+
+

‘अगस्त्य’ निर्देशक चौधरीलाई प्रश्न : पछिल्लो समय एक्सन फिल्मप्रति किन मोह ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १४:५१

काठमाडौं । सप्तऋषिमध्येका एक ‘अगस्त्य’ शारीरिक र मानसिक दुवै रुपमा बलिया थिए । हिन्दु धर्मग्रन्थका यी महत्वपूर्ण पात्रको विशेषतामा आधारित रहेर निर्देशक सौरभ चौधरीले फिल्म ‘अगस्त्य’ निर्देशन गरेका छन् । द्वन्द्वप्रधान यो फिल्ममार्फत उनी समाजका खराब कुरालाई हटाउँदा उचित हुन्छ भन्ने मत राख्छन् । उनले यी कुरा भन्न एक्सन दृश्यभाषाको सहारा लिए । यो फिल्म फागुन १८ मा प्रदर्शन हुँदैछ ।

पछिल्लो समय आइरहेको एक्सन फिल्मको बाढी र दर्शकीय स्वादका बारेमा निर्देशक चौधरीले अनलाइनखबरसँग संक्षिप्त कुरा गरेका छन् :

निर्देशकको रुपमा तपाईंले भन्न खोजेको कुरा के हो ?

दर्शकलाई फिल्मको माध्यमबाट सिनेम्याटिक अनुभव दिलाउन खोजेको हुँ । जीवनमा हुने दबाब र तनावको बीचमा जसरी हामीले सबै कुरा भुलेर तीन घण्टा हलमा गएर विदेशी फिल्म हेर्छौं, यो कुरा दर्शकलाई महसुस गराउन फिल्म बनाएको हुँ ।

यो कथा तपाईंले अरु जनराबाट नभनेर एक्सन नै किन रोज्नुभयो ?

हामी नेपाली सुत्दा, बस्दा कतै भइरहेको घटना हो । जुन हामी यो अन्तर्वार्ता गर्दा पनि कतै घटिरहेको छ । यस्ता घटना नेपालमा पनि हुन्छ भनेर दर्शकलाई देखाउन खोजेको हुँ खासमा । त्यो देखाउनलाई मैले रोज्नुपरेको बाटो चाहिं एक्सन जनरा नै थियो ।

फिल्म बनाउनु कति तनावको विषय हो ?

मेरा लागि फिल्म भनेको समुन्द्रको गहिराइ हो । जति गहिराइमा आफू छिर्‍यो, त्यति धेरै गहिरो छ । सिनेमा बनाउनु भनेको निर्देशकको रुपमा कठिन कुरा हो । किनभने ५०-६० जनाको क्रु मेम्बरमा एकजनाको गल्तीले पनि के हुनसक्छ भनेर आफूलाई थाहा हुन्छ । यो भएको कारण तनाव चाहिं हुन्छ । या त जे हुन्छ, हुन्छ भनेर छाड्दिनुपर्‍यो, सानो गल्तीले पनि फिल्ममा कस्तो असर गर्छ भनेर आफूलाई थाहा छ भने यसमा सतर्क हुनुपर्छ । केयरफुल हुँदा दबाब हुन्छ ।

फिल्मभित्र निर्देशकको रुपमा तपाईंले कस्ता जोखिम लिनुभएको छ ?

पहिलो कुरा– सिनेमा बनाउने शैली र दोस्रो– यसको कथावस्तु अन्त कतै नभनिएको छ । नेपालमा एउटा तप्काको कथा हो यो । जुन तप्काको कहानी आजसम्म भनिएको छैन । जसलाई मैले भन्दैछु । फिल्म रिलिज भइसकेपछि सबै दर्शकले अपनत्व महसुस गर्न सक्नुहुन्छ । समाजको त्यो तप्काको नभनिएको कथालाई फिल्ममा भन्न खोज्दैछु ।

पछिल्लो समय एक्सन फिल्मप्रति निर्माताको मोह किन ?

