+
+

इजरायली राजदूतको अपिल– विपिनसहित कब्जामा रहेका नागरिकलाई छाडिदेऊ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ५ गते ११:४९
नेपालका लागि इजरायली राजदूत हनान गोडेर

५ कात्तिक, काठमाडौं । नेपालका लागि इजरायली राजदूत हनान गोडेरले प्यालेस्टिनी चरमपन्थी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी जारी रहेको बताएका छन् । जोशी सहितका अवोध नागरिकहरुलाई हमासले नियन्त्रणमा लिएको भन्दै उनले उनीहरुलाई मुक्त गर्न आह्वान गरे ।

‘हमासको कब्जामा परेका जोशी कहाँ छन् थाहा छैन । हामीले जोशीको खोजी जारी राखेका छौं,’ राजदूत गोडेरले आज काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘उनी कुनै पनि टक्कर (कोलिसन) सँग आवद्ध नरहेको स्पष्ट पार्दै अन्तर्राष्ट्रिय स्तरमा समुदायलाई खोज्न आग्रह गरिरहेका छौं र आतंककारीलाई पनि उनी लगायत कब्जामा रहेका अबोध नागरिकलाई छोड्न आग्रह गरेका छौं ।’

गत असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विपिन जोशी सम्पर्कविहीन छन् । मृतक १० मध्ये आज चार शव नेपाल ल्याइएको छ । आक्रमणको क्रममा मुश्किलले बाँच्न सफल भएका घाइते धनबहादुर चौधरीलाई पनि आजै काठमाडौं ल्याइएको छ ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याइएका नेपाली विद्यार्थीहरुको शवमा श्रद्धाञ्जली अर्पण गरेपछि पत्रकारहरुको जिज्ञासामा राजदूत गोडेरले अर्को एउटा शव दुई दिनपछि नेपाल आइपुग्ने जानकारी दिए ।

उनले भने, ‘इजरायलमा एक हजार ४०० शवहरु छन् । हामी शवको पहिचान गर्ने प्रक्रियामा छौं । सबै नेपालीको शव पहिचान भइसकेको छैन । आज चार जनाको शव आएको छ । अर्को एउटा शव दुई दिनपछि आउनेछ । थप पाँच जनाको शव पहिचान गर्ने काम जारी छ ।’

हमासले इजरायलमा भयानक आतंक सिर्जना गरिरहेको बताउँदै उनले बालबालिका र नेपाली विद्यार्थीहरुलाई पनि निशाना बनाएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले आफूहरुले नेपालीलाई परेको यो संकटको घडीमा आफ्नै परिवारको सदस्यहरु जस्तै ठानेर काम गरिरहेको जानकारी उनले गराए । ‘तपाईंसँग हामी छौं तपाईं हाम्रो परिवार हो र सधैं रहनुहुनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?