+

एसियाडमा दशौं दिन कबड्डीमा पदक नजिक, ब्याडमिन्टनमा दुई स्पर्धामा विजयी

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज १५ गते १९:३४

१५ असोज, हान्झाउ । पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएको नेपाली महिला कबड्डी टिमले १९औं एसियाडमा सोमबार बंगलादेशमाथि ऐतिहासिक जित निकाल्यो ।

हान्झाउस्थित जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा भएको समूह बी को पहिलो खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले पराजित गर्दै पदकको सम्भावना बलियो बनाएको छ ।

तीन राष्ट्र मात्र रहेको यो समूहमा नेपाल र बंगलदेशसहित इरान छन् । मेनुका राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीले मंगलबार इरान विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

इरान र बंगलादेशबीचको खेल बुधबार हुनेछ । इरानसँग नेपाल पराजित भएमा पनि अन्तिम खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल सेमिफाइनलमा पुग्नेछ र कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ ।

२०१८ मा इन्डोनेसियामा भएको एसियाडमा इरानले महिला कबड्डीमा स्वर्ण जितेको थियो ।

महिला कबड्डीमा जम्मा ७ राष्ट्र सहभागी छन् । समूह ‘ए’ मा भारत, थाइल्यान्ड, दक्षिण कोरिया र चाइनिज ताइपेईं छन् ।

सन् २०१९ मा काठमाडौंमै भएको १३औं सागमा रजत जितेको कबड्डीले पहिलो पटक एसियाडमा सहभागिता जनाउँदा डेब्यु खेल जित्दै ऐतिहासिक पदक नजिक पुगेको हो ।

डेब्युमै जित हात पारेपछि नेपालकी कप्तान मेनुका राजवंशीले कबड्डी खेल्न थालेको १५ वर्षपछि आफ्नो सपना पूरा भएको बताइन् । ‘कबड्डी खेल्न थालेको ‍१५ वर्ष भयो । आज यो खेल खेलेको सपना पूरा भएको छ। सबै टिमको सपना पूरा भएको छ। हाम्रो लागि विश्वकप वा ओलम्पिक भनेकै यही हो, त्यसैले सबै जना खुसी छौं,’ उनले भनिन् ।

उनले यो जितले सबै खुशी भएको र अब पदक झुण्ड्याउन मात्र बाँकी रहेको बताइन् ।

ब्याडमिन्टनमा दुई स्पर्धाको प्रिक्वाटरफाइनलमा, प्रिन्स पराजित

एसियाडअन्तर्गत ब्याडमिन्टनको मिक्स डबल्स र पुरुष डबल्समा सोमबार नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै स्पर्धामा नेपाल २–० को सोझो सेटमा विजयी भएको हो ।

बिन्जियाङ जिम्न्याजियममा भएको मिक्स डबल्समा नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीले मंगोलियाका जोल्जाया मुख्बटार र खेर्लेन दरखान्बटारको जोडीलाई २१–१६, २१–१७ को सेटमा पराजित गरे । अर्को मिक्स डबल्समा भने नेपालका जीवन आचार्य र निता लम्सालको जोडी  सिंगापुरका तेरी काइ यङ हि र हान वेइ जेशिका तानको जोडीसँग २१–४, २१–३ ले पराजित भए ।

पुरुष डबल्समा नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीले माल्दिभ्सका निबल अहमद र अज्फान मोहम्मद रसिदको जोडीलाई सीधा सेटमा २१–१७ र २१–१८ ले हराए ।

नेपालका युवा स्टार प्रिन्स दाहाल भने दुवै स्पर्धामा पराजित भए । प्रिन्स दाहाल र सुनिल जोशीको जोडी पुरुष डबल्समा थाइल्यान्डका पिरात्चाई सुक्फुन र पाकापोन तिरारत्सकुलको जोडीसँग २१–८,२१–५ ले पराजित भए ।

पुरुष सिंगल्समा जापानका केन्टा निसीमोटोले प्रिन्सलाई २१–१२, २१–७ ले तथा थाइल्यान्डका कान्ताफोन वाङचारियोनले नेपालका सुनिल जोशीलाई २१–७, २१–९ ले हराए ।

भलिबलमा लगातार दोस्रो हार

पहिलो पटक एसियाड खेलिरहेको नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो हार बेहोरेको छ । हाङझाव नर्मल युनिभर्सिटी कान्चिन जिम्न्याजिममा भएको समूह सी को खेलमा नेपाल दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको हो ।

१ घण्टा १२ मिनेट चेलेको खेलमा दक्षिण कोरियाले नेपाललाई २५–२१, २५–१४, २५–११ ले हरायो । पहिलो खेलमा नेपाल भियतनामसँग २५–४, २५–१६, २५–१३ ले पराजित भएको थियो ।

लगातार दोस्रो हारपछि नेपाल समूह चरणबाट बाहिरिएको छ । अब नेपालले क्लासिफिकेसन म्याच खेल्न बाँकी छ ।

