+
+
एसियाली खेलकुद :

एसियाडको क्रिकेटमा भारतसँग पराजित हुँदै नेपाल बाहिरियो

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज १६ गते १०:११

१६ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगलबार भएको खेलमा नेपाल भारतसँग २३  रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा  ४ विकेट गुमाएर २०२  रन बनाएको थियो । जवाफमा नेपालले  पूरै २० ओभर खेल्दा ९  विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

नेपालले बलिङमा अन्तिम ओभरमा २५ रन खर्चिएको थियो । त्यो महँगो ओभरमा मात्रै भारतका रिंकु सिंहले दुई चौका र दुई छक्का हानेका थिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बल खेल्दै ४ चौका मदतमा सर्वाधिक ३२ रन बनाए । यस्तै सन्दिप जोरा र कुशल मल्लले समान २९ रन बनँए । जोराले १२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दा २२ बल खेलेका कुशल मल्लले २ चौका र २ छक्का प्रहार गरे । कुशल भुर्तेलले ३२ बल खेल्दै ४ चौका र १ छक्का मदतमा २८ रन जोडे । आसिफ शेखले ६ बलमा १० रन बनाए ।

कप्तान रोहित पौडेल ३, सोमपाल कामी ७, गुल्शन झा ६ र सन्दीप लामिछाने ५ रनमा आउट भए । करण केसी  रनमा अविजित रहे ।

भारतका लागि रवि बिश्नोईले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । र आभेष खानले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । अर्शदिप सिंह २ तथा साई किशोरले १ विकेट लिए ।

त्यसअघि ओपनर यशस्वी जैसवालले  शतक प्रहार गर्दा भारतले २०२ रन बनाएको थियो । जैसवालले ४९ बल खेल्दै ८ चौका र ७ छक्का मदतमा १०० रन बनाए । उनले कप्तान रुतुराज गाएकवाडसँग पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए ।

पहिलो विकेटका लागि यो जोडीले १०३ रनको साझेदारी गरेका थिए । भारतले पावर प्लेमै विना क्षती ६३ रन बनाएको थियो ।

दीपेन्द्र सिंह ऐरीले १०औं ओभरमा उक्त साझेदारी तोड्दै  नेपाललाई पहिलो सफलता दिलाएका थिए । दीपेन्द्रले भारतका कप्तान रुतुराज गाएकवार्डलाई १०औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराए । गाएकवाडले २५ बल खेल्दै ४ चौका मदतमा २३ रन बनाए ।

त्यसपछि नेपालका सोमपाल कामीले भारतका तिलक वर्मालाई १२औं ओभरको चौथो बलमा बोल्ड गर्दै दोस्रो सफलता दिलाएका हुन् । तेस्रो नम्बरमा ब्याटिङ गरेका तिलक १० बलमा २ रन बनाएर आउट भए ।

लगत्तै १३औं ओभरको पाँचौ बलमा सन्दीप लामिछानेले भारतका जितेश शर्मालाई कट एण्ड बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

भारतका लागि शतक प्रहार गरेका जैसवाललाई दीपेन्द्रले १७औं ओभरको दोस्रो बलमा अभिनाश बोहराबाट क्याचआउट गराए  ।

तर त्यसपछि शिवम दुवे र रिंकु सिंहले आक्रमक ब्याटिङ गर्दै भारतको स्कोरलाई २०० कटाएका थिए ।  रिंकुले नटआउट ३७ र शिवम दुवेले नटआउट २५ रन बनाए । रिंकुले १५ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । १ विकेट लिएका सन्दीपले ३ ओभरमा २८ रन खर्चिए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?