+
+
इन्जिनियरिङको शुल्क विवाद :

स्ववियु र विद्यार्थी संगठनमाथि लाग्यो डिन अपहरणको आरोप

नुनुता राई नुनुता राई
२०८० असोज १६ गते २२:०७

१६ असोज, काठमाडौं । इन्जिनियरिङ शिक्षाको स्नातक तहको अध्ययन शुल्कलाई लिएर इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विद्यार्थी संगठनहरुबीच भइरहेको विवादले नयाँ रुप लिएको छ ।

पुल्चोक क्याम्पसको ६ जना विभागीय प्रमुखहरुले विद्यार्थी संगठनहरुमाथि डिन र सहायक डिनलाई अपहरण गरेर पुरानै शुल्कमा भर्ना लिने भनेर सूचना निकाल्न बाध्य बनाएको आरोप लगाएका छन् । साथै स्ववियुलाई विभागको जिम्मा लगाउने घोषणा गरेका छन् । पुल्चोकका स्ववियु सभापतिले भने डिनले नै आफूहरुलाई शिवपुरीमा लगेको दाबी गरेका छन् ।

के हो विवाद ?

इन्जिनियरिङ अध्ययन संस्थानले यो वर्षदेखि शुल्क बढाउन चाहेको थियो । ७ लाख ७५ हजार शुल्क तोकिएपछि विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिए, अनसनमा बसे ।

सुरुमा त्रिवि र सत्तारुढ विद्यार्थी संगठन, त्यसपछि त्रिवि, संस्थान र अरु विद्यार्थी संगठनबीच सहमति भएपछि आन्दोलन रोकियो । त्यो बेला शुल्क पुनरावलोकन गर्ने सहमति भएको थियो ।

त्यसअनुसार बनेको समितिले इन्जिनियरिङ अध्ययनका लागि ५ लाख ५४ हजार नयाँ शुल्क सिफारिस गर्‍यो । तर विद्यार्थी संगठनहरु यसमा सहमत भएनन् । उनीहरुले ४ लाख ५० हजार मात्र शुल्क राक्नुपर्ने बताएपनि डिन कार्यालयले नयाँ शुल्कबारे निर्णय गर्न सकेन ।

सोमबार राति एकाएक इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा.शशीधर राम जोशीको हस्ताक्षरसहित विज्ञप्ति जारी भयो, जसमा पुरानै शुल्क (तीन लाख १८ हजार) अनुसार भर्ना लिने र असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने उल्लेख छ ।

एकाएक नयाँ सूचना आएपछि प्राध्यापकहरु आश्चर्यमा परे । सोधीखोजी गर्दा स्ववियु र विद्यार्थी संगठनका नेताहरुले डिन र सहायक डिनलाई अपहरण गरेर यस्तो वक्तव्य जारी गर्न लागाएको पाएको उनीहरुले बताएका छन् ।

पुल्चोक क्याम्पसका अप्लाइड साइन्स तथा केमिकल इ. विभागका प्रमुख प्रा. डा. हेमराज पन्त भन्छन्, ‘आज विहान डिन र सहायक डिनलाई के भएको हो भन्दा हामीलाई ट्र्यापमा पारे, त्यो भएर यस्तो यस्तो गर्‍यौं भन्नुभयो ।’

उनका अनुसार सोमबार सहमति गर्छौं, नोटिस निकाल्नुपर्‍यो भनेर डिन र सहायक डिनलाई अपहरण गरेर शिवपुरी लगेको र बलपूर्वक वक्तव्य जारी गर्न लगाइएको हो । भन्छन्, ‘धम्क्याएर हस्ताक्षर गर्न लगाएका हुन्, यसरी संस्थान चल्दैन ।’

पुल्चोकका ६ विभागीय प्रमुखले संयुक्त वक्तव्य जारी गर्दै स्ववियु सभापतिहरुलाई विभागको सम्पूर्ण कार्य सञ्चालनको जिम्मेवारी सुम्पिएको बताएका छन् ।

