+
+
त्रिकोणात्मक श्रंखला :

ब्याटिङ परीक्षणमा कुशल र दीपेन्द्रको कीर्तिमानी साझेदारी

हङकङलाई हराउँदै नेपाल फाइनलमा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० कात्तिक ४ गते २०:२८

४ कात्तिक, काठमाडौं । विश्वकप छनोटको तयारीका रुपमा हेरिएको त्रिकोणात्मक श्रृंखलाको सुरुको तीन म्याचमा नेपालले टस जित्यो, खेल पनि जित्यो ।

सुरुको दुई खेलमा टस जितेपछि फिल्डिङ रोजेको नेपालले राम्रो बलिङ गर्दै क्रमशः यूएई र हङकङलाई ठूलो स्कोर बनाउन दिएन । अनि सहजै जित हात पार्‍यो ।

शनिबार हङकङविरुद्ध दोस्रो खेलमा पनि नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेका थिए । तर उनले फिल्डिङ होइन, ब्याटिङ रोजे । ‘आज च्यालेन्ज लिएको । किनकी दुई गेममा हामी चेज गरेका थियौं, आज डिफेन्ड गर्ने माइन्डसेट थियो,’ खेलपछि कप्तान रोहितले ब्याटिङ रोज्नुको कारण खुलाए ।

मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दा नेपालले सोचे जस्तो सुरुवात गर्न सकेन । नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । दोस्रो ओभरको सुरुमा कुशल भुर्तेल आउट भएपछि सोमपाललाई तेस्रो नम्बरमा क्रिजमा पठाइएको थियो ।

सुरुमा विकेट गएकाले पावर प्लेमा मिडियम पेसरलाई राम्रो खेल्ने भएकाले सोमपाललाई पठाइएको थियो । तर उनी पनि पाँचौ ओभरको पहिलो बलमा व्यक्तिगत ८ रन बनाएर आउट भए । धर्मराएको नेपालको इनिङ्स कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी साझेदारी गर्दै सम्हाले ।

कुशल र दीपेन्द्रले पाँचौ विकेटका लागि १४५ रनको कीर्तिमानी साझेदारी गरे । यो टी–२०आईमै पाँचौ विकेटका लागि भएको सबभन्दा ठूलो साझेदारी हो । यसअघि पाँचौ विकेटका लागि न्यूजिल्याण्डका मार्क च्यापम्यान र जेम्स निशमले पाकिस्तानविरुद्ध गत अप्रिलमा अविजित १२१ रनको साझेदारी गरेका थिए ।

हङकङले सुरुमा राम्रो बलिङ गरेपनि यो साझेदारीले हङकङको बलरलाई खेलमा फर्कने कुनै अवसर नै दिएन । ‘सुरुमा अर्ली विकेट गयो, तर दिप्पी दाइ र कुशलको पार्टनरसीप भयो’ दुबै टी–२० को मुख्य खेलाडी भएको भन्दै कप्तान रोहितले भने, ‘जुन हिसाबले उहाँहरुले ब्याटिङ गर्नुहुन्छ । १५–१६ ओभरमा १२० रन बनाए १७०–१८० को लक्ष्य सोचेका थियाैं । तर २१३ रन नै भयो ।’

नेपालले २० ओभरमा ६ विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । टी–२० आईमा दोस्रो शतक नजिक पुगेका कुशल इनिङ्सको दोस्रो अन्तिम बलमा आउट भए । ४१ बलमा ३ चौका र ९ छक्का मद्दतमा ९२ रन बनाएका उनले पोष्टम्याचमा भने, ‘धेरै पछि यस्तो राम्रो खेल खेल्न पायौं, खुशी छु ।’

कुशलसँग कीर्तिमानी साझेदारी गरेका दीपेन्द्रले पनि ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरी ५७ रन बनाए ।

२१४ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो । करण केसी, सोमपाल कामी र ललित राजवंशीले राम्रो बलिङ गरे र इनिङ्स भर कुनै पनि बेला हङकङले लक्ष्य भेट्टाउन आश जगाउन सकेन ।

ललितको पुनरागमन

तयारीमा क्रममा प्रशिक्षणमा घाइते भएपछि ललित राजवंशीले १९औं एसियाड गुमाएका थिए । चार सातापछि ललितले हङकङविरुद्ध बलिङ गरे, त्यो पनि पावर प्लेमा ।

यसअघिका दुई खेलमा उनको स्थानमा श्याम ढकालले डेब्यू गर्दै सुरुवाती दुई खेलेका थिए ।

शनिबार भने ललितलाई खेलाइयो । ३ ओभर बलिङ गर्दै १८ रन खर्चेर २ विकेट लिएका ललित चोटपछि कमब्याक सोचे जस्तै भएको बताउँछन् । ‘विकेट लिनु मेरो काम नै हो, चोटपछि कमब्याक सोचे जस्तै भयो’ उनले भने, ‘वर्ल्डकप क्वलिफायर महत्वपूर्ण छ, त्यसका लागि योजना अनुसार खेलिरा’छौं ।’

प्रतिशको डेब्यु र विकेट

प्रतिश जिसीले हङकङविरुद्ध टी–२० आईमा डेब्यु गरे । विकेट पनि लिए । डेब्यु खेलमा पूरै ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर १ विकेट लिएका हुन् ।

उनले दोस्रो अन्तिम बलमा हङकङका हारुन अर्शदलाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराएका थिए । ‘यो मेरो डेब्यु विकेट हो र मेरो लागि विशेष छ’ देब्रेहाते मिडियम पेसर प्रतिशले आफूले निरन्तर मिहिनेत गरिरहेको र अवसर पाएको बेला प्रदर्शन गर्छु भन्ने सोच राखेर अघि बढेको सुनाए ।

कप्तान रोहितले यो सिरिजमा बलिङ युनिटले राम्रो गरिरहेको र शनिबार ब्याटिङको पनि टेष्ट भएको बताए ।

यद्यपि नेपालको ओपनिङ जोडी भने तीनै खेलमा जमेको छैन । कुशल भुर्तेलले सिरिजमा संघर्ष गरिरहेका छन् भने आसिफले सुरुवात राम्रो पाए पनि त्यसलाई ठूलो स्कोर बनाउन सकेका छैनन् । ‘नागरपुरमा दुवै जनाले राम्रो खेलिराथ्यो । यहाँ कन्डिसनमा चाँडै अडाप्ट गर्नुपर्ने अवस्था छ’ खेलपछि रोहितले भने, ‘राम्रो गर्न सक्छ भनेर विश्वास छ ।’

हङकङका अनुभवी ब्याटर बाबर हायतले पनि कुशल र दीपेन्द्रको जोडीले राम्रो खेलेको बताउँछन् । ‘मिडल र लास्टमा हामीले राम्रो बलिङ गर्न सकेनौं । केही क्याच पनि छुट्यो, त्यो लिएको भए खेलमा फरक पर्न सक्थ्यो’ नेपालले ब्याटिङ र बलिङ दुबैमा राम्रो गरेको क्रेडिट उनीहरुलाई जाने बाबरले भने ।

अब नेपालले पर्सि यूएईसँग खेल्नेछ । तर त्यसअघि नै फाइनलमा भने स्थान बनाइसकेको छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?