+
+
Shares

को बन्छ चलचित्र विकास बोर्डको अध्यक्ष ? रवि वा बालेनको ‘मान्छे’ ?

शिव मुखिया शिव मुखिया
२०८३ असोज २ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डको अध्यक्ष चयनमा सत्तासँग निकटता र योग्यता दुवैको बहस चलिरहेको छ, र यस्तो पदका लागि सुयोग्य व्यक्ति चाहिने लेखमा जोड दिइएको छ।
  • नवीन सुब्बा, मनोज पण्डित, खगेन्द्र लामिछाने र निश्चल बस्नेतसहित दर्जन बढी नाम अध्यक्षका लागि चर्चामा आएका छन्।
  • लेखमा यसअघिका धेरै बोर्ड अध्यक्षप्रति कलाकर्मी सन्तुष्ट नभएको र बोर्डलाई ‘बिचौलिया संस्था’ तथा ‘जागिर खाने’ थलो बनाइएको भन्दै आलोचना गरिएको छ।

सुरुमै भनौं, यो ‘हेडलाइन’ पुरानै ह्याङओभरबाट जुराइएको हो । सत्ताको भजन–कीर्तन गरेर विकास बोर्डको कुर्सीमा विराजमान हुने जुन पुस्तौनी परम्परा थियो, त्यसैको अवशेष यसमा छ ।

के अब पनि त्यस्तै होला ?

सायद नहोला । किनभने जो सरकार ‘नातावाद र कृपावाद’ विरुद्ध उम्लिएको ज्वालामुखीबाट उत्पत्ति भएको छ, त्यसले यस्तो लप्पनछप्पन नगर्ला ।

यसको अर्थ यो होइन कि, त्यो मान्छे रविको काखको वा बालेनको भागको हुनै हुँदैन । अर्थ त यतिमात्र हो कि, सो मान्छे योग्य हुनुपर्छ । अझ सुयोग्य हुनुपर्छ ।

किनभने योग्यताको ‘बायोडाटा’ पेस गर्नेले विकास बोर्ड जस्तो सप्तरंगी संस्थालाई हाँक्न सक्छन् भन्ने छैन । मनोरञ्जनको खोल ओडेको यो संस्था आफैंमा सौम्य शक्तिको हार्डवेयर हो । विदेशी संस्कृतिको अतिक्रमणलाई रोकेर आफ्नो मौलिक खानपान, रहनसहन, बोलीचाली, कला–परम्परालाई मेची–महाकालीभन्दा टाढाको भूगोलसम्म विस्तार गर्ने एक्सेलेटर यही संस्थासँग छ ।

किनभने योग्यताको ‘बायोडाटा’ पेस गर्नेले विकास बोर्ड जस्तो सप्तरंगी संस्थालाई हाँक्न सक्छन् भन्ने छैन । मनोरञ्जनको खोल ओडेको यो संस्था आफैंमा सौम्य शक्तिको हार्डवेयर हो । विदेशी संस्कृतिको अतिक्रमणलाई रोकेर आफ्नो मौलिक खानपान, रहनसहन, बोलीचाली, कला–परम्परालाई मेची–महाकालीभन्दा टाढाको भूगोलसम्म विस्तार गर्ने एक्सेलेटर यही संस्थासँग छ ।

यति गतिशील र गहकिलो संस्थाका लागि ‘स्नातक उत्तीर्ण, ३० वर्ष उमेरमाथिका, १० वर्ष बढी सिनेमा उद्योगमा संलग्न’ जस्ता मापदण्ड अलि काइते पाराको लाग्छ । उमेर र शिक्षाको यस्तो नापतौलले सिनेमा–कलासँग खास साइनो राख्दैन । विकास बोर्ड ‘जागिर खाने’ कुनै भर्ती केन्द्र होइन ।

त्यसलाई मुलुकको सौम्य शक्तिको एपिसेन्टर बनाउन सक्ने सामर्थ्य हुनुपर्छ । त्यसो भए यति सुयोग्य व्यक्ति को होलान् त ?

यो रमाइलो–घमाइलो प्रश्नको सतहमा दर्जन बढी नाम देखिएका छन् । नवीन सुब्बा, मनोज पण्डित, खगेन्द्र लामिछानेदेखि निश्चल बस्नेतसम्म । यसका लागि खुट्टा उचालेर र मुख मिठ्याएर बस्ने अरू पनि नामहरू बाहिरिएका छन् ।

यसपालि ‘विकास बोर्डको अध्यक्ष को ?’ भन्ने प्रश्न किन पनि रोचक भइदिएको छ भने शक्ति र सत्तासँग यसको प्रत्यक्ष रुचि जोडिएको छ ।

एकातिर बालेन सरकारको ‘पावर ब्याकअप’ मानिने असिम शाह, अर्जुन घिमिरेसँग सिनेमाको रंग र स्वाद बाँकी छ । सोही लहरोमा निश्चल बस्नेत, खगेन्द्र लामिछानेहरू पनि अभिन्न रूपमा जोडिएका छन् । यिनीहरूको सुझाव र दबाव दुवैले यसको छिनोफानो गर्न सक्छ ।

