+
+

१९औं एसियाडको भव्य समापन, २०औं संस्करण जापानको आइची नागोयामा हुने

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज २१ गते २०:१४

२१ असोज, हान्झाउ । तीन वर्षपछि जापानमा भेट्ने वाचासहित १९औं एसियाली खेलकुद (एसियाड)को आइतबार भव्य समापन भएको छ ।

हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भव्य समारोहकाबीच हान्झाउ एसियाडको समापन गरिएको हो ।

बिग लोटस स्टेडियममा करिब दुई घण्टा चलेको समारोहमा विभिन्न प्रस्तुति समेत भएको थियो ।

२०२६ मा हुने २०औं संस्करणको आयोजक जापानको आइची नागोयालाई झण्डा हस्तानतरण गर्दै १९औं एसियाड समापन भएको हो ।

ओलम्पिक काउन्सिल अफ एसिया (एसिया) का एक्टिङ प्रेसिडेन्ट राजा रणधिर सिंहले १९औं संस्करणको समापन भएको घोषणा गरे ।

उनले आइची प्रोफेक्चरका गभर्नर नागोयाका डेपुटी मेयरलाई ओसीएको झण्डा हस्तान्तरण गरे । समापन समारोहमा चीनका प्रधानमन्त्री लि छ्याङ उपस्थित थिए ।

एसियन गेम्सको सेलेब्रेसन सहित सहभागी देशका खेलाडीको मार्च पास गरिएको थियो । समापन समारोहका १९औं एसियाडको भिडियो हाईलाइट्ससहित विभिन्न उत्कृष्ट क्षणहरुको भिडियो देखाइएको थियो ।

यस्तै तीन वर्षपछि २०औं एसियाड आयोजना गर्ने आइची नागोया शरहको कलात्मक प्रस्तुति समेत देखाइएको थियो ।

यस्तै डिजिटल टर्चबियरले ओलम्पिक ज्योती निभाएका थिए ।

अन्तिममा हान्झाउ एसियाडको मुख्य नाराको रुपमा रहेको हार्टु हार्टको प्रस्तुति देखाइएको थियो ।

भव्य आयोजनामा चीनको कीर्तिमान

कोभिड १९ का कारण एक वर्ष पछि सरेको एसियाडलाई भव्य बनाउनका लागि चीन र हान्झाउ शहरले कुनै कसर बाँकी नराखी भव्य रुपमा आयोजना गरे ।

२३ सेप्टेम्बर मा चिनियाँ राष्ट्रपति सि जिङफिङले उद्घाटन गरेको १९औं एसियाड १६ दिन सञ्चालन भएको थियो । आयोजक चीनले पदक तालिकामा दबदबा कायम राख्दा आयोजना पनि भव्य रुपमा गर्‍यो ।

अहिलेसम्मकै ठूलो एसियाडको रुपमा रहेको हान्झाउमा ४५ देशका १२ हजार भन्दा बढी खेलाडी ले ४८१ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

सहभागी ४५ मध्ये ४१ राष्ट्रले पदक जिते ।

जसमा आयोजक चीनले कीर्तिमानी २०१ स्वर्ण जित्दै आफ्नो प्रभुत्व कायम राख्दा जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भयो ।

यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो ।

जसमा चीनले सर्वाधिक २०१ स्वर्ण १११ रजत र ७१ कास्यहसित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो ।

जापान ५२ स्वर्ण ६७ रजत ६९ कास्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कास्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो ।

भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत ४१ कास्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो । नेपाल एक रजत र एक कास्य जित्दै संयुक्त रुपमा ३३औं स्थानमा रह्यो ।

नेपालक लागि करातेकी एरिका गुरुङले रजत र महिला कबड्डी टिमले कास्य जिते ।

समापन समारोहको मार्सपासमा नेपालको झण्डा ऐतिहासिक रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङले बोकेकी थिइन् ।

नेपालले २९ खेलमा २५३ खेलाडी सहभागि गराएको थियो । जसमा अधिकांश खेल यसअघि नै सकिएकाले स्वदेश फर्किसकेका छन् ।

समापन समारोहमा पदक जितेका कराते र महिला कबड्डीका खेलाडीका साथै महिला भलिबल, डान्स स्पोर्ट्स, क्यानोई, कुस्ती र भारोत्तोलनका खेलाडीहरुसहित नेपाली अफिसियलहरु उपस्थित थिए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?