+
+

‘एनिमल’पछि बलिउडमा एक्सन फिल्मको बाढी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १२:२७

काठमाडौं । ‘पठान’ र ‘जवान’ लगभग हजार करोड भारु, ‘गदर’ ६५० करोड, ‘टाइगर ३’ ४०० करोडको आसपास, ‘एनिमल’ ९०० करोड भारु भन्दा माथि । सन् २०२३ मा रिलिज भएका भारतीय एक्सन फिल्म र तिनको कमाइ यो हो ।

गत वर्ष यी फिल्मले विश्वभर उछाल कमाइ गरे । रणवीर कपुरको ‘एनिमल’ले दर्शकको यतिविधि साथ पायो कि निर्माताले दोस्रो श्रृंखलाको रुपमा ‘एनिमल पार्क’ बनाउने घोषणा गरेका छन् ।

यी सबै फिल्ममा एउटा कुराको समानता थियो, एक्सन । यी फिल्ममा भरमार एक्सन दृश्य समेटिएका थिए । थ्रिलरका तत्व पनि समावेश थिए ।

आगामी १० महिनामा १० भारतीय एक्सन फिल्म प्रदर्शनको तयारीमा छ । ‘एनिमल’पछि भारतमा एक्सन फिल्मको बाढी आउने देखिएको छ । बक्स अफिसदेखि फिल्मलाई लिएर फ्यान उत्साहित छन् ।

क्र्याक

एक्सनले फ्यानको मन जितेका अभिनेता विद्युत जामवालको आगामी फिल्म हो ‘क्र्याक’, जसमा उनी अर्जुन रामपालसँग फिल्ममा देखिएका छन् । ‘क्र्याक’को शीर्षकसँगै लेखिएको छ– ‘जित्यौ भने बाँच्छौ ।’ यो फिल्ममा एक्सन मात्रै हुने कुरा प्रष्ट छ । फिल्मलाई आदित्य दत्तले निर्देशन गरेका हुन् । निर्मातामा अभिनेता जामवाल छन् । नोरा फतेही र एमी ज्याक्सनले पनि यसमा ग्ल्यामर थप्नेछन् । यो फिल्मलाई भारतको पहिलो ‘खेलकुद एक्सन’को रुपमा वर्णन गरिएको छ । यो फिल्म २३ फेब्रुअरीमा रिलिज तयारीमा छ ।

योद्धा

सागर आम्ब्रे र पुष्कर ओझाको निर्देशित फिल्म ‘योद्धा’ चर्चामा छ । सिद्धार्थ मल्होत्रा स्टारर फिल्मको टिजर रिलिज भएको एक मिनेटमै निर्माताले फिल्म पूर्णरुपमा एक्सन विधामा आधारित रहेको स्पष्ट पारेका छन् । धर्मा प्रोडक्सनको ब्यानरमा बन्न लागेको यस फिल्ममा सिद्धार्थ मल्होत्रासँगै दिशा पटानी र राशि खन्ना मुख्य भूमिकामा छन् ।

आतंकवादीले यात्रुवाहक विमान अपहरण गर्ने कथावस्तुमा यो फिल्म आधारित छ । फिल्ममा सिद्धार्थ ‘अफ ड्युटी सिपाही’ हुन्, जो अपहरणकर्तासँग लड्छन् । विमानको इन्जिन बिग्रिएपछि उनीहरुको लडाइँको रोमाञ्चकता बढ्छ । ‘योद्धा’ मार्च १५ मा रिलिज हुँदैछ ।

बेबी जोन

‘जवान’ फेम एट्लीको ब्यानरमा निर्माण हुन लागेको ‘बेबी जोन’मा वरुण धवन र कीर्ति सुरेशसँगै वामिका गब्बी मुख्य भूमिकामा छिन् । यो फिल्म एट्लीको तमिल ब्लकबस्टर ‘थेरी’ को हिन्दी रिमेक हो । फिल्मको निर्देशन ए. कालेस्वरणले गरेका छन् । केही दिनअघि फिल्मको फस्टलुक भिडियो सार्वजनिक भएको छ, जसमा वरुण धवनको एक्शन अवतार हेर्न लायक छ ।

कथा बुबा र छोरीको हो । निर्माताले ‘बेबी जोन’लाई सन् २०२४ को सबैभन्दा ठूलो एक्सन इन्टरटेनर भनेका छन् । यो फिल्म मार्च १५ मा रिलिज हुँदैछ ।

बडे मियाँ छोटे मियाँ

‘टाइगर जिन्दा है’ र ‘सुल्तान’ फेम्ड निर्देशक अली अब्बास जफरको आगामी फिल्म ‘बडे मियाँ छोटे मियाँ’ यसवर्षको सबैभन्दा प्रतीक्षित फिल्ममध्ये एक हो । पूजा इन्टरटेनमेन्ट र एएजेड फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा अक्षय कुमार र टाइगर श्राफ मुख्य भूमिकामा छन् । फिल्ममा मानुषी छिल्लर, अलाया एफ र रोनित बोस रोयको पनि अभिनय छ । यो फिल्म सन् २०२४ को इदको अवसरमा यस वर्षको अप्रिल ९ मा रिलिज हुँदैछ ।

