+
+

भारतसित हारेपछि रोहित र मोन्टीले भने : १०-१५ रन बढी दियौं

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज १६ गते १२:००
फाइल तस्वीर

१६ असोज, हान्झाउ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले भारतलाई केही रन बढी दिएका कारण खेल हार्न पुगेको बताएका छन् ।

एसियाडको क्रिकेटमा भारतसँग २३ रनले पराजित भएपछि नेपालका मुख्य प्रशिक्षक देसाईले नेपालले १०-१५ रन बढी दिएको बताए ।  ‘हामीले १०-१५ रन बढी दियौं । फिल्डिङ अलिक राम्रो गरेको भए के थाहा हामीले १९०-१९५ रन चेज गर्न सक्थ्यौं कि?’ खेलपछि मोन्टीले पत्रकारसँग भने ।

भारतले सानदार सुरुवात गरेपनि १० देखि १५औं ओभरसम्म नेपालले कसिलो बलिङ गरेको थियो । त्यो ५ ओभरमा नेपालले ३४ रन मात्र दिएको थियो । १५ ओभरमा १३८ रन बनाएको भारतले अन्तिम ५ ओभरमा भने ६४ रन जोड्यो ।

त्यसमा नेपाली बलरहरुमाथि भारतका रिंकु सिंह र शिवम दुवे हावी भए ।

भारतीय टिममा आईपीएल खेलेका खेलाडीहरु रहेकोले त्यति रन बन्नु स्वभाविक भएको प्रशिक्षक मोन्टीले बताए ।

‘हामीले अझ राम्रो गर्न सक्थ्यौं । टी२० खेल हो जे पनि हुन सक्छ । १५ रन जति बढी भयो’, कप्तान रोहितले भने । रोहितले पनि फिल्डिङमा नेपालले आफ्नो स्तर अनुसार खेल्न नसकेको बताए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ओपनर यशस्वी जैसवालको शतक मदतमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । इनिङ्सको अन्तिमतिर रिंकु सिंह रु शिवम दुवेले उत्कृष्ट ब्याटिङ गर्दा भारतले २०० रनको आँकडा पार गरेको थियो ।

टी-२० आईको शीर्ष वरीयतामा रहेको भारतविरुद्ध २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २९ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । त्यसपछि भने नियमित अन्तरालमा विकेट गुमाउँदा ब्याटिङमा एकरुपता हुन सकेन ।

नेपालका लागि सन्दिप जोरा र दीपेन्द्र सिंह ऐरीले पाँचौ विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए ।

जोरा र दीपेन्द्र क्रिजमा हुँदा सम्म जित्नेमा आशावादी भएपनि उनीहरुको विकेट जानु नै टर्निङ प्वाइन्ट भएको कप्तान रोहित पौडेलले बताए । ‘जोरा र दीप्पी दाइ हुँदा सम्म हामीलाई डगआउटमा पनि आश थियो कि हामी चेस गर्न सक्छौं ।’

१२२-४ को अवस्थामा रहेको नेपाल दीपेन्द्र १५औं र सन्दिप १६औं ओभरमा लगातार आउट भएपछि १५.४ ओभरमा ६ विकेट गुमाएर १४० रनको अवस्थामा पुग्‍यो । त्यसपछि पनि नेपालले लगातार जस्तो विकेट गुमायो ।

नेपालका लागि दीपेन्द्रले सर्वाधिक ३२ रन बनाउँदा कुशल मल्ल र सन्दिप जोराले समान २९ तथा कुशल भुर्तेलले २८ रन बनाए । करण केसीले नटआउट १८ रन जोडे ।

भारतका अनुभवी बलरहरु रवि बिश्नोई र आभेष खानले ३-३ तथा अर्शदिप सिंहले २ विकेट लिए । यसै खेलबाट टी२०आईमा डेब्यु गरेका साई किशोरले १ विकेट लिए ।

भारत विरुद्ध नेपालका लागि दीपेन्द्रले अलराउण्ड प्रदर्शन गरे । बलिङमा नेपालबाट सर्वधिक २ विकेट लिएका उनी नेपालका लागि सर्वाधिक रन बनाउनेमा समेत अगाडि रहे ।

प्रशिक्षक मोन्टी र कप्तान रोहिले दीपेन्द्रको तारिफ गर्दै टी-२० विश्वकप क्वालिफायरअघि लयमा आउनु नेपालको लागि सकरात्मक रहेको बताए । ‘उ (दीपेन्द्र) टी-२० स्पेशलिस्ट हो,’ मोन्टीले सटिक जवाफ दिए ।

‘क्वालिफायरअघि दीप्पी दाइ लयमा आउनु नेपालको लागि धेरै सकरात्मक हो’, कप्तान रोहितले भने ।

प्रशिक्षक मोन्टीले एसियाडको यात्रामा नेपालले क्रिकेटको ब्रान्ड देखाएको र गर्व लागेको बताए । ‘हामी यो यात्राबाट प्राउड छौं, हामीले इनभेस्ट गरेका छौं,’ उनले भने ।

रोहित शर्माको कप्तानीमा रहेको भारतको सिनियर टोली वान डे विश्वकप खेल्ने तयारीमा रहेकोले भारतले आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई एसियाडमा पठाएको थियो ।

 

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?