+
+

हमास निमिट्यान्न पार्ने इजरायली प्रतिबद्धता पूरा होला ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १५:०४

२५ असोज । १८ वर्षअघि गाजा स्ट्रिपबाट पछि हटेको इजरायलले त्यहाँ दुई पटक हमला गरिसकेको छ । कास्ट लिड नाम दिएर उसले पहिलो हमला गरेको थियो ।

सन् २००९ मा १५ दिन स्थलगत रुपमा इजरायलले युद्ध गरेको थियो । यस्तै सन् २०१४ मा ‘प्रोटेक्टिभ एज’ अपरेशन १९ दिनसम्म चलाएको थियो ।

हमासले इजरायल परिधिमा छिरेर बर्बरतापूर्वक हमला गरेपछि इजरायले अहिले तेस्रो पटक गाजामा हमला गरिरहेको छ । प्यालेस्टाइन सशस्त्र समूह हमास विगतको भन्दा बृहत र बर्बर देखिएको छ ।

आफ्ना नागरिक मरेपछि आक्रोशित इजरायलले हवाइ हमला, मिसाइल तथा जलसेनाबाट गाजामा हमला गरिरहेको छ । विगतमा गाजामा हमला गर्दा इजरायलले चेतावनी दिने गर्थ्यो । यसपटक विना चेतावनी धमाधम हमला गरिरहेको छ । विगतमा हमलाअघि उसले आकाशमा लडाकु विमान पठाएर साइरन मार्फत हमलाको संकेत दिन्थ्यो । तर उसले अहिले विना कुनै चेतावनी गाजामा अन्धाधुन्ध आक्रमण गर्दा ९०० प्यालेस्टाइनको ज्यान गएको छ । मारिएकामध्ये अधिकांश निहत्था नागरिक छन् ।

इजरायली राजनीतिक नेताहरुले स्थलगत रुपमा समेत हमलाका लागि सेना पठाइसकेका छन् । यसको उद्देश्य तस्करीका लागि प्रयोग हुने सुरुङ आफ्नो नियन्त्रणमा लिनु हो । हातहतियार तथा खाद्यान्न तस्करीका लागि प्रयोग हुने सुरुङ कब्जा गर्ने इजरायली सेनाको रणनीति छ ।

यस्तै, इजरायली सेनाले सहरी युद्ध गर्न खोजेको छैन । उसको अर्को रणनीति भनेको २० लाख मानिस रहेको गाजा स्ट्रिप नियन्त्रणमा लिनु हो । हमासको अत्याचारलाई ध्यानमा राख्दा यी रणनीति पनि अपर्याप्त रहेको इजरायली सेना बताउँछ । यसले हमासलाई निमिट्यान्न पार्नका लागि अन्य विषयमा ध्यान दिनुपर्ने बताएको छ ।

इजरायली सेनाका प्रवक्ता रिचर्ड हेच भन्छन्, ‘परिस्थिति हामीले सोचेको भन्दा जटिल र पृथक छ । हामी हमासविरुद्ध निकै आक्रोशित छौं । हमासलाई निमिट्यान्न पार्नका लागि हामी सकेजति उपाय अवलम्बन गर्नेछौँ । परम्परागत मान्यता र शैली अबको सैन्य रणनीति हुने छैन । इजरायली नेताहरुले हमासलाई निमिट्यान्न पार्ने कसम खाइसेका छन् ।’

संयुक्त राष्ट्रसंघका लागि इजरायली प्रतिनिधि जिल्ड आर्डेनले पनि हमास विस्तार हुनै नसक्ने गरी ध्वस्त बनाउनुपर्ने आवश्यकता रहेको बताउँछन् । ‘हिंसात्मक बाटो समाउनका लागि हमासलाई हिम्मत नै आउन नदिने गरी कदम चाल्नु आजको आवश्यकता हो । हिंसा मच्चाउने हमासको सम्पूर्ण शक्ति र पूर्वाधार ध्वस्त बनाउनैपर्छ  ताकी आगामी दिनमा कोहीमाथि बर्बर हमला नहोस् ।’

