+
+

शाहरुख खान : बलिउडका ‘रोमान्स किङ’ कसरी बने ‘एक्सन स्टार’ ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १८:४९

काठमाडौं । तीन दशक लामो अभिनय करिअरमा तरुण युवकजस्तै आकर्षण, चम्किला आँखा र डिम्पल मुस्कानसहितको रोमान्टिक नायकको छवि अभिनेता शाहरुख खानको पर्यायवाची बन्यो । तर यो वर्ष उनी पर्दामा भिन्न अवतारसहित फर्किए, एक एक्सन स्टार बनेर ।

पछिल्लो फिल्म ‘जवान’को एक दृश्यमा तालुखुइले शाहरुखलाई रेलभित्र बन्धक बनाइएका त्रसित यात्रुले घेरेको देख्न सकिन्छ । लगत्तै उनी नृत्य गर्छन् र गीत गाउँछन् । शाहरुखलाई यस्तो रुपमा देख्ने जो कोहीलाई अन्योल महसुस हुन सक्छ ।

फिल्मको ट्रेलरमा शाहरुखले चेतावनी पनि दिएका थिए– ‘जब म खलनायक बन्छु, तब कुनै नायकले मौका पाउँदैन ।’

अभिनेता खान, भारतका एक चर्चित स्टार हुन्, जसका लाखौं प्रशंसक स्वदेश तथा विदेशमा छन् । केही समयको विश्रामपछि उनको पुनरागमन, यस वर्ष बलिउडको सबैभन्दा ठूलो सफलताको कथा हो । फिल्म क्रिटिक अनुपमा चोपडा शाहरुखलाई एक दुब्लो र लडाकु मेसिनको रुपमा व्याख्या गर्छिन् ।

शाहरुखले डन (२००६) र रईस (२०१७) जस्ता फिल्ममा पनि एक्सन अवतार पस्किए तर यी फिल्मले ‘पठान’ र ‘जवान’माजस्तो लार्जर द्यान लाइफ शैलीमा शाहरुखलाई चित्रण गरेनन् ।

फिल्म समीक्षक चोपडा भन्छिन्, ‘यी कुराले शाहरुखको करिअरमा नयाँ चरणको संकेत गर्छन् ।’

शाहरुखले सन् २०२३ को जासूसी फिल्म ‘पठान’बाट यस्ता फिल्ममा अभिनय थाले जसमा उनी उनी आतंकवादी हमलाबाट देशलाई बचाउन दौडिन्छन् । यो फिल्मले १२० मिलियन डलर कमाउँदै भारतको घरेलु बक्स अफिसमा कीर्तिमान रच्यो । उनको पछिल्लो फिल्म जवानले अभिनेतालाई दोहोरो चरित्रसहित धेरै आयाममा प्रस्तुत गरेको छ । यो फिल्मले गत महिना १८ दिनमै सबै रेकर्ड तोड्यो ।

‘हामीले अहिले पर्दामा देखेको शाहरुखको व्यक्तित्व पहिलेका फिल्ममा देखेको भन्दा धेरै फरक छ,’ चोपडा भन्छिन् ।

खानको प्रारम्भिक सफलता एन्टी हिरो भूमिकाका फिल्महरु ‘डर’ (१९९३), बाजीगर (१९९३), अन्जाम (१९९४) रहे । यी फिल्ममा उनी जुनून प्रेमी र प्रतिशोधपूर्ण व्यक्तित्वको भूमिकामा देखिए । तर १९९५ को ब्लकबस्टर ‘दिलवाले दुल्हनियाले जायेंगे’ले उनलाई रोमान्टिक नायकको रूपमा स्थापित गर्‍यो ।

त्यसबेलादेखि उनले धेरै नाटक र कमेडीमा अभिनय गरेका छन् तर उनको छवि रोमान्सको राजाको रुपमा छ । जब उनले रोमान्टिक गीतमा हात फैलाउँछन् तब यो उनको सिग्नेचर पोज बन्छ । यो दृश्यले उनका धेरै पात्रलाई परिभाषित गर्छ ।

जवान र पठानले शाहरुखका ती छविलाई कायमै राख्छन् तर त्यो भन्दा बढी स्टन्ट प्रदर्शन गर्ने बाहुबली सुपरस्टारको रुपमा पेश गरेका छन् । समालोचक राहुल देसाई भन्छन्, ‘यी दुई फिल्मले उनको करिअर र स्टारडमलाई पुनर्जीवित गरिदिए ।’

‘यी दुई फिल्मले प्रशंसक र स्टारको रुपमा उनको छविलाई कायम राख्दै निर्देशकले सामना गर्नुपर्ने कडा सन्तुलित कार्यलाई व्यवस्थापन गरेका छन्,’ चोपडा भन्छिन् ।

शाहरुखको चार वर्षसम्मको फिल्मी अनुपस्थिति एकपछि अर्को गरी उनको व्यक्तिगत र व्यावसायिक जीवनमा सिर्जना भएका श्रृंखलाबद्ध असफलताबाट गुज्रिए । सन् २०१६ देखि २०१७ मा उनका फिल्मले मध्यम समीक्षा प्राप्त गरे भने बक्स अफिसमा कमजोर सावित भए । २०१८ देखि उनको उपस्थिति अतिथि भूमिका र भ्वाइसओभरमा मात्र सीमित रह्यो । सन् २०२१ मा उनका छोरा आर्यन खान लागूऔषधको आरोपमा पक्राउ परेको राष्ट्रिय समाचार बन्यो । अन्ततः यसबारेका गलत ठहर भई आर्यनले सफाइ पाए ।

