+
+

एसियाडको १३औं दिन : भारोत्तोलनमा विशालको कीर्तिमान, क्यानोइङमा गणेश सेमिफाइनलमा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज १८ गते १९:०४

१८ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत १३औं दिन बिहीबार भारोत्तोलनमा नेपालका विशाल सिंह विष्टले कीर्तिमान बनाए भने क्यानोइङमा गणेश गुरुङ सेमिफाइनल चरणमा प्रवेश गरे ।

विशालले कीर्तिमान बनाएपनि पहिलो चरणबाटै बाहिरिए । क्यानोइङमा भने १६ खेलाडी सेमिफाइनल पुग्दा गणेश पनि सेमिफाइनमा छानिएका हुन् ।

भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान

नेपाली भारोत्तोलनको इतिहास बिहीबार विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाए । हान्झाउस्थित चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले पहिलो पटक तीन सय भन्दा बढी भार बहन गर्ने नेपाली खेलाडीको कीर्तिमान बनाएका हुन् ।

उनले ३ नयाँ राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि बनाए ।

यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौलसमूहमा जम्मामा ३ सय केजीसम्मको भार वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापक समेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले जनाएका छन् ।

विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे ।

एसियाड आउनुअघि उनले साउदी अरबको रियादमा भएको वर्ल्ड च्याम्पियनसिपमा स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

एसियाडमा स्न्याचमा भने विशालले दोश्रो लिफ्टमा नै १२७ केजी तौल उठाउदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए । पहिलो लिफ्टमा विशालले १२१ केजी तौल उचालेका थिए ।

क्लिन एन्ड जर्कमा विशालले पहिलो लिफ्टमा १६१ केजी वजन उठाएका थिए । दोश्रो लिफ्टमा विशालले १६८ केजी वजन उचालेर राष्ट्रिय कीर्तिमान रचेपछि तेश्रो लिफ्टमा कीर्तिमान सुधार गर्ने प्रयासमा १७५ केजी तौल लोड गर्न लगाएका थिए ।

त्यसमा उनी सफल भएनन् । भारोत्तोलनमा नेपालबाट ५ खेलाडी सहभागी भएकोमा अन्तिम दिन शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्ने छन् ।

क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणमा

एसियाड अन्तर्गत कानोईङ स्लालोम अन्तर्गत पुरुष कायाकमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणमा प्रवेश गरेका छन् ।

फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा बिहीबार भएको प्रतिस्पर्धामा गणेश हिट चरण पार गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

दुई चरणको हिटमा भएको प्रतिस्पर्धामा कूल १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । १६ खेलाडी नै सेमिफाइनल प्रवेश गर्ने नियम छ ।

बिहीबार पहिलो हिट्समा १६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा गणेश १४औं स्थानमा थिए । त्यस हिटबाट शीर्ष ८ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए ।

गणेशसहित बाँकी ८ खेलाडीले दोस्रो हिटमा प्रतिस्पर्धा गरेका थिए । जसमा उनी सातौं भए ।

हिट चरणमा खेलाडीहरुको निकालेको टाइमिङमा आधारमा सेमिफाइनलमा खेलाडीहरुको प्रतिस्पर्धा सुरु हुनेछ । दोस्रो हिटमा प्रतिस्पर्धा गरेका खेलाडीहरुले सेमिफाइनलमा प्रतिस्पर्धाको सुरुवात गर्नेछन् ।

अब शनिवार हुने सेमिफाइनल चरणमामा कूल १६ खेलाडीले प्रतिस्पर्धा गरेका छन् । त्यसबाट शीर्ष १० खेलाडीले फाइनल चरणमा स्थान बनाउनेछन् ।

एथ्लेटिक्स सकियो

म्याराथनमा प्रतिस्पर्धापछि एथ्लेटिक्समा नेपालको स्पर्धा सकिएको छ । म्याराथनमा नेपालबाट समान एक पुरुष र एक महिला गरी दुई खेलाडीले बिहीबार प्रतिस्पर्धा गरेका थिए ।

जसमा पुरुषतर्फ  राजन रोकायले निर्धारित दूरी २ घण्टा २३ मिनेट १७ सेकेन्डमा पूरा गरे । पुरुष म्याराथन १८ खेलाडीले दौडिएकोमा १६ खेलाडीले पूरा गर्दा राजन १४औं स्थानमा रहे । साउदी अरबीया र किर्गिस्तानका खेलाडीले दौड पूरा गरेनन् ।

चीनका जि हेले २ घण्टा १३ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते ।

महिलातर्फ पुष्पा भण्डारीले निर्धारित दूरी ३ घण्टा ०२ मिनेट ३७ सेकेन्डमा पूरा गर्दै १६औं स्थानमा रहिन् । १७ खेलाडी सहभागी दौडमा बहराइनकी जिसा मोकानिन् डेसीले दौड पूरा गर्न सकिनन् ।

बहराइनकै पाउल छुम्बा युनिस छेबिचीले पहिलो स्थान हात पार्ने क्रममा २ घण्टा २६ मिनेट १४ सेकेन्डको समय निकालिन् ।