१२ असोजमा तीन वटै क्याम्पसका स्ववियु सभापतिले वक्तव्य निकालेर अहिलेभन्दा राम्रोसँग क्याम्पस चलाउँछौं भनेको स्मरण गर्दै वक्तव्यमा भनिएको छ, ‘…उच्च आकांक्षा बोकेका स्ववियु सभापतिहरुलाई विभाग चलाउन मार्ग प्रशस्त गरिदिने सल्लाह भएकाले विभागका सम्पूर्ण कार्य सञ्चालन जिम्मेवारी सम्पिएको जानकारी गराउँदछौं ।’

पुल्चोक क्याम्पसका स्ववियु सभापति विराज अर्याल भने आफूहरुले डिन र सहायक डिनलाई अपहरण नै नगरेको दाबी गर्छन् । सहायक डिनले डिन कहाँ लैजान्छु भनेर शिवपुरीमा लगेको र विद्यार्थी संगठनका नेताहरु डाँडागाउँमा लगेर सहमति गराएको बताए ।

सहमति गराउन अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरी, अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष केशव रावल, नेविसंघको केन्द्रीय सदस्य आदर्श मल्ल लगायतका विद्यार्थी सहभागी थिए ।

हामी नै अपहरणमा पर्‍यौं : स्ववियु अध्यक्ष अर्याल

शिवपुरीको डाँडागाउँस्थित ग्रिन भ्यू रिसोर्टमा सहमति भएको हो । हामीले सुशील सरलाई डिन सरसँग भेट्छौं भन्दा ल आउ, तर कहाँ हो ठाउँ भन्दिन भनेर बोलाउनुभयो । म मेरो गाडी लिएर जान्छु भन्दा दिनुभएन । मेरै गाडीमा जानुपर्छ भन्नुभयो । हामी गाडीमा बस्नेवित्तिकै फोन स्वीच अफ गर्न लगाएर फोन दिन भन्नुभयो । हामीले त्यसै गर्‍यौं । त्यसपछि उहाँले नक्साल भाटभटेनीबाट डिन सरलाई पिकअप गर्नुभयो ।

बालुवाटारतिरै बस्ने होला भनेको त महाराजगञ्ज हुँदै शिवपुरीको रिसोर्टमा लानुभयो । रिसोर्टमा पुगेपछि मःम र कफी खाँदै गफ गरिरहेको थियौं, विद्यार्थी संगठनका साथीहरु खुफिया पारामा आउनुभयो । कहाँबाट कसरी आउनुभयो मलाई पनि थाहा छैन । छलफल गर्नका निम्ति डिन सरलाई भेटौं भनेर डाँडागाउँ लिएर जानुभयो ।

भोलिदेखि हामी काम गर्दैनौं : प्रा. डा. हेमराज पन्त

१२ गते पुल्चोक, थापाथली र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानको तीन वटा स्ववियुले क्याम्पस यो भन्दा राम्रो चलाउन सक्छौं भनेर विज्ञप्ति निकालेको तपाईहरुले हेर्नुभएको होला । विद्यार्थीहरुले निकालेको विषयमा हामी किन बोल्ने भनेर चुप बसेका थियौं ।

हिजो सहमति गर्छौं, नोटिस निकाल्नुपर्‍यो भनेर हाम्रो सहायक डिनलाई अपहरण गरेर शिवपुरी लगे । ५०/६० जनाको विद्यार्थीहरुको झुण्डले घेरेर पुरानै शुल्कमा भर्ना गर्ने भनेर नोटिस निकाल्न दबाब दिए । यता अपलोड गर्न भनियो । तर बोर्डले पास गर्नुपर्छ, अनि बल्ल गर्छौं भनेपछि पुलिस पनि पुग्यो । राति ९÷१० बजे सहायक डिनलाई बोकेर डिन अफिस ल्याए, घेरेर नोटिस निकाल्न लगाए ।

आज विहान डिन र सहायक डिनलाई के भएको हो भन्दा हामीलाई ट्र्यापमा पारे, त्यो भएर यस्तो यस्तो गर्‍यौं भनेपछि हामीले यो विज्ञप्ति निकालेका हौं । भोलि निकासबारे थप छलफल गर्छौं ।