‘पठान र जवानले शाहरुख खानको व्यक्तिगत र व्यावसायिक निराशालाई स्पष्ट तरिकाले व्यवस्थापन गर्ने काम गरे,’ देसाई भन्छन् ।

यी दुई फिल्मको शैली फरक छ तर तिनीहरूको सन्देश समान छ– एक देशभक्त व्यक्ति विभिन्न धार्मिक र क्षेत्रीय पृष्ठभूमिका सहयोगीले घेरिएको छ, जसले संकटमा रहेको देशलाई बचाउन सँगै काम गर्छ ।

यी फिल्मका विषयवस्तु भर्खरैका केही बलिउड फिल्मसँग भिन्न छन् । जस्तै केरला स्टोरी (२०२२) र कश्मीर फाइल्स (२०२१), जसले प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) का नेताहरूबाट प्रशंसा पाएका छन् । यी फिल्मले हिन्दू धार्मिक विश्वास वा राष्ट्रवादसँगसम्बन्ध रहेको दाबी गर्छन् । ती फिल्मबारे निकै आलोचना भए पनि बक्स अफिसमा हिट भए ।

जवानमा शाहरुखले एक सैनिक अधिकारी (बाबुको भूमिकामा पनि शाहरुख नै)को छोराको भूमिका निर्वाह गरेका छन् । ‘खानका फिल्मले प्रायः आख्यान र जीवनलाई मिश्रण गर्छन्,’ देसाई भन्छन्, ‘हामीले यो आनन्द यो भ्रमबाट लिइएको हो कि हामीले उनलाई वास्तविक संसारका पुरुषले गरेको कामअनुसार नै हेरिरहेका छौं,’ जवानको समीक्षामा उनले लेखेका छन् ।

‘पहिले यी फिल्म आत्मसम्मानपूर्ण थिए, उनको सुपरस्टार विरासतको हिसाबले प्रेरित थिए,’ देसाईले बीबीसीलाई भने, ‘अब फरक यो छ कि पठान र जवान जस्ता फिल्मले व्यक्ति (सेलिब्रेटी, बुबा, प्रेमी, देशभक्त) को रूपमा उसको पहिचान र विचारलाई दर्शाउँछन् भने समसामयिक अवस्थासँग उनको सम्बन्धलाई चित्रण गर्छन् ।’

तर क्रिटिक चाहिं उनका फिल्ममा सब–टेक्स्ट नयाँ नभएको र पुराना फिल्ममा समेत राजनीतिक पक्षधरता रहेको बताउँछन् ।

‘स्वदेशजस्तो फिल्मले (जसमा उनी भारतमा बस्न फर्किने नासा इन्जिनियरको भूमिकामा छन्) एक निश्चित प्रकारको देशभक्तिको कुरा गरिरहेको थियो,’ चोपडा भन्छिन्, ‘तर भारतमा र उनको जीवनमा पछिल्ला केही वर्षहरूमा के भयो त्यसले राजनीतिक प्रभाव गहिरोसँग चित्रित भएको छ ।’

मोदीको राष्ट्रवादी सरकार सत्तामा आएदेखि कार्यकर्ताले मुस्लिम र अन्य अल्पसंख्यकविरुद्ध घृणित अपराधको श्रृंखला बढेको बताएका छन् । तर बीजेपीले आरोपलाई अस्वीकार गर्छ । यसका नेताले त्यस्ता घटनाको विरलै निन्दा गर्छन् ।

‘यस वर्षका ब्लकबस्टरले खानको पुनरागमनलाई एक अभिनेताको रूपमा मात्र नभई हिन्दू बहुलवादी पार्टीद्वारा शासित देशमा मुस्लिम सुपरस्टारको रूपमा बुझेका छन् र डिजाइन गरेका छन्,’ देसाई भन्छन् ।

‘यी फिल्म हेर्दा धेरै दर्शकले यो महसुस गर्दैनन् कि उनीहरू वास्तवमा सहिष्णुता र पुरानो विद्यालयको धर्मनिरपेक्षतासँग जोडिएका छन्,’ उनी भन्छन् । आलोचक र दर्शकले समान रूपमा भन्ने गरेको ‘जवान’को दृश्य भोटिङ र राजनीतिक जवाफदेहिताको सन्दर्भमा खानले बोलेको एक डायलग हो ।

सत्तारुढ भाजपा र विपक्षी कांग्रेस लगायतका धेरै राजनीतिक दलले यो संवादले एकले अर्कोलाई लक्षित गरेको दाबी गर्छन् । फिल्म समीक्षक चोपडा भन्छिन्, ‘यो राम्रो संकेत हो । जब तपाईं केही गर्नुहुन्छ र सीमाभन्दा पर यसको प्रभाव पर्छ ।’

तर ‘डेस्परेटली सी किङ शाहरुख’ नामक पुस्तककी लेखिका श्रयाना भट्टाचार्यको बुझाइमा अभिनेता खानलाई ‘पुनरुत्थान’को आवश्यकता परेको छैन । भट्टाचार्यले आफ्नो पुस्तकको लागि सुपरस्टारका फ्यानसँग अन्तर्वार्ता लिन १५ वर्ष बिताइन् । ‘कसैले पनि उनलाई पहिचानको राजनीतिमा तानेको छैन,’ उनी भन्छिन् ।

बीबीसीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?