एथ्लेटिक्समा सोम ११औं स्थानमा

एथलेटिक्सको पुरुष ८०० मिटर दौडमा नेपालका सोमबहादुर कुमालले निर्धारित दूरी पूरा गर्न १ मिनेट ५०.३८ सेकेन्डमा पूरा गरे । उनी हिट चरणबाटै बाहिरिए ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियमा सोमबार बिहान भएको प्रतिस्पर्धामा आफ्नो हिटमा ७ खेलाडीमध्ये तेस्रो भएका सोम समग्रमा भने २१ खेलाडी मध्ये११ औं स्थानमा रहे ।

सोमले जारी एसियाडमा २ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । ४ सय मिटर दौडबाट पनि सोम बाहिरी सकेका छन् ।

भारोत्तोलन सारदाले उठाइन १५८ केजी

भारोत्तोलनअन्तर्गत महिला ६४ केजीमा नेपालकी सारदा चौधरीले स्न्याचमा ७० तथा क्लिन एन्ड जर्कमा ८८ केजी गरी जम्मा १५८ केजी भार वहन गरिन् । समूह बी मा रहेकी सारादा आफ्नो समूहमा पाँचौं स्थानमा रहिन् ।

स्न्याचमा सारदाले पहिलो लिफ्टमा ७० केजी र तेश्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरेपनि सफल भइनन् । सारदाले क्लिन एन्ड जर्कमा उठाएको ८८ केजी पहिलो लिफ्टमा हो । सारदाले क्लिन एन्ड जर्ककै दोश्रो र तेश्रो लिफ्टमा समान ९४–९४ केजी भार वहन गर्ने प्रयास सफल भएन ।

भारोतोलनमा नेपाली महिला खेलाडीको यात्रा सकिएको छ । यसअघि टीकामाया गुरुङले प्रतिस्पर्धा गरेका थिइन् । पुरुष खेलाडी विशालसिंह विष्ट, विकास भट्ट र सागर भण्डारीले चुनौती प्रस्तुत गर्न बाँकी छ ।

ट्रायथलनमा नेपाल ११औं

ट्रायथलनको मिक्स रिलेमा नेपाल ११ औं भएको छ । १२ राष्ट्रको सहभागिता रहेको स्पर्धामा नेपालले ११ औं स्थान हासिल गरेको हो । नेपालले मंगोलियालाई मात्र पछि पारेको थियो ।

नेपालबाट मौलिक महर्जन, युस्का महर्जन, बसन्त थारु र श्रेबी महर्जनले प्रतिस्पर्धा गरेका थिए । मंगोलिया अन्तिममा रह्यो ।

आर्चरीमा योगेन्द्र र इमायुङ राई पराजित

आर्चरीको पुरुष व्यक्तिगत कम्पाउन्डको इलिमिनेसन राउन्डमा नेपालका योगेन्द्र शेरचन इराकका मोहमम्द इब्राहिम इसक अल दाघमनसँग १४०–१३५ ले पराजित भए । सोही स्पर्धाको महिलामा भारतकी गोपीचन्द स्वामी अदितिले नेपालकी इमायुङ राईलाई १४९–१३७ ले हराइन् ।

पुरुष व्यक्तिगत रिकर्भको इलिमिनेसनमा नेपालका तिलक पुनले मिश्रित प्रदर्शन गरे । तिलक राउन्ड अफ १६ मा दक्षिण कोरियाका जिन्येक ओहसँग ६–० ले पछि परे । त्यसअघि राउन्ड अफ ३२ मा तिलकले म्यान्मारका जाउ तेतलाई ७–१ ले हराएका थिए । उक्त स्पर्धाको महिलामा बंगलादेशकी दिया सिद्धिकीले नेपालकी मन्जु बजगाईंलाई ६–० ले हराइन् ।

स्क्वासमा विपना प्रिक्वाटरफाइनलमा पराजित

स्क्वासको महिला सिंगल्समा पहिलो खेल जितेकी नेपालकी विपना ब्लोन सोमबार भने जापानी खेलाडी अकारी मिडोरिकावासँग अन्तिम १६ मा सोझो सेटमा पराजित भइन् । हाङझाव ओलम्पिक स्पोर्ट्स स्क्वास कोर्टमा जापानकी अकारीले विपनालाई ११–३, ११–१, ११–५ ले हराइन् ।

अघिले दिन विपनाले पहिलो चरणमा थाइल्यान्डकी चुजित वारिट्सारालाई सोझो सेटमा हराएर  प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् ।

स्क्वासकै मिक्स डबल्सको समूह सीको दुवै खेलमा नेपाल पराजित भएको छ । नेपालका अमिर ब्लोन र स्वास्थानी श्रेष्ठको जोडी मलेसिया र थाइल्यान्डसँग क्रमशः २–० र २–१ को सेटमा पराजित भए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?