एथ्लेटिक्समा नेपालबाट म्याराथनमा दुईसहित कूल ८ खेलाडी सहभागि थिए । जसमा पुरुष १० हजार मिटरमा दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाए भने अन्य खेलाडीले सवचे जस्तो प्रदर्शन गर्न सकेनन् ।

राजपुरा पछाई, फुलमति राना र गोपीचन्द्र पार्कीले आफ्नो टाइमिङमा सुधार गरेपनि राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् । फुलमती रानासहित सोम बहादुर कुमाल र सन्तोषी श्रेष्ठले २-२ इभेन्टमा सहभागि जनाएका थिए ।

करातेमा पहिलो दिन निराश

१९ औं एसियाडमा पदकको आशा गरिएको खेलमध्ये रहेको करातेको स्पर्धा बिहीबारदेखि सुरु हुँदा नेपालले पहिलो दिन निराशाजनक प्रदर्शन गरेको छ ।

पहिलो दिन कातातर्फ दुई  र कुमुतेतर्फ एक खेलाडीले प्रतिस्पर्धा गरेका थिए तर पदकसम्म पुग्न सकेनन् । व्यक्तिगत कातामा पुरुष र महिलामा नेपालको चुनौती पहिलो दिनै सकिएको छ ।

पुरुषतर्फ सोनिम मानन्धर र महिलातर्फ एलिसा रास्कोटी मगरले पहिलो चरण नै पार गर्न सकेनन् ।

पहिलो चरणमा महिला र पुरुष दुवैको दुई-दुई पुलमा राखेर प्रतिस्पर्धा गराइएको थियो । जसमा दुवै पुलबाट शीर्ष चार-चार खेलाडी अर्को चरणमा प्रवेश गरे । नेपाली खेलाडी भने शीर्ष चारमै पर्न सकेनन् ।

पहिलो चरणमा महिलातर्फ १६ र पुरुषतर्फ १३ खेलाडी प्रतिस्पर्धा गरेका थिए ।

चतानयारा कुशांकु काता प्रस्तु गरेका  सोनिमले ३८.३ अंक जोड्दै पाँचौ स्थानमा रहे । उनी चौथो भएका भिएतनामका मिन फाम भन्दा थोरैले पछि परेका थिए । फामले ४० अंक जोडेका थिए । यस पुलमा ८ खेलाडी समावेश थियो ।

महिलातर्फ एलिसाले ३७.३ अंक जोडेर ८ खेलाडी सम्मिलित पुलको छैटौं स्थानमा रहिन् ।

१९औं एसियाडमा करातेतर्फ नेपालबाट कातामा २ खेलाडीले मात्र सहभागिता जनाउँदा टिम काता सहभागी छैन् ।

कुमुतेतर्फ भने नेपालका ६ खेलाडी सहभागी छन् । जसमा बिहीबारै भएको कुमुतेतर्फ पुरुष ७५ केजी तौल समूहमा मोहमद सेखु आलम पराजित भएका छन् ।

उनी पहिलो खेलमा एसियन च्याम्पियनसिपका स्वर्ण विजेता कजाकस्तानका नुराकानात अझिकानोभसँग ५-० ले पराजित भए ।

अजिकानोभ फाइनल पुगेपछि सेखु आलमले रिपेचेज खेल्ने मौका पाएका थिए । रिपेचेजमा पनि उनले पहिलो राउण्डमा बाई पाएका थिए तर त्यसपछि रिपेचेजको दोस्रो कीर्गिस्तानका नाजिम नुर्लानोभसँग २-० ले पराजित हुँदै बाहिरिए ।

कुमुतेकै विप्लभ श्रेष्ठले शुक्रबार ८४ केजी तौल समूहको अन्तिम १६ चरणमा ताजिकिस्तानका उमेद साफारोभसँग, निरुपा तामाङले ६१ केजी तौल समूहको अन्तिम १६ चरणमा बंगलादेशकी हुमाइरा अख्तर अन्तरासँग खेल्नेछन् ।

यस्तै एरिका गुरुङले ६८ केजी तौलको क्वाटरफाइनलमा जापानकी युजुकी सावाएसँग खेल्नेछिन् भने सन्तोष श्रेष्ठले ६७ केजी तौल समूहको अन्तिम १६ मा थाईल्याण्डका चाइवाट फियान्दीसँग खेल्नेछन् ।

सविना श्रेष्ठले भने १९औं एसियाडको समापनको दिन आइतबार ५० केजी तौल समूहको अन्तिम ३२ मा चीनकै रानरान लीसँग खेल्नेछिन् ।

कुस्तीमा सिवाङ्गी पराजित

१९औं एसियाड अन्तर्गत कुस्तीतर्फ बिहीबार नेपालकी सिवाङ्गी दुवे पराजित भएकी छन् ।

महिला फ्रिस्टाइल ५७ केजी तौल समूहमाको प्रिक्वाटरफाइनलमा सिवाङ्गी थाइल्याण्डकी स्रिप्रापा थो काएवसँग ८-० ले पराजित भइन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?