+
+

काठमाडौंका तीन सडकखण्ड एकतर्फी बनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते ११:३०

२२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डलाई एकतर्फी बनाइने भएको छ ।

कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक एकतर्फी बनाउन लागिएको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

यसैगरी त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिङ्गाल निस्किने सडक पनि एकतर्फी बनाउन लागिएको प्रवक्ता भट्टले जानकारी दिए ।

ती सडक एकतर्फी बनाउने निर्णय भइसके पनि त्यसको जानकारी दिन ट्राफिक सङ्केत र सार्वजनिक सूचना निकाल्न बाँकी छ । सार्वजनिक सूचना प्रकाशित भएपछि केही दिन यात्रु र चालकहरुलाई एकतर्फी बनाइएकोबारे जानकारी दिइने छ । त्यसपछि  कार्यान्वयनमा जाने र नियम उल्लंघन गरेमा जरिमानासहितको कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ ।

निर्णय कार्यान्वयनमा आएमा त्रिपुरेश्वरबाट काठमाडौं-ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै सानेपा तर्फ जान पाइए पनि सोही बाटो भएर त्रिपुरेश्वरमा फर्किन पाइने छैन । ललितपुरतर्फबाट त्यो बाटो यात्रा गर्नेहरूले टेकुतर्फ जाने सडक प्रयोग गर्नुपर्ने छ ।

त्यस्तै जमल र दरबारमार्गबाट रत्नपार्कतर्फ आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट वायाँ मोडिएर महेन्द्र शालिकतर्फ जान पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?