+
+

गोरखा दरबारको दशैं घर र मनकामना मन्दिरमा जमरा राखियो

रासस रासस
२०८० असोज २८ गते १६:२५

२८ असोज, गोरखा । गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैं घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले बताए । कालिका भगवती मन्दिरको दशैं घरमा नौ मानाको जमरा राखिएको छ । त्यस्तै गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको मूलपुरोहित भट्टराईले जानकारी दिए ।

वडादशैंको पहिलो दिन मूल दरबारको कैलास कोठाबाट गर्भगृह (पूजा कोठा) मा देवी भगवतीको सवारी गराउने र मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको हो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ ।

प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित रुपमा कालोबोका बलिदिने प्रचलन रहदै आएको छ । यसपटक दशैं अवधिभर ३२ बोका, १२ भेडा, पाँच सुङ्गुर, एक सतारसहित १५ राँगो र नौ वटा कुखुरा बलिदिने उनले बताए ।

यसअघि राजसंस्था रहँदासम्म मन्दिरमा एक सय ४० वटा भेडाबोका र एक सतारसहित ८४ ओटा राँगा बालिदिने प्रचलन थियो । राजसंस्थाको अन्त्य भएसँगै गोरखा दरबार हेरचाह अड्डामा दशैं पूजाका लागि आवश्यक बजेटमा कटौती हुँदै आएकाले पशुपक्षीको बलि समेत घटाइएको छ ।

यसैगरी घटस्थापनाको बिहानको शुभसाइतमा गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिनुभयो । मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उनले बताए ।

परम्पराअनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण सोही अनुसार नित्य पूजा गरी जमरा राखिएको उहाँको भनाइ छ । गणेश र कलस स्थापना गरी दुवै ठाउँमा जमरा राखिएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?