+
+

किसानलाई भुक्तानी नदिने डीडीसी भन्छ- पैसा छैन, घिउ लैजाऊ

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० असोज १९ गते २०:२६

१९ असोज, काठमाडौं । काभ्रेको मण्डनदेउपुर– २ की किसान शान्ति नेपालले आफ्नो गाउँको सहकारीलाई दूध बिक्री गरेको तीन महिनाको पैसा पाउनुपर्नेछ ।

पाँच वर्षदेखि दूध बिक्री गरेर घरखर्च टारिरहेकी उनले सहकारीलाई आफ्नो दूधको पैसा आए–नआएको हरेक दिन गएर सोध्छिन् । तर, उद्योगबाट पैसा आएको जवाफ पाउन्नन् ।

‘दाना, चोकर र श्रमको खर्च एकातिर, पैसा नआउने समस्या अर्कोतिर’ शान्तिले लामो सास फेर्दै अनलाइनखबरसँग भनिन्, ‘अब दूध बिक्री गर्ने किसानले घिउ किन्नुपर्ने र दूधको मूल्य त्यसैमा कटौती गर्नुपर्ने प्रस्ताव आएको छ । दुग्ध विकास संस्थान (डीडीसी)ले नै दूधको पैसा बराबरको घिउ दिने प्रस्ताव गरेको छ । पैसा नपाएपछि दशैं कसरी मान्ने?’

शान्ति नेपालले गाउँकै आँपघारी दुग्ध उत्पादन सहकारी संस्थामा दूध बिक्री गर्ने गरेकी थिइन् । सहकारीका अध्यक्ष कृष्णप्रसाद नेपालकाअनुसार सहकारीमा आबद्ध डेढ सय किसानले तीन महिनादेखिको रकम भुक्तानी पाएका छैनन् ।

उनका अनुसार सहकारीले नै सरकारी स्वामित्वको दुग्ध विकास संस्थानबाट लाखौं भुक्तानी नपाएपछि किसानको भुक्तानी रोकिएको हो । अहिले आएर संस्थानले प्रतिनिधि मार्फत दूधको पैसा बराबरको घिउ किनेर कटाउन भनेको नेपालले बताए ।

‘यहाँका किसानहरूले २०४८ सालदेखि दूध उत्पादन र बिक्री गरिरहेका छन् । हामीले पहिलोपटक यस्तो समस्या भोगिरहेका छौं’ नेपालले भने, ‘महिनामा दुई पटक गरेर हामीले ६ पटकको पैसा पाउन बाँकी छ ।’

दूधको पैसा माग्दा उल्टै दूध कटौती गरेर मिल्क होलिडे गर्ने धम्की पाइरहेको उनले बताए । जिल्लाभर नै यस्तो हुँदा पनि सरकार र सरोकारवाला निकाय नबोलेको भन्दै उनले आपत्ति समेत जनाएका छन्।

काभ्रेको जस्तै समस्या मकवानपुरका किसान पनि झेलिरहेका छन् । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ५३ वटा सहकारी संस्था र थप ८ वटा गरी ६१ वटा संस्थाले दुग्ध कारोबार गर्छन् । उनीहरूले छुर्पी उत्पादन गर्ने जिल्लाकै एक निजी कम्पनी, काठमाडौं र पोखरा केन्द्रित निजी डेरी र सरकारी स्वामित्वको डीडीसीलाई दूध बेच्ने गरेका थिए । तर, तीमध्ये कसैले पनि किसानलाई भुक्तानी दिन सकेका छैनन् । दैनिक ५० हजार लिटर दूध उत्पादन हुने जिल्लाका किसानले मात्रै करिब ३२ करोड रुपैयाँ दूधको भुक्तानी पाउन बाँकी रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष कुमारमणि दाहालले बताए ।

‘कोभिडमा पनि नभएको समस्या हामीले भोगिरहेका छौं । अहिले दूध उत्पादन बढेको छ, यही बेला किसानहरू भुक्तानी पाइरहेका छैनन्’ दाहाल भन्छन्, ‘बजारमा दूधको खपत नभएको र दूधबाट बनाइएको अन्य प्रडक्टको समेत बिक्री नभएको बहानामा उद्योगीहरूले भुक्तानी रोकेका छन् ।’

केन्द्रीय दुग्ध सहकारी संघका अनुसार दूध किसानको भुक्तानी समस्या अहिले देशभर छ । सहकारीबाट उठेको दूधको खपत नभएको भन्दै सरकारी तथा निजी डेरीहरूले समयमै रकम भुक्तानी नगर्दा किसानको करिब साढे २ अर्ब रुपैयाँ उधारो बाँकी रहेको संघले जनाएको छ ।

संघका अध्यक्ष मोहन कुँवरका अनुसार यो रकम र पीडित किसानको संख्या अझै बढ्न सक्ने देखिएको छ । देशभर दैनिक २४ लाख लिटर दूध उत्पादन भइरहेको छ । ‘किसानले १५–१५ दिनमा पाउनुपर्ने भुक्तानी ७औं पटकसम्म पाएका छैनन् । अर्थात् साढे ३ महिनाको भुक्तानी किसानले पाएका छैनन्’, अध्यक्ष कुँवरले बताए ।

