+
+

एसियन पारा गेम्स खेल्ने टोलीको बिदाइ, १० खेलमा १९ खेलाडीले प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते २१:२९

२८ असोज, काठमाडौं । चीनको हाङझाउमा यही अक्टोबर २२ देखि २८ सम्म हुने चौथो एसियन पारा गेम्समा नेपालबाट १० खेलमा १९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

पारा गेम्समा सहभागी हुने नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

पदकको अपेक्षा गरिएको तेक्वान्दोमा पारा ओलम्पियन पलेशा गोबर्द्धनले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । पलेशा अध्ययनका साथै प्रशिक्षणका लागि हाल चीनको सांघाईमा रहेको र उनी त्यतैबाट एसियन पारा गेम्समा सहभागी हुन हान्झाउ जाने प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

पलेशाले नै उद्घाटन समारोहको मार्च पास्टमा नेपालको झण्डा बोक्ने टोलीका सेफ दि मिसन एवं नेपाल पारालिम्पिक कमिटीका कोषध्यक्ष ओमनाथ सिवाकोटीले जानकारी गराए । तेक्वान्दोको व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् ।

एथलेटिक्समा साङबु भोटेले १ सय मिटर दौड तथा सुरज भाटले ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सीता भण्डारी छिन् ।

यस्तै ब्याडमिन्टनमा प्रकाश अधिकारी र हेम गुरुङले सिंगल्स र डबल्स स्पर्धामा खेल्ने छन् । सुटिङको १० मिटर एयर राइफलमा हिमाल अर्यालले प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै आर्चरीमा शक्ति गौचन र फणिनारायण पौडेलले ७५ मिटर दूरी, पावर लिफ्टिङमा दुर्गामान तामाङले ७३ केजी र पवन घर्ती मगरले ७० केजी तथा पौडीको ५० मिटर फ्रिस्टायलमा भीमबहादुर कुमाल, रमेश खत्री र जेनिशा कडायतले खेल्ने छन् । पावर लिफ्टिङको प्रशिक्षकमा सञ्जय महर्जन तथा पौडीको प्रशिक्षकमा विजेनमान श्रेष्ठ छन् ।

साइक्लिङमा रञ्जना धामीले ३ हजार र ५ हजार मिटर दूरी तथा जुडोमा मनोज भट्टले ७३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । जुडोको प्रशिक्षकमा मोहन सुनुवार रहेका छन् ।

टेबलटेनिसमा डिगमसिंह चेम्जोङ, केशव थापा, लाली तामाङ र विवेक राईले चुनौती पेश गर्ने छन् ।

नेपाली टोलीको अफिसियलमा गणेश कक्षपति, प्रदीप थापा, नारायणराज अर्याल, टेकबहादुर गुरुङ, सरोज श्रेष्ठ, विश्वास बस्नेत, अभिषेक पाण्डे र तारा मोक्तान छन् । यस्तै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि पारा खेलकुदका लागि हाङझाउ जाँदै छिन् ।

सेफ दि मिसन सिवाकोटीसहितको २० सदस्यीय टोली सोमबार हाङझाउ प्रस्थान गर्दै छन् । बाँकी टोली दुई चरण (अक्टोबर १७ र २० तारिख) मा हाङझाव जाने छन् ।

चौथो एसियन पारा गेम्समा २२ खेलमा करिब ५ हजार खेलाडी सहभागि हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?