अर्कोतिर रवि लामिछाने आफैंमा रसिक मान्छे हुन्, जोसँग सिनेमा–संगीतको रस छ । त्योभन्दा काइदाको कुरा, उनकी श्रीमती निकिता पौडेल यसअघि विकास बोर्डको अध्यक्ष भइसकेकी पात्र हुन् । विकास बोर्डको रित्तो कुर्सीबाट उनीहरूको नजर पक्कै हटेको छैन । रवि–निकिताको ‘सुझाव र झुकाव’ले पनि यहाँ हस्तक्षेप गर्न सक्छ ।

यसरी चलचित्र विकास बोर्डप्रतिको रुचि यहाँ विभाजित हुनसक्ने कतिपयको आकलन छ । भुक्तभोगीहरू भन्छन्, ‘अरू कुनै संस्थानसँग भागबन्डा गरेर कुरा मिलाउने हल्ला छ ।’ तर यो हल्ला हो । र, भाइदियोस् हल्लामात्र ।

किनभने बालेन सरकारका लागि यस्ता नियुक्तिहरू आफैंमा ‘अग्निपरीक्षा’ पनि हो । उनीहरूले कस्ता मान्छे छनोट गर्छन् ? कसरी गर्छन् ? किन गर्छन् ? कहाँबाट गर्छन् ? यी कुराहरूले सरकारको सत्ता–चरित्र छर्लङ्ग बनाइदिन्छ । यो मामुली कुरा उनीहरूले पक्कै नबुझेका छैनन् ।

यसअघिका अधिकांश बोर्ड अध्यक्षप्रति कलाकर्मी कहिल्यै सन्तुष्ट भएनन् । त्यसलाई जागिर खाने र खुवाउने, विदेश घुम्ने र घुमाउने, बजेट मिलाउने र सिध्याउने थलो बनाएको धेरैको गुनासो रह्यो ।

दिग्गज फिल्मकर्मी नीर शाहलाई समेत यस संस्थामाथि कहिल्यै विश्वास भएन । उनले भनेका छन्, ‘नेपाली सिनेमालाई दर्बिलो ढंगले विश्वमाझ उभ्याउनका लागि सशक्त संस्था चाहिन्छ । अहिलेको चलचित्र विकास बोर्डबाट त्यो सम्भव छैन ।’

उनले यसलाई सार्वजनिक रूपमै ‘बिचौलिया संस्था’ भनी टिप्पणी गरेका छन् । स्वस्थ मनोरञ्जन, कला संस्कृतिको प्रवर्द्धन, सौम्य शक्तिको केन्द्र बनाउने पवित्र उद्देश्यले स्थापना गरिएको चलचित्र विकास बोर्ड कालान्तरमा ‘जागिर खाने’ संस्था बन्यो । नीर शाहले भनेका छन्, ‘यसलाई अपग्रेड गर्नुपर्नेमा डिग्रेड गरियो ।’

अहिले यो डिग्रेडबाट उठ्नुपर्ने चुनौतीमा छ । यसका लागि ‘स्नातक उत्तीर्ण’ पाराको आवेदन मागेर बोर्डले तटस्थ नेतृत्व त पाउन सक्छ । तर, त्यो कति सक्षम, रचनात्मक, अडिग र कार्यकुशलताले पूर्ण होला ?

त्यहाँ अध्यक्ष पद धारण गरेका ‘मूर्ति’ स्थापना गरेर मात्र हुँदैन । सिनेमा–संस्कृतिलाई राज्यकै एउटा शक्तिशाली अंग बनाउन सक्ने सिपालु व्यक्ति चाहिन्छ ।

यस्तो व्यक्ति, जसले सिनेमा उत्पादन, प्रदर्शन र प्रवर्द्धनमा रचनात्मक भूमिका खेल्न सक्छ ।

यस्तो व्यक्ति, जसले कलाकर्मीको हक–हित सुरक्षित गर्न सक्छ ।

यस्तो व्यक्ति, जसले सिर्जनशील अर्थतन्त्रको मेलो पहिल्याउन सक्छ ।

यस्तो व्यक्ति, जसले सिनेमाको विरासतलाई नयाँ प्रविधि र पुस्तासँग जोड्न सक्छ ।

यस्तो व्यक्ति, जसले नेपाली कला–परम्परा र प्रकृतिलाई ब्रान्डिङ गर्न सक्छ ।

यस्तो व्यक्ति, जसले सिनेमा संस्कृतिको जगत् तयार गर्न सक्छ ।

यस्तो व्यक्ति, जसले घरेलु सिनेमालाई आफ्नै मौलिक अवयवले सुशोभित गर्न भूमिका खेल्छ ।

यस्तो व्यक्ति, जसले नेपाली सिनेमालाई विश्व रंगमञ्चमा उभ्याउन आयामिक ढंग लगाउँछ ।

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?