+
+

विपिन कार्की स्टारर ‘भष्मे डन’को ट्रेलर : सुनले सुख ल्याउला कि दुःख ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १६:३२

काठमाडौं । विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक भएको छ । सात वर्षअघि रिलिज भएको ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखलाको रुपमा बनेको यो फिल्मले भष्मे डन पात्रको कथा पेश गर्छ ।

तीन मिनेट लामो ट्रेलर भष्मे डन पात्रको वरपर घुम्छ । ‘सात वर्षपछि सुनले सुख ल्याउला कि दुःख’ भनेर प्रश्न गर्दै निर्देशकले ‘भष्मे डन’ पात्रमार्फत धनभन्दा मानवीय सम्बन्ध महत्वपूर्ण हुने सन्देश दिन चाहेका छन् । ट्रेलरले फिल्मको महत्वपूर्ण अध्यायबारे खुलासा गर्छ ।

पशुपति क्षेत्रमा कब्जा जमाएर बसेको भष्मे डनलाई यतिबेला अर्को डनको चुनौती आइलागेको छ । दोस्रो श्रृंखलामा भष्मेले सौगात मल्लको पात्रको चरित्रसँगको लडाइँ लड्नुपर्छ । अर्कोतर्फ, भष्मेसामु आफ्नै अस्तित्व र पहिचानको लडाइँ लड्नुपर्ने चुनौती छ । द्वन्द्वका दुई आयाममार्फत निर्देशक र लेखकले पात्रलाई मानवीयकरण गर्ने प्रयत्न गरेका छन् ।

कुल मिलाएर ‘पशुपतिप्रसाद २’ भष्मे डन पात्रको नकारात्मकतादेखि सकारात्मकता तर्फको यात्राको कथा हो । अघिल्लो भागमा खलनायक चरित्रमा भष्मेलाई उतारेका निर्देशकले दोस्रो श्रृंखलामा भने उसमा आएको जीवनबोधलाई उतारेका छन् । भष्मे डनको भूमिकामा विपिन कार्कीले अभिनय गरेका छन् ।

साथै, ट्रेलरमा स्वस्तिमा खड्कासँग भष्मेको रोमान्टिक किस्सालाई पनि प्रस्तुत गरिएको छ । ट्रेलरको अन्त्यमा भष्मेले दिवंगत भइसकेको उसको मित्र पशुपतिप्रसादलाई स्मरण गर्छ । यो दृश्यले पक्कै पनि दर्शकलाई भावनात्मकरुपमा उद्देलित तुल्याउने पक्का छ ।

ट्रेलरमा प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, सजन थापा मगर, माओत्से गुरुङका चरित्रलाई पनि प्रस्तुत गरिएको छ । सात वर्षपछि पनि यी पात्रको जीवनमा खास ठूलो परिवर्तन छैन । उनीहरु पशुपति क्षेत्रमा बसिरहेका छन् ।

टुकी आर्ट्सको ब्यानरमा फिल्मलाई खगेन्द्र लामिछानेले निर्माण गरेका हुन् । फिल्म दशैंको फूलपातीमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?