+
+

इजरायलमा बाइडनको चार घण्टा : युद्धमा इजरायललाई साथ, मानवीय सहायता पनि घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते ७:१२
Photo Credit : REUTERS/Tom Brenner

२ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले हमासविरुद्धको लडाइँमा इजरायललाई साथ दिने बताएका छन् ।

केबल चार घण्टाका लागि इजरायल पुगेका बाइडनले इजरायल एक्लै नभएको र अमेरिका उसको साथमा रहेको भन्दै ढाडस दिएका हुन् ।

प्यालेस्टिनी चरमपन्थी समूह हमासविरुद्धको लडाइँमा अमेरिकाले सुरुदेखि नै इजरायललाई साथ दिँदै आएको छ । अमेरिकाले हमासलाई प्रतिबन्धसमेत लगाएको छ ।

पछिल्लोपटक हमासले २० असोजमा एक्कासी इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछिका दोहोरो लडाइँमा परी दुवैतर्फ ४ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मंगलबार राति गाजा क्षेत्रको एक अस्पतालमा आक्रमण हुँदा ५०० जनाको मृत्यु भएको छ । अस्पतालमा भएको आक्रमणको दोष इजरायल र हमास दुवैले एकअर्कालाई लगाएका छन् ।

१०० मिलियन डलर सहयोग घोषणा

अस्पतालमा आक्रमण भएपछि अमेरिकी राष्ट्रपति बाइडन इजरायल पुगेका थिए । उनले राजधानी अम्मानमा समकक्षी वेन्जामिन नेतन्याहुलाई भेटेर इजरायललाई हमासविरुद्ध आत्मरक्षा गर्ने हक रहेको समेत बताएको बीबीसीले जनाएको छ । बाइडनले त्यहाँका राजा, राष्ट्रपति र इजरायलका अन्य नेताहरुसँग गर्ने भनिएको शिखर वार्ता  भने रद्द भएको बीबीसीले जनाएको छ ।

साथै बाइडनको आग्रहमा इजिप्टले गाजा क्षेत्रमा गर्न चाहेको सहयोग सीमित मात्रामा उपलब्ध गराउने अनुमति दिन पनि इजरायल तयार देखिएको छ ।

बाइडनले गाजा क्षेत्रका पीडितलाई मद्दत गर्ने घोषणा पनि गरेका छन् । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडनले गाजा र वेस्ट बैंकमा मानवीय सहायता पुर्याउन १०० मिलियन डलर सहयोग घोषणा गरेका छन् ।

अमरिकाले उपलब्ध गराउने रकमबाट १० लाखभन्दा बढी विस्थापित र युद्ध प्रभावित प्यालेस्टिनीले राहत पाउने बताइएको छ । तर यो सहयोग हमास या अरु कुनै आतंकवादी समूहसम्म पुग्न नहुनेमा बाइडनले जोड दिएका छन् ।

यसैगरी इजरायलको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै बन्दी बनाइएकाहरुलाई हमासले मुक्त गरेमा मात्रै मानवीय सहायता उपलब्ध गराउने सर्त राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?