+
+

मुम्बई फेस्टिभलमा नेपाली फिल्मको दबदबा, ‘रेड सुटकेस’, ‘गुराँस’देखि ‘गाउँ आएको बाटो’सम्म छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १६:४९
फिल्म 'गाउँ आएको बाटो'को एक दृश्य

काठमाडौं । यस वर्षको मुम्बई फिल्म फेस्टिभलमा नेपाली फिल्मको दबदबा देखिएको छ । प्रियंका चोपडा अध्यक्ष रहेको फेस्टिभलले सोमबार लाइनअप सार्वजनिक गरेको छ, जहाँ नेपाली निर्माता-निर्देशकको संलग्नता रहेका आधा दर्जन फिल्म समावेश छन् ।

टोरन्टो र बुसानजस्ता विश्व प्रतिष्ठित फेस्टिभलमा प्रिमियर भइसकेको नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ यो फेस्टिभलको ‘आइकन्स : साउथ एसिया’ खण्डमा छानिएको छ ।

भेनिसमा विश्व प्रिमियर भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुट्केस’ र सौरभ राई निर्देशित ‘गुराँस’ फेस्टिभलको साउथ एसिया कम्पिटिसन विधामा छनोट भएका छन् । रोचक कुरा के छ भने प्रतिस्पर्धी खण्डमा छानिएका यी दुवै नेपाली फिल्मको निर्माताको रुपमा आइसफल प्रोडक्सन छ ।

आफूले निर्माण गरेका दुवै फिल्म फेस्टिभलमा छनोट भएकोमा निर्माता रामकृष्ण पोखरेलले खुसी व्यक्त गरे । ‘यो प्रतिस्पर्धाभन्दा पनि प्रतिनिधित्वको कुरा हो । यसलाई मैले राम्रा फिल्ममार्फत नेपालको प्रतिनिधित्व भएको अर्थमा बुझेको छु,’ उनले भने । प्रतिस्पर्धी खण्डमा नेपाल र भारतको संयुक्त लगानीको फिल्म ‘बहादुर : द ब्रेभ’ पनि छनोट भएको छ जसलाई दिवा शाहले निर्देशन गरेकी हुन् ।

फिचर फिल्मबाहेक यो संस्करणमा नेपाली सर्ट फिल्मले फेस्टिभलमा ठाउँ पाएका छन् । विदुषी गिरीको ‘चिसो घर’, आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि फेस्टिभलमा छनोट भएका छन् । यी तीनै फिल्मको वर्ल्ड प्रिमियर हुनेछ भने तीनवटै सर्ट फिल्म हुन् । ‘चिसो घर’लाई सिमल सिनेमाले निर्माण गरेको हो भने बाँकी दुई फिल्म भने यूएई र अमेरिकाको सहकार्यमा बनेका हुन् ।

अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने फेस्टिभलमा यो वर्ष २५० फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ । फेस्टिभलमा ४० फिल्मको वर्ल्ड प्रिमियर, ४५ को एसिया प्रिमियर, ७० वटाको साउथ एसिया प्रिमियर हुनेछ । फेस्टिभलमा उद्घाटन र समापनमा देखाइने फिल्मको नाम भने सार्वजनिक गरिएको छैन ।

गाउँ आएको बाटो’ साओ पाउलोमा पनि

टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ ब्राजिलको प्रतिष्ठित साओ पाउलो फिल्म फेस्टिभलमा पनि छनोट भएको छ । यो फेस्टिभल अक्टोबर १९ देखि नोभेम्बर १ सम्म आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?