+
+

इजरायलमा बेलायती प्रधानमन्त्री सुनक : प्यालेस्टाइनीहरू पनि हमासको शिकार भएका छन्

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १८:४५

२ कात्तिक । हमास समूहसँग जारी युद्धमा इजरायललाई ऐक्यबद्धता जनाउन तेलअबिब पुगेका बेलायती प्रधानमन्त्री ऋषि सुनकले प्यालेस्टाइनीहरू समेत हमासको शिकार भइरहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल पुगेर प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुसँग भेट गरेको दोस्रो दिन बेलातयी प्रधानमन्त्री सुनक पनि तेलअबिब पुगेका हुन् ।

भेटवार्तापछि प्रधानमन्त्री नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा सुनकले ७ अक्टोबरमा हमासले गरेको आक्रमण ‘वर्णन गर्नै नसकिने, डरलाग्दो आतंकवादी गतिविधि’ भएको र बेलायत सधैं इजरायलको साथमा रहेको बताए ।

सुनकले गाजापट्टीको एउटा अस्पतालमा मंगलबार भएको आक्रमणबाट आफू स्तब्ध भएको भन्दै निर्दोष नागरिकले ज्यान गुमाएकोमा शोक व्यक्त गरे । सुनकले नेतान्याहुसँग प्यालेस्टाइनी नागरिक पनि हमासको शिकार भएको भन्दै गाजापट्टीमा सहायता दिने इजरायलको निर्णयको स्वागत गरे ।

‘बेलायतले गाजा क्षेत्रमा सहायता बढाउने छ र त्यहाँका मानिसहरूबाट सकेसम्म छिटो थप समर्थन प्राप्त गर्ने प्रयास गर्नेछ’, उनले भने ।

उनले यस्तो कहालीलाग्दो घडीमा आफू इजरायलको साथीको रूपमा उभिन पाउँदा गर्व महसुस गरिरहेको बताए । ‘हामी तपाईं र तपाईंका जनताको साथमा उभिनेछौं । हामी तपाईंको जित हेर्न चाहन्छौं’, सुनकले पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामी हमासविरुद्ध लड्ने तपाईंको अधिकारको रक्षा गर्न चाहन्छौं ।’

उनले हिंसा र आतंकवादको चपेटामा बाँचेको इजरायललाई आफ्नो अस्तित्वको रक्षाका हरेक पल लड्नुपर्ने अवस्था रहेको बताए ।

‘बेलायतले अन्तर्राष्ट्रिय कानून अनुसार आफ्नो रक्षा गर्ने इजरायलको अधिकारका साथै हमास विरुद्ध लड्ने अधिकारलाई पूर्ण रूपमा समर्थन गर्दछ’, बेलायती प्रधानमन्त्री सुनकले भने ।इजरायली प्रधानमन्त्री नेतान्याहुले समर्थनका लागि सुनकलाई धन्यवाद व्यक्त गर्दै दोस्रो विश्वयुद्धमा नाजीहरू विरुद्धको लडाइलाई स्मरण गरेका छन् ।

‘आजभन्दा ८० वर्षअघि बेलायतको दुःखको घडीमा सारा संसार तपाईंको साथमा थियो । यो समय हाम्रा लागि सबैभन्दा दुःखको समय हो । संसारको सबैभन्दा कहालीलाग्दो समय हो’, नेतान्याहुले सुनकलाई भने, ‘त्यसैले म तपाईंको समर्थनको सम्मान गर्दछु । हामीले सँगसँगै जित्नुपर्छ ।’

इजरायली प्रधानमन्त्री नेतान्याहुले यो लामो युद्ध भएकाले आफूलाई बेलायतको निरन्तर समर्थन चाहिने बताए । ‘अबका दिनमा यहाँ विभिन्न उतार–चढाव र कठिनाइहरू हुनेछन् । यहाँका मानिसहरू एकजुट छन्’, उनले भने, ‘हामीलाई निरन्तर समर्थन चाहिनेछ ।’

नेतान्याहुले यो इजरायलको मात्र नभई सभ्य र स्वतन्त्र विश्व र आधुनिक अरब राष्ट्रहरूको समेत लडाइ भएको बताए ।

उनले हिजबुल्लाह र इरानले हमासलाई सहयोग गरेको भन्दै विरोध समेत जनाए । बेलायती प्रधानमन्त्री सुनकले इजरायलका राष्ट्रपति आइज्याक हर्जोगसँग पनि भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?