कफर अज्जामा हमासलाई मार्ने नाममा इजरायलले भीषण नरसंहार मच्चाएको  छ । तथापि गाजाका बासिन्दामा कुनैपनि त्रास नरहेको एक इजरायली सेनाका अधिकारीले दाबी गरेका छन् । ‘हमास आइसआइएसझैँ बनेको पाइयो । गाजाका बासिन्दाहरु त्रसित हुनुभन्दा झनै खुशी थिए । मानवीय आवरणका जनावरहरुप्रति कुनै दया राखिनेछैन’, ती अधिकारीले भने ।

गाजाबाट हमासलाई निमिट्यान्न पार्ने काम कठिन रहेको डेनियल बेम्यान बताउँछन् । परोपकार, विद्यालय तथा मस्जिद निर्माणमा हमासले सघाएकाले उसप्रति मानिसहरुको छुट्टै आकर्षण रहेको उनको बुझाइ छ ।

इजरायलले विगतमा पनि गाजा छोडेकाले यसपटक पनि छोड्ने उनको विश्लेषण छ । ‘हमासलाई गाजाबाट निमिट्यान्न पार्न इजरायलका निम्ति सम्भव छैन । गाजाको पूर्ण कब्जा असम्भव मात्रै होइन महंगो पनि छ । त्यसैले सन् २००५ मा इजरायल त्यहाँबाट पछि हट्यो । वेस्ट बैंकमा पनि उसले हमास विरुद्ध प्यालेस्टाइन अधिकारीहरुको प्रयोग गर्‍यो । उसको त्यस रणनीति पनि सफल भएन’, बेम्यानले भने, ‘गाजामा सकेसम्म कम क्षति गराउनु इजरायली राजनीतिज्ञको प्राथामिकता हुनुपर्छ अन्यथत त्यहाँ इजरायलीहरुकै क्षति बढ्नेछ ।’

इजरायलले त्यहाँ कास्ट लिडको विकल्प सोच्नुपर्ने हुन्छ । तर इजरायलको रक्षा बल त्यसका लागि तयार भएको छैन । अहिलेको अवस्थामा उसले ३ लाख ६० हजार जनशक्ति परिचालन गरेको छ । सन् १९७३ मा भएको योम किपुर युद्धमा भन्दा बढी जनसशक्ति हाल परिचालन गरिएको हो ।

यसमा परिचालितमध्ये अधिकांश लडाकु होइनन् । उनीहरु खुफिया, हवाइ बल तथा ढुवानीमा केन्द्रित जनशक्ति हुन् । इजारयली रक्षा बलले त्यहाँ दुई बख्तरबन्द डिभिजन र एउटा हवाइ डिभिजन परिचालनसहित पाँचवटा ब्रिगेड पठाएको छ । कतिपय युनिट अझैपनि हतियारको प्रतीक्षामा रहेका छन् । कतिपय हमाससँगको भिडन्तमा कमजोर भएका छन् ।

गाजामा ठूलै हमला गर्ने हो भने इजरायलले दुईवटा बख्तरबन्द सहितका ब्रिगेडलाई ६ किलोमिटर पश्चिमको तटमा वा मध्ये सहर देयर अल बलहातर्फ पठाउनुपर्ने हुन्छ ।  यस्तै तीनवटा ब्रिगेड उत्तरी इलाका र दुई दक्षिणी इलाकामा तैनाथ हुनुपर्नेछ ।

यसरी तैनाथ हुने सेनाको लक्ष्य हमास र प्यालेस्टाइन जिहाद हुनेछन् । तर यो तहको हमला गर्दा धेरै निहत्था मानिसहरु ठूलै संख्यामा हताहती हुनेछन् । गाजामा हमासले सय किलोमिटरसम्मको सुरुङ बनाएको छ । ती सुरुङमा हातहतियार रहेकाले त्यसलाई ध्वस्त पार्ने इजरायली सेनाको लक्ष्य हो । तर उसले सकेसम्म शहरी युद्ध टार्न खोजेको छ ।