सरकारी संस्थानले साढे ३ महिना र निजी डेरीहरूले साढे २ महिनासम्मको भुक्तानी रोकेको उनले बताए । किसानहरूको समस्याबारे छलफल गर्न र सरकारको ध्यानाकर्षणका लागि संघको केन्द्रीय समिति बैठक बोलाइएको र देशभरका सहकारीबाट विवरणहरू माग गरिएको अध्यक्ष कुँवरले बताए ।

डेरी सञ्चालक नै भन्छन्, करिब ६ अर्ब उधारो पुग्यो

दैनिक बजारमा कति दूध बिक्री हुन्छ भन्ने तथ्यांक कसैसँग पनि छैन । निजी डेरी सञ्चालकहरूको संस्था नेपाल डेरी एशोसिएसनले दैनिक ३१ लाख लिटर दूध बजारमा आउने गरेको दाबी गरेको छ । ‘हामीले किसानलाई २ महिनादेखि भुक्तानी दिन सकेका छैनौं’ एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले भने, ‘डीडीसी र निजी क्षेत्रको गरेर ६ अर्ब हाराहारी भुक्तानी दिन बाँकी हुनसक्छ । तर, यसमा विस्तृत अध्ययन गर्नुपर्छ ।’

सरकारी स्वामित्वको डीडीसी र निजी डेरीहरूले दूध र दुग्धजन्य वस्तुहरूको बिक्री घटेकाले किसानको रकम भुक्तानी गर्न नसकेको बताएका छन् । अहिले डेरी क्षेत्रमा संकट गहिरिएको र त्यसबाट किसानलाई समस्या पर्नु स्वाभाविक भएको उनीहरूको दाबी छ । ‘दूध र यसबाट बन्ने सबै प्रकारका वस्तुको खपत निकै कम भएको छ । काठमाडौं उपत्यकामा ९ प्रतिशत र बाहिर १४ प्रतिशत यी वस्तुको उपभोग घट्दा उत्पादनहरू मौज्दातमा थुप्रिन थालेको छ’, डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बताए । अहिले दैनिक खपतभन्दा ४० हजार लिटर बढी दूध संस्थानमा जम्मा भइरहेको उनले दाबी गरे ।

काठमाडौं सहित विराटनगर, चितवन सबैतिरको भण्डारण भरिएको उनले दाबी गरे । उनले भने, ‘६० करोडभन्दा बढी रुपैयाँको सामान हरेक दिन थन्क्याउनु परेको छ । दैनिक ३५ देखि ४० हजार लिटर दूध कन्भर्जनका लागि पठाउनु परेको छ ।’ किसानको रकम भुक्तानी जटिल बन्दै गरेको स्वीकार्दै महाप्रबन्धक झाले दूधको पैसाको साटो तत्काललाई घिउ लगेर बक्यौता घटाउन सहकारी मार्फत किसानलाई आग्रह गरिरहेको उनले स्वीकार गरे ।

दुग्ध पदार्थ खपतका लागि अपिल गर्न सार्वजनिक सूचना जारी गरिएको समेत डीडीसीले जनाएको छ । नेपाल डेरी एशोसिएसनले पनि किसानलाई दूधको पैसा तिर्न नसकिएको जनाएको छ । आफ्नो क्षेत्रमा आएको दूध बिक्री नहुँदा पाउडर बनाएर थन्क्याउनु परेको संघका अध्यक्ष प्रल्हाद दाहालले बताए । लम्पी स्किनका कारण भन्दै बजारमा दूधको खपत घटेको, भारतबाट सस्तोमा दूध आयात भएको र मन्दीका कारण बजारमा दूधको खपत घट्दा समग्र बजार चक्र बिग्रिएको संघको दाबी छ ।

किसानसँग दूध किनिरहन र भुक्तानी नरोक्न सचेत गराएको मन्त्रालयको दाबी

दुग्ध किसानको समस्या समाधानका लागि पहल गरिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलाई किसानबाट दूध संकलन जारी राख्न र भुक्तानी नियमित गर्न आग्रह गरिएको मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता सबनम सिवाकोटीले बताइन् । सरकारीबाट भन्दा पनि निजी क्षेत्रबाट किसानलाई तिर्न बाँकी बक्यौता धेरै रहेको उनले बताइन् ।

‘हरेक १५ दिनमा हुने दूधको भुक्तानी अहिले लामो समयदेखि रोकिएको भन्ने गुनासो आएको छ’ प्रवक्ता सिवाकोटीले भनिन्, ‘हामीले डीडीसीलाई नियमित रुपमा भुक्तानी गर्न र समस्या समाधान गर्न भनेका छौं । दूधको सहउत्पादन बनाएर राख्न पनि निर्देशन दिएका छौं ।’ दुग्ध किसानलाई समस्या आउन नदिने बारेमा मन्त्रालय सचेत रहेको भन्दै थप छलफल र सहजताका लागि काम गरिने उनले दाबी गरिन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?