+
+

सर्लाहीको बागमतीका मेयर थापामाथि दीपेन्द्रले फिल्म ‘मेयर’ बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १२:३४
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा (दायाँ) र फिल्म निर्देशक दीपेन्द्र के खनाल

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले आगामी फिल्म ‘मेयर’को घोषणा गर्दा धेरैले काठमाडौंका बालेन शाहलाई सम्झिए । तर खनालले अर्का एक मेयरमाथि बायोपिक फिल्म बनाउने भएका छन् ।

सुशासन र पर्यटन क्षेत्रमा गरेको कामबाट प्रशंसा पाइरहेका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापामाथि दीपेन्द्रले फिल्म ‘मेयर’ बनाउन लागेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै दीपेन्द्रले यो फिल्मको छायांकन माघबाट सर्लाहीमै हुने जनाए ।

गत वर्ष भएको स्थानीय तहको चुनावमा थापा नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए ।

पहिलो कार्यकालमा मेयर थापाले नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न भूमिका खेले । ठूलो कृत्रिम तालको निर्माण गरी पर्यटक आकर्षणदेखि आम्दानी गर्नेसम्मको बनाएका छन् ।

आफूले पर्यटकीय नगरीको रुपमा विकास गर्न चालेका सबै कदम अबको दुईदेखि तीन वर्षमा पूरा भएपछि कम्तीमा २० हजारले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने मेयर थापाको दाबी छ । उनले गरेको कामले नै उनलाई सर्वसाधारणले विश्वास गरेको स्थानीयबासीको भनाइ छ ।

फिल्मको कुरा गर्दा यो फिल्मलाई सागर मैनाली र अरविसा थापाले निर्माण गर्न लागेका हुन् । निर्देशक खनालले यसलाई बायोपिक फिल्म बताए । ‘यो फिल्म लगभग बायोपिक हो,’ खनालले भने, ‘माघदेखि सुटिङमा जाने तयारीमा जुटेका छौं ।’

फिल्ममा अहिलेसम्म अभिनेता प्रकाश घिमिरे मात्र फाइनल छन् । तर उनी भीरबाट लडेर घाइते भएपछि अस्पतालमा उपचाररत छन् । मेयर थापाको भूमिकामा कसले अभिनय गर्छ भन्ने निधो चाहिं केही दिनमा टुंगो लाग्ने निर्देशक खनालले बताए ।

‘मेयर’पछि निर्देशक खनाल ‘आमा’को दोस्रो श्रृंखला निर्माणमा जुट्नेछन् । अहिले हलमा उनी निर्देशित ‘पशुपतिप्रसाद : भष्मे डन’ प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?