सन् २०१४ मा हमासले सानो तर भारी रुपमा हतियार सुसज्जित लडाकु समूह तैनाथ गरेको थियो । उनीहरुसँग अत्याधुनिक मेसिन गन, अत्याधुनिक क्षेप्यास्त्र तथा ग्रिनेड थिए । उनीहरुले इजरायली पक्षलाई झुक्याउनका निम्ति इजरायली रक्षा बलको पोशाक समेत लगाएका थिए । हमासको युद्धकलाबारे अनुसन्धान गरेको रान्ड कर्पोरेसनले भनेको छ, ‘इजरायली सेनाविरुद्ध लड्नका लागि हमासका लडाकुहरु निकै प्रतिबद्ध मात्रै छैनन् उनीहरुसँग युद्धका लागि आवश्यक सबै कला छन् । इजरायली सेनासँग विना त्रास उनीहरुले कुशलतापूर्वक युद्ध लडे ।’

पटक-पटकको युद्धका कारण हमासका लडाकुहरु निकै तिखारिएका छन् । यता इजरायली पक्ष पनि उत्तिकै निखारिएका छन् ।

इजरायललाई ठूलो हमलाका लागि कठिन रहेको बेम्यान बताउँछन् । ‘ठूलै हमला गर्दा सेना जम्मा हुन समय लाग्छ । धेरै जनशक्ति हताहती हुने सम्भावना उत्तिकै रहन्छ । यदि हिज्जबुल्लाहले साथ दिएको अवस्थामा इजरायली सेना ठूलै संख्यामा लेबनानतर्फको सीमामा केन्द्रित हुनुपर्ने हुन्छ’, उनले भने ।

गाजामा ठूलै हमला गर्दा बन्धक बनेका १०० इजरायली तथा विदेशी नागरिकको ज्यान जाने जोखिम पनि उत्तिकै छ । यदि इजरायलले प्यालेस्टाइन नागरिकका भवनमा आक्रमण गरेको खण्डमा हरेकलाई मार्दै जाने चेतावनी हमासले दिएको छ ।

त्यसैले इजरालयका वित्तिय मन्त्री बेजालेल स्मोरचले सेनालाई संवेदनशील परिस्थिति ख्याल राख्दै चलाखीपूर्ण कदम चाल्न  भनेका छन् । रक्षा बलले बन्धक छुटाउनका लागि छुट्टै संयन्त्र परिचालन गर्ने तयारी गरेको छ ।

१० अक्टोबारमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई इजरायललाइ सम्पूर्ण सहयोग गर्ने भन्दै अत्याधुनिक हतियार समेत त्यहाँ पठाए । यता बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरुले पनि सहयोगको प्रस्ताव गरेका छन् । यो युद्धले अरबसँगको सम्बन्ध विस्तारमा पर्ने प्रभावबारे विभिन्न आँकलन समेत भइरहेका छन् । तर अहिले इजरायली नेताहरुको प्राथामिकता गाजाको कब्जा र हमासको अन्त्य रहेको छ । तर हमासको अन्त्य सहज छैन । जसै इजरायली रक्षा बलले गाजा छोड्नेछ, त्यही मौकामा बंकरबाट बाहिरिँदै हमासका लडाकु तैनाथ हुनेछन् । यदि इजरायलले हमासलाई निमिट्यान्न बनाए पनि त्यस इलाका हेर्ने जिम्मेवारी कसलाई दिने भन्ने विषय पनि प्रमुख छ ।

आफ्नो लामो राजनीतिक कालखण्डमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सैन्य बल परिचालनमा निकै सजग छन् । तर अक्टोबर ७ को भयंकर असर त्यहाँ परेको छ । ‘जतिसुकै संकट र कष्टको सामना गरेर भएपनि जेसुकै मुल्यमा हमासलाइ निमिट्यान्न पार्ने प्रतिबद्धता इजरायलको छ’, विश्लेषक नटन स्याच्स भन्छन्, ‘ ९/११ को आक्रमणपछि अमेरिका जसरी फरक भयो त्यसैगरी इजरायल अहिले फरक स्थितिमा छ । अमेरिकाले अलकायदालाई निमिट्यान्न पारेझैँ इजरायलले हमासलाई निमिट्यान्न पार्ने लक्ष्य राखेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?