अहिले भर्नासम्बन्धी आधिकारिक सूचना आएकै छैन । कनकी यो अधिकार कमिटीको अध्यक्षलाई हुन्छ । अहिले स्ववियुको पहलमा नेविसंघ, अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनले डिन/सहायक डिनलाई ट्र्यापमा पारेर सूचना निकाल्न लगाएका हुन्, उनीहरु नै फेसबुक लगायतका सञ्जालमा राखेका हुन् । लेटर फेक होइन, तर धम्क्याएर हस्ताक्षर गर्न लगाएका हुन् । यसरी संस्थान चल्दैन ।

यो इन्जिनियरिङ अध्ययन संस्थानलाई धरासायी बनाउने खेल हो । पछिल्ला वर्षमा संस्था घाटामा छ । कोरोनाले सेमेस्टर सिस्टममा ओभरल्यापिङ पनि भएको छ, यसलाई सुधार गर्न दुईवटा सेसन पनि चलाउनुपर्‍यो भनेर हामीले शुल्क पनि पुनरावलोकन गर्न खोजेका हौं । यसै पनि एउटै सेमेस्टर पनि नचल्ने अवस्थामा दुईवटा सेमेस्टर चलाउने, शुल्क चाहिँ नबढ्ने हो भने डिपार्टमेन्ट चिफहरुले शिक्षकहरु खोजेर सञ्चालन गर्न सक्दैनन् भनेर आज भनेका हुन् ।

हामीले ३ लाख १० हजार शुल्क राख्दा निजी कलेजहरुले १ लाख ८० हजार शुल्क राखेका थिए । यो महंगो भयो भनेर ८० हजारमा सुरु गरे । त्यो अहिले १६ लाख पुगेको छ । तर हाम्रो २०५५ सालमा जति लिएका थियौं, त्यो अहिलेसम्म बढाउन सकिएको छैन ।

अरु क्याम्पसले पनि यस्तै राजनीतिक दबावका कारण सकेनन् होला, अब चाहिँ नचल्ने स्थितिमा पुग्यो । अब या त सरकारले अनुदान दिनुपर्‍यो या शुल्कबाटै चलाउन दिनुपर्‍यो । सरकारले पाँच पैसा पनि दिन सक्दैन भनेपछि शुल्क बनाउनुको विकल्प रहेन ।

विल्डिङ बनाउने, ल्याब बनाउने कहीँबाट ल्याउला, तर मास्टरहरुलाई तलब खुवाउन नसकिने अवस्था छ । म केमिकल इञ्जिनियरिङको विभागीय प्रमुख र प्राध्यापक संघको सभापति पनि हुँ । आजभन्दा २२ वर्ष अगाडि मेरो डिपार्टमेन्टमा जाँदा ५२ जना प्राध्यापक थिए ।

उनीहरु सबैलाई त्रिविबाट तलब आउँथ्यो । उनीहरुले अवकाश पाए, हामी १३ जना मात्र बाँकी छौं पर्मानेन्ट फ्याकल्टीहरु । जसको तलब सरकारले दिन्छ । बाँकी सबै करारमा छन्, जसलाई विद्यार्थीहरुबाट लिने शुल्कबाट तलब खुवाउनु पर्छ ।

अब शुल्क पुनरावलोकन नगर्ने हो भने तलब खुवाउन सक्दैनौं, कक्षा पनि सञ्चालन हुन सक्दैन । दुईवटा सेमेस्टर चलाउने योजना त धरासायी हुने नै भयो । यो अवस्थामा हामी डिपार्टमेन्टमा बस्न सक्दैनौं भनेर विज्ञप्ति निकालेका हौं ।

भोलिदेखि हामी विभागीय प्रमुखहरुले काम गर्दैनौं । हामीले मात्र होइन, सहायक क्याम्पस चिफ र क्याम्पस चिफले पनि भोलि नै डिनलाई राजीनामा बुझाउने छन् । सहायक डिन र डिनले पनि भोलि नै उपकुलपतिलाई राजीनामा बुझाउँछन् । त्यसपछि के निकास निस्कछ, हेरौं ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?