मलाई चाहिं त्यो ट्रेन्डले समातेको होइन । मलाई कथाले खिचेको हो । सन् २०२१ मा यो स्क्रिप्ट कपीराइट गराएर राखेको छु । त्यतिबेला यो फिल्म बनाउने मेरो योजना थियो । जतिबेला ‘एनिमल’, ‘पुष्पा’जस्ता भारतीय फिल्म पनि आइसकेका थिएनन् । ट्रेलरको कमेन्टमा एनिमलको जस्तो बन्दुक एक्सनका दृश्य भयो भनेर पढें । जुन बेला मैले दृश्य खिचेको थिएँ, एनिमल फिल्म बनेको पनि थिएन । मलाई ट्रेन्डभन्दा कथाले क्याच गरेको हो ।

एक्सन फिल्मलाई लिएर नेपाली दर्शकको रुचि कस्तो छ ?

अहिलेसम्म जे जति फिडब्याक पाएको छु, राम्रै पाइरहेको छु । किनभने हाम्रो उद्योगको आकार सानो छ । जनसंख्या र बजारमा हामी अन्य मुलुकभन्दा सानो छौं । लगानीको क्षमता पनि सानो छ । त्यसैले सीमित बजेटभित्र उत्कृष्ट काम निकाल्ने हाम्रो प्रयास हुन्छ । यो फिल्म एक्सन मात्रै होइन । एक्सन फिल्मको हिस्सा हो तर फिल्मको बलियो भनेको यसको स्क्रिप्ट हो । यसको पटकथा कसिलो छ ।

तपाईंलाई अब कस्तो कथामा फिल्म निर्देशन गर्न मन छ ?

पछिल्लो तीन-चार वर्षको अनुभव हेर्दा मलाई यस्तो कथा भन्न मन छ जुन कहानी अन्त भनिएको छैन । अरुले नसुनेको कथालाई उपयुक्त सिनेम्याटिक महसुस दिलाउने गरी भन्न मन छ । एउटा लभस्टोरी नै किन नहोस्, त्यही लभस्टोरी नै अहिलेसम्म दर्शकले नदेखेको तरिकाको होस् ।

समाचार हेर्दा नेपाली समाज पछिल्ला दिनमा हिंसात्मक बनेको देखिन्छ । समाजका यी इभेन्टसँग तपाईंको फिल्म कति अन्तरसम्बन्धित छ ?

हामीले पहिल्यैदेखि रामायण, महाभारत पढ्दै, सुन्दै आएका छौं । समाजमा यस्तो तत्व छ, जुन नसकिएसम्म समाज सुध्रिंदैन भने त्यो तत्वलाई सक्नुपर्छ । हरेक युगमा कोही न कोही जन्मिनुहुन्छ जसले समाजको नराम्रो तत्वलाई सकाउनुहुन्छ । अगस्त्य सिनेमा त्यही वरपर घुम्छ । अहिले भइरहेका नराम्रा घटनाहरु जुन छन्, यसकै वरपर घुम्छ फिल्म । समाजको कथाबाट यो प्रभावित छ । समाजमा शान्ति र हार्दिकता ल्याउन रामायणमा रामले रावणलाई मार्नैपर्ने थियो । सम्झाएर, बुझाएर नहुने भएपछि त्यसको अन्तिम उपाय भनेको समाजबाट हटाउनु नै हुन्छ ।

च्याप्टर २ मा तपाईंले कस्तो कथावस्तु ल्याउनुहुन्छ ?

यो फिल्मको स्क्रिप्ट लेखिंदा नै १ र २ को लेखिएको थियो । च्याप्टर २ बन्न पहिला यो राम्रो हुनुपर्‍यो । सन् २०२६ सम्म दोस्रो श्रृंखला ल्याउने तयारी छ । त्यसअघि एउटा रोमान्टिक कमेडी फिल्मको तयारी हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?