बलिउडका ‘खिलाडी’ अक्षय कुमारलाई लामो समयपछि एक्सन अवतारमा हेर्न फ्यान उत्साहित छन् । विशेष गरी टाइगर श्राफसँगको उनको जुगलबन्दीले उत्साह र आनन्द दुवै बढाउन सक्छ ।

तेहरान

दिग्गज फिल्म निर्माता अरुण गोपालनको निर्देशनमा बनेको ‘तेहरान’ एक भू-राजनीतिक एक्सन थ्रिलर हो । फिल्ममा जोन अब्राहम र मानुषी छिल्लर मुख्य भूमिकामा छन् । यो फिल्म वास्तविक जीवनका घटनामा आधारित छ । एक्सनसँगै फिल्मले रुस–युक्रेन द्वन्द्वका जटिलता पनि पेश गर्ने । यो फिल्म २६ अप्रिल २०२४ मा रिलिज हुने तय भएको छ ।

किल

गत वर्ष ओस्कार अवार्ड जितेका गुनीत मोंगा कपुर यसपटक पर्दामा आउँदैछन् । उनको प्रोडक्सन हाउस सिख्या इन्टरटेनमेन्ट र करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा बनेको ‘किल’ जुलाई ५ मा रिलिज हुँदैछ । निखिल नागेश भट्टले निर्देशन गरेको यस फिल्ममा लक्ष्य, राघव जुयाल र तान्या माणिकतलाको मुख्य भूमिका छ । ‘किल’ एक एक्सन–थ्रिलर हो जसमा नयाँ दिल्लीको लागि गुडेको रेल यात्रा युद्धको मैदानमा परिणत हुन्छ । यसमा कमाण्डो जोडीले आक्रमणकारी डाँकुको सामना गर्दछन् ।

वेदा

‘तेहरान’पछि २०२४ मा जोन अब्राहमको यो दोस्रो एक्सन फिल्म हो । यसमा उनको साथमा शर्वरी बाघ छिन् । यो हाई एनर्जी एक्सन ड्रामाको कथा पनि वास्तविक जीवनबाट प्रेरित रहेको बताइएको छ । फिल्मलाई निखिल आडवाणीले निर्देशन गरेका छन् । जोन अब्राहमले यसअघि ‘सलाम–ए–इश्क’ र ‘बाटला हाउस’मा काम गरिसकेका छन् । फिल्मको कथा असिम अरोराले लेखेका हुन् । ‘वेदा’ १२ जुलाई २०२४ मा सिनेमाघरमा रिलिज हुँदैछ ।

बलिउडको सबैभन्दा ठूलो एक्सन फ्रेन्चाइजी ‘सिंघम’को सिक्वेल धमाधम बनिरहेको छ । रोहित शेट्टीको निर्देशनमा बनेको कप–युनिभर्सको यो पाँचौं फिल्ममा यसपटक अजय देवगणसँगै करिना कपुर खान, टाइगर श्राफ, दीपिका पादुकोण, ज्याकी श्राफ र अर्जुन कपुर पनि छन् । यो फिल्म १५ अगस्ट २०२४ मा स्वतन्त्रता दिवसको अवसरमा थिएटरमा रिलिज हुनेछ । ‘सिंघम’ अहिलेसम्म सुपरहिट फ्रेन्चाइज रहेकाले यो फिल्मबाट अपेक्षा बढ्नु स्वभाविक हो ।

देवा

‘तेरी बातों मे ऐसा उल्झा जिया’मा रोमान्टिक भूमिकामा देखिएका शाहिद कपुर अब एक्सन अवतारमा धमाधम अभिनय गर्ने तयारीमा छन् । रोशन एन्ड्रयुजद्वारा निर्देशित उनको एक्सन थ्रिलरको नाम ‘देवा’ हो, जुन ११ अक्टोबर २०२४ मा रिलिज हुनेछ । फिल्ममा शाहिदसँग पावेल गुलाटी र पूजा हेगडे छन् । जी स्टुडियोज र रोय कपुर फिल्म्सको ब्यानरमा बनेको यो फिल्म एक प्रहरी अफिसरको कथा हो, जसमा एक हाई प्रोफाइल केसको छानबिन हुन्छ । हामीले यसअघि ओटीटीमा रिलिज भएको फिल्म ‘ब्लडी डैडी’मा शाहिदलाई एक्सनमा देखेका छौं ।

युधरा

यो रोमान्टिक–एक्सन–थ्रिलर फिल्म हो, जसमा सिद्धान्त चतुर्वेदी, राघव जुयाल, माल्भिका मोहनन, राम कपुर र गजराज राव मुख्य भूमिकामा छन् । एक्सेल इन्टरटेनमेन्ट र कासिम जगमगियाले निर्माण गरेको फिल्मलाई ‘मम’ फेम्ड रवि उदयवारले निर्देशन गरेका हुन् । फिल्मको कथा फरहान अख्तर र श्रीधर राघवनले लेखेका हुन् । यो फिल्ममा हामीले सडकमा हुने लडाइँ देख्नेछौं । यो फिल्म सन् २०२४ को अन्त्यतिर